
सहकारीको रकम अपचलन मुद्दामा ४ वटा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यतिखेर काठमाडौंको बूढानीलकण्ठ (हात्तीगौंडा) स्थित निवासमै छन् ।
रवि ४ वटा जिल्लामा गरी कुल २ करोड ७९ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । ४ जिल्लामध्ये रविले मंगलबार काठमाडौं जिल्ला अदालतमा तारिख बुझे । उनले यसअघि पोखरामा पनि एउटा तारिख बुझिसकेका छन् ।
रविविरुद्ध पर्सामा समेत सानो पाइला सहकारीको रकम अपचलनमा अनुसन्धान चलिरहेको छ । उनले सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिइसकेका छन् । तर, मुद्दा दायर भएको छैन ।
निवासमा सामान्य भेटघाट र आराम गरेर बसिरहेका रवि पर्साको मुद्दा छिटो अगाडि बढोस् भन्नेमा रहेको उनको सचिवालयले जनाएको छ । रविका प्रेस संयोजक प्रमोद न्यौपानेका अनुसार रवि पार्टीका कुनै पनि गतिविधिमा प्रत्यक्ष संलग्न छैनन् । तर, पार्टीका नेताहरूसँग नियमित संवादमा छन् ।
‘बूढानीलकण्ठस्थ्ति घरमै बस्नुहुन्छ । अदालतमा जाने नियमित प्रक्रिया छँदैछन् । मंगलबार पनि काठमाडौं जिल्ला अदालत जानुभयो । पर्साको मुद्दा पनि छिटो अगाडि बढोस् भन्नेमा हुनुहुन्छ,’ न्यौपानेले भने, ‘पार्टीभित्रैका नेता र बाहिरका शुभेच्छुकसँग घरमा भेटघाट गर्दै आउनुभएको छ ।’
उनले रवि पार्टी कार्यालय भने नगएको बताए । ‘कात्तिक २ गते पार्टी कार्यालयबाट पक्राउ गरेर लगेपछि उहाँ पार्टी कार्यालय जानुभएको छैन । तर, नेताहरूसँग सम्पर्कमा भने हुनुहुन्छ,’ न्यौपानेले भने, ‘आवश्यक पर्दा समन्वय र सम्पर्क गर्नुभएको छ । पार्टी काममा प्रत्यक्ष सहभागिता जनाउनुभएको छैन ।’
कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा. स्वर्णिम वाग्ले, कार्यबाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीसहितका नेताहरू रविलाई भेट्न पुगिरहन्छन् । देखिने गरी पदमा नभए पनि पार्टीले लिने पोजिसनमा रविले नै धारणा बनाउँदै आएको नेताहरू बताउँछन् ।
विभिन्न सहकारीको रकम गोरखा मिडियामा ल्याएपछि अपचलनमा संलग्न रहेको भन्दै संसदीय छानबिन विशेष समितिले रविमाथि कारबाही गर्न सिफारिस गरेको थियो ।
त्यसपछि सबैभन्दा पहिले सूर्यदर्शन सहकारी ठगीमा कास्की प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको थियो । रवि कात्तिक २ गते वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए ।
रविमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि काठमाडौं, रुपन्देही र चितवनमा पनि अनुसन्धान भएर मुद्दा चल्यो । यी चारै जिल्लामा थुनछेक बहसपछि रवि धरौटीमा छुटेका हुन् ।
पार्टीका गतिविधिमा नेतामार्फत समन्वय गरे पनि रविले यही हुनुपर्छ भनेर दबाब नदिएको दाबी न्यौपानेले गरे । ‘आवश्यकताअनुसार पार्टीका पदाधिकारीहरूले समन्वय गर्नुभएको छ । तर, पार्टीमा कार्यवाहक तोकेपछि आफैं अग्रसर हुनुभएको छैन । यसबीचमा पार्टीको सचिवालय र संसदीय दलको बैठक बसे पनि उहाँले सहभागिता जनाउनुभएको छैन,’ न्यौपानेले भने ।
रवि मुद्दाको किनारा नलागेसम्म पार्टीको प्रत्यक्ष गतिविधिमा देखिने मानसिकतामा नरहेको उनले बताए । ‘उहाँलाई पार्टी गतिविधिमा रोकतोक हुँदैन । तर, मुद्दाको एउटा किनारा नलागेसम्म उहाँले पार्टीको गतिविधिमा प्रत्यक्ष संलग्नता देखाउने मनसाय बनाउनुभएको छैन,’ न्यौपानेले भने, ‘पर्साको मुद्दा बाँकी छ । त्यहाँबाट के हुन्छ, थप परामर्श र छलफल हुनेछ ।’
काठमाडौंबाट कात्तिक २ गते पोखरा पुर्याइएपछि म्याद थप्दै रविमाथि पुस ७ गते मुद्दा दायर भएको थियो । रवि सबैभन्दा पहिले कास्कीको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतबाट ६५ लाख धरौटीमा रिहा भएका थिए । पक्राउ परेको ८४ दिनपछि रवि पुस २५ गते कास्कीबाट थुनामुक्त भएका थिए ।

त्यसपछि फरक–फरक सहकारीको रकम अपचलन मुद्दामा काठमाडौंबाट माघ २ गते, रुपन्देहीबाट माघ १३ गते र चितवनबाट माघ २४ गते उनी धरौटीमा रिहा भएका थिए ।
रवि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा काठमाडौं जिल्ला अदालतमा ६० लाख, सुप्रिम सहकारीको रकम अपचलनमा रुपन्देही जिल्ला अदालतमा १ करोड र सहारा सहकारीको रकम अपचलनमा चितवन जिल्ला अदालतमा ५४ लाख धरौटी बुझाएर रिहा भएका थिए ।
कास्कीमा पहलोपटक मुद्दा दर्ता भएपछि लामिछानेले पार्टी कार्यवाहक सभापतिको जिम्मा उपसभापति डोलप्रसाद अर्याललाई दिएका थिए । गत पुस ७ गते मुद्दा दर्ता भएकै दिन रविलाई संसद् सचिवालयले सांसदबाट निलम्बन गरेको थियो । पार्टीले रविमाथि प्रतिशोध साँधेर सांसद पद निलम्बन गरेको दाबी गर्न छोडेको छैन ।
सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएपछि रविलाई संसद् सचिवालयले सांसदबाट निलम्बन गरेको थियो । पुस ७ गते कास्कीमा मुद्दा दायर भएपछि संसद् सचिवालयले रविको सांसद पद निलम्बन गरेको थियो । सांसद पद निलम्बनको पत्र आउनु केहीबेर अघिमात्रै सोही दिन रास्वपाले पार्टीको कार्यवाहक सभापति अर्याललाई बनाएको थियो । रास्वपाको तर्फबाट संसद्को जिम्मा विराजभक्त श्रेष्ठले पाएको छन् ।
यी चारवटै जिल्ला अदालतले गैरकानूनी रूपमा सहकारीहरूको रकम गोर्खा मिडियामा आएको र अपचलनमा संलग्न रहेको भन्दै रविसँग धरौटी माग गरेको थियो । चारवटै जिल्ला अदालतको आदेशमा ‘रविलाई कसूरदार छैनन् भन्न सक्ने अवस्था नदेखिएको’ उल्लेख छ । तर, रास्वपाले राजनीतिक प्रतिशोध साँधेर मुद्दा चलाएको भन्दै प्रतिवाद गर्दै आएको छ ।
संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीको ६५ करोड ५४ लाख रकम हिनामिनामा संलग्न रहेको भन्दै रविमाथि कारबाही सिफारिस गरेको थियो । यसपछि ५ वटा जिल्लामा अनुसन्धानपछि मुद्दाको प्रक्रिया अगाडि बढेको छ ।
चारवटै जिल्ला अदालतले धरौटीमा रिहा गरे पनि रविले बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने भएका हुन् । अर्थात्, रवि थुनामुक्त हुँदा कसुरबाट सफाइ पाएका होइनन् । उनले बाहिर बसेर मुद्दा लड्न मात्रै पाएका हुन् । यसै क्रममा रवि मंगलबार काठमाडौं जिल्ला अदालतमा तारिखमा गएका थिए ।
मन्दिर गइरहन्छन् रवि
पछिल्लोपटक माघ २४ गते चितवनबाट पनि धरौटीमा रिहा भएपछि रवि घरमै छन् । तर, नियमित भेटघाट, अध्ययन र आरामबाहेक उनी श्रीमती निकिता पौडेलसहित मन्दिर पनि नियमित धाइरहेका छन् ।
‘सक्रिय राजनीति नभएपछि घरमै भेटघाट र आराम हो । तर, उहाँ काठमाडौं आसपासकै मन्दिरमा नियमित गइरहनुभएको छ,’ न्यौपानेले भने, ‘मंगलबार काठमाडौं जिल्ला अदालत पुग्नुअगाडि पनि उहाँ मन्दिर जानुभएको थियो ।’
केही दिनअगाडि पनि रवि पत्नीसहित काठमाडौंको कालभैरव मन्दिर दर्शनका लागि पुगेका थिए ।
सहकारी प्रकरणमा छानबिनका लागि समातिएकै दिन रविले ‘सरकार मर्यो, हामीलाई जुठो पर्यो’ भनेर सामाजिक सञ्जालमा लामो स्टाटस लेखेका थिए । त्यसयता उनले सञ्जालमा कुनै पोस्ट गरेका छैनन् ।
किताब लेख्ने सोच
रविले हिरासतमा बस्दादेखि नै किताब लेख्ने सोच बनाएको उनको सचिवालयले जनाएको छ । यसका लागि रविले हिरासतमा बस्दाका मुख्य घटनाक्रमलाई नोट गरेका थिए ।
‘प्रहरी हिरासतमा बस्दा मुख्य घटनाक्रमलाई नोट गर्नुभएको थियो । अहिले नै किताब लेख्ने तयारी उहाँको छैन,’ न्यौपानेले भने, ‘तर किताब लेख्ने सोच भने छ ।’