
देशकै प्रमुख पर्यटकीय शहर, पोखरा । जहाँ दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटक पुग्छन् । पोखराका नाममा कयौं गीत, कथा, कविताहरू लेखिएका छन् । जसले पोखराको सुन्दरता वर्णन मात्र गर्दैनन्, पोखरा नपुगेकाहरूलाई पुगूँ पुगूँ लाग्ने बनाउँछन् ।
तर, यही सुन्दर पर्यटकीय नगरी पोखरामा पछिल्लो समय फोहोर व्यवस्थापनको विषय भने निकै पेचिलो बन्दै गएको छ । कहिलेकाहीँ हप्ता/दश दिनसम्म नउठ्ने फोहोरले पर्यटकीय शहर पोखरालाई दुर्गन्धित त बनाउँछ नै पोखरा महानगरलाई समेत फोहोर व्यवस्थापनको विषय टाउको दुखाइ बनिरहेकै छ ।
महानगर प्रमुख धनराज आचार्यले कार्यभार सम्हालेलगत्तै प्राथमिकतामा राखेको विषयमध्ये एक थियो, पोखराको फोहोर व्यवस्थापन । पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनका लागि त्यस नजिकै रहेको पुरानो ल्यान्डफिल्ड साइट सार्नै पर्ने थियो । त्यसका लागि प्रमुख आचार्यले अस्थायी ल्यान्डफिल्ड साइट खोजे, पोखरा-३२ को लामेआहाल ।
स्थानीयसँग महानगरले शुरूमा ६ महिनासम्मका लागि मात्र फोहोर फाल्ने भनेर सम्झौता गर्यो । २०७९ पुसमा ६ महिनाका लागि भनेर गरिएको सम्झौता अवधिले दुई वर्ष नाघिसक्यो । तर, महानगरले फोहोर व्यवस्थापनको स्थायी स्थान तय गर्न सकेको छैन । ६/६ महिनाको सम्झौता म्याद सकिएपछि स्थानीयले लामेआहालमा फोहोर फाल्नका लागि रोक लगाउँछन् । त्यससमय पोखराको सडक फोहोरको डंगुरले गनाउँछ । स्थानीय र महानगरबीच छलफल हुन्छ । पुनः म्याद थपिन्छ । यो क्रम दुई वर्षदेखि चल्दै आएको छ ।
कतिसम्म भने अव्यवस्थित फोहोर व्यवस्थापनका कारण विद्यालय नै सर्नुपर्ने स्थिति आयो । ल्यान्डफिल्ड छेउमा रहेको राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय फोहोरको दुर्गन्धका कारण गत असारदेखि अन्यत्र सरेको छ । विद्यालय भवनको केही माथि रहेको निर्माणाधीन भवनमा कक्षा सञ्चालन गर्दै आएको प्रधानाध्यापक प्रकाश रेग्मी बताउँछन् । कक्षा ६ देखि १० सम्म पढाइ हुने विद्यालयमा ३० विद्यार्थी छन् । महानगरकै सहयोगमा मन्दिर मातहत रहेको निर्माणाधीन भवनमा झ्याल ढोका बनिसकेका छैनन् । अव्यवस्थित रूपमा विद्यालयले पढाइ सञ्चालन गरिरहेको छ ।
‘अहिले ढलान मात्र भएको छ । पूरै कोठाहरू पनि छैनन् । झ्याल ढोका केहीपनि राखेको छैन । यसो काम चलाउनका लागि दु:ख कष्टले चलाइरहेका छौं’, प्रधानाध्यापक रेग्मीले भने ‘अब गर्मीको समय शुरू हुन लाग्यो फेरि गनाउन शुरू भएको छ ।’
विद्यालय हिँड्ने समयमा द्रुत गतिमा आउने फोहोरको गाडीले पनि समस्या भएको उनले बताए । विद्यालयसँगै जोडिएको जग्गा भएकाले विद्यार्थी हिँड्ने बाटोबाटनै फोहोरको गाडी आउने गरेको छ ।
‘पहिला फोहोर ल्याउनका लागि अर्को बाटोको प्रयोग गरिएको थियो । अहिले जुन बाटोबाट विद्यालय जान्छौँ त्यहीँ बाटोबाट नै गाडी आउने भएर समस्या भइरहेको छ । सानोसानो बाबुहरू छन् । महानगरको फोहोरको गाडी एकदम द्रुत गतिमा आउँदा जोखिम बढेको छ’, उनले भने, ‘हामीहरूले विद्यालय समयमा नल्याइदिनू भनेर वडा र पालिकालाई भनेका थियौं । त्यसको सुनुवाइ नै भएन ।’
यता, ३२ नम्बर वडाका अध्यक्ष अक्कलबहादुर कार्कीले हाललाई विद्यालयमा पहिलेजस्तो दुर्गन्धको समस्या नरहेको सुनाउँछन् । यद्यपि, महानगरले भने बमोजिम फोहोर पुरिदिने हो भने गर्मीको समयमा दुर्गन्धले नसताउने उनको भनाइ छ ।
‘भने जसरी पुरिदिएको भए त्यो दुर्गन्ध आउने खालको होइन । मन्दिरको भवन छात्रावास हो । विद्यालय तल छ । दुई महिना जति माथि सार्नु भएको हो । अहिले समस्या छैन । गर्मीमा अलिकति दुर्गन्ध निस्किन्छ’, वडाध्यक्ष कार्कीले भने ।
महानगरले पोखराको फोहोर व्यवस्थापनका लागि वडा नम्बर ३३ मा प्रशोधन केन्द्र बनाउने योजना अघि सारेको छ । जुन शुरूआतदेखि नै विवादमा आयो । स्थानीयको अवरोध र महानगरकै कारण प्रशोधन केन्द्रको विषय चर्चामा आइरहन्छ । प्रमुख धनराजकै गृहवडा समेत रहेको ३३ नम्बर वडामा प्रशोधन केन्द्र बनाउने भनेपछि जग्गाको लागि चलखेल भयो । प्रशोधन केन्द्रका विषयमा महानगरको टोली अध्ययन भ्रमणका लागि भारत समेत पुग्यो । तर, उक्त काम अझैसम्म शुरूआत हुन सकेको छैन ।
महानगर प्रवक्ता मोतिलाल तिम्लिसिना फोहोर व्यवस्थापनको विषय प्रक्रियामा रहेको सुनाउँछन् । ‘दीर्घकालीन रूपमा अगाडि बढिरहेको छ । प्रक्रियामा छ । पार्टी छनोट भइसकेको छ । उसको जग्गा प्राप्ति अगाडि बढेको छ’, प्रवक्ता तिमिल्सिनाले भने ।
अस्थायी ल्यान्डफिल्ड साइट व्यवस्थापनका लागि स्थानीयसँग गरेका सम्झौताको विषय पनि प्रक्रियामा गइरहेको उनको भनाइ छ । गत हप्ता मात्र फोहोर व्यवस्थापन गर्ने म्याद सकिएपछि सडकमै फोहोर थुप्रिएको थियो । बुधबार, ३० माघमा मात्र महानगरले स्थानीयसँग छलफल गरेर हप्ता दिनका लागि समस्या सुल्झाएको छ ।
महानगरले भ्रमण वर्ष पोखरा घोषणा गर्ने तयारीमा छ । यही समस्या देखाउँदै ३२ नम्बर वडासँग महानगरले छलफल गरेको थियो । फोहोर व्यवस्थापनमा अवरोध गरेका स्थानीयले पनि फागुन १५ गतेसम्मको म्याद दिएका छन् । सम्झौता अनुरूप महानगरले काम गरे अवरोध नगर्ने उनीहरूको भनाइ छ ।
‘कार्यपालिकाले निर्णय गरेर स्थानीयसँग गरेका सम्झौता पूरा गर्नुपर्यो । नत्र १६ गतेबाट रोकिन्छ भनेर स्थानीयले भनेपछि त्यही अनुसार सम्झौता भएको छ’, वडाध्यक्ष कार्कीले भने ।
महामारीको समयमा कोरोनाबाट ज्यान गुमाएको शव व्यवस्थापन लामेआहालमा नै भएको थियो । त्यस समय पनि स्थानीयले अवरोध गरेका थिए । महानगरको सम्पूर्ण फोहोरको जिम्मा ३२ नम्बर वडाको मात्र नरहेको उनीहरूको भनाइ छ । महानगरको फोहोर व्यवस्थापनको जिम्मेवारी आफ्नो वडाको मात्र नरहेको वडाध्यक्ष कार्कीको पनि भनाइ छ ।