
युक्रेन र रुसबीच शान्ति वार्ताका लागि विभिन्न अन्तर्राष्ट्रिय पहल भइरहेका बेला युद्ध थप जटिल मोडमा प्रवेश गरेको छ ।
युद्धविरामका लागि कूटनीतिक प्रयास तीव्र भए तापनि आक्रमण र प्रत्याक्रमण भने रोकिएको छैन ।
युक्रेनले रुसी ऊर्जा पूर्वाधारमा हमला गरिरहेको छ भने रुसले युक्रेनी शहरहरूमा भीषण हवाई आक्रमण गरिरहेको छ ।
युक्रेनी सेनाले मंगलबार रातभर रुसको समारा र रोस्तोभ क्षेत्रमा रहेका तेल प्रशोधन केन्द्र तथा ग्यास पाइपलाइनलाई निशाना बनायो ।
आक्रमणपछि समारामा भीषण आगलागी भएको र रोस्तोभस्थित ग्यास प्रसारण केन्द्रनजिक शक्तिशाली विस्फोट भएको त्यहाँका स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
ऊर्जा पूर्वाधारमा केन्द्रित आक्रमणका कारण रुसको तेल उत्पादन तथा आपूर्तिमा असर परेको छ ।
रुसको प्रत्याक्रमण
रुसी सेनाले मंगलबार युक्रेनको ओडेसा क्षेत्रमा गरेको ड्रोन आक्रमणमा एकजनाको मृत्यु भएको छ भने शहरमा विद्युत् र पानी आपूर्तिमा अवरोध पुगेको छ ।
ओडेसाका गभर्नर ओलेह किपरका अनुसार रुसी ड्रोन आक्रमणका कारण त्यहाँको महत्त्वपूर्ण पूर्वाधारमा क्षति पुगेको छ ।
युक्रेनी वायु सेनाले भने रुसी ड्रोन आक्रमणलाई आंशिकरूपमा निस्तेज गरेको दाबी गरेको छ । मंगलबार राति रुसले १८१ ड्रोन र ४ मिसाइल प्रहार गरेको थियो । जसमध्ये ११५ ड्रोन युक्रेनी सेनाले खसालेको र अन्य ५५ ड्रोन लक्ष्यमा पुग्नबाट रोकिएको दाबी युक्रेनी सेनाले गरेको छ ।
विश्लेषकहरूले पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच भएको तिक्ततापूर्ण छलफलपछि रुस थप आक्रामक भएको अनुमान गरेका छन् ।
फ्रान्सको ड्रोनलाई पिछा गर्दै रुसी लडाकु विमान
रुसले युक्रेनविरुद्ध मात्र सैन्य आक्रमण गरेको छैन, बरु अरू युरोपेली देशलाई पनि बारम्बार जिस्क्याउने गरेको छ ।
रुसको यस्तो सैन्य व्यवहारका कारण युरोपेली देशहरू थप आक्रोशित बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
फ्रान्सका रक्षामन्त्री सेबास्टियन लेकोर्नुले भूमध्य सागरमा उडिरहेको आफ्नो ड्रोनलाई रुसी लडाकु विमान एसयू-३५ ले पिछा गरेको भन्दै त्यसको आलोचना गरेका छन् ।
'हाम्रो ड्रोननजिक ३ पटकसम्म रुसी लडाकू विमान आउने र पिछा गर्ने काम गरेको छ, यो रुसले जानाजान गराएको घटना हो, यो निन्दनीय र अस्वीकार्य छ,' फ्रान्सेली समाचार एजेन्सीहरूसँग कुरा गर्दै सेबास्टियनले भनेका छन् ।
युद्धविराम र शान्तिको खोजीमा अन्तर्राष्ट्रिय प्रयास
युक्रेन युद्धको शान्तिपूर्ण समाधान खोज्न विभिन्न मुलुक सक्रिय भएका छन् । बेलायती प्रधानमन्त्री कीयर स्टार्मरले लन्डनमा आयोजित सुरक्षा सम्मेलनमा विशेष गठबन्धन बनाउने अवधारणा अघि सारे ।
उनले यो गठबन्धनमा सहभागी हुन इच्छुक देशलाई कुनै रोकतोक नगरिने पनि खुलासा गरे । 'यो विशेष गठबन्धनको उद्देश्य युक्रेनलाई सुरक्षा प्रत्याभूति प्रदान गर्नुका साथै युद्धविराम गराउनुहुनेछ,' प्रधानमन्त्री स्टार्मरले भने ।
त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायती प्रधानमन्त्री स्टार्मरबीच रुस-युक्रेन युद्धको शान्ति प्रक्रिया अघि बढाउने विषयमा छलफल भएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
ट्रम्पले अमेरिकी कंग्रेसमा गरेको सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबाट पत्र प्राप्त गरेको बताएका थिए ।
पत्रमा शान्ति वार्तामा जेलेन्स्की थप लचक रहेको र यसअघि हुन नसकेको दुर्लभ खनिज सम्झौता गर्न पुनः इच्छुक रहेको विषय उल्लेख भएको ट्रम्पले कंग्रेसलाई जानकारी गराएका छन् ।
त्यस्तै, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले पनि अमेरिका-युक्रेन सम्बन्ध सुधार्न पहल गरिरहेका छन् । उनले एक महिनाको आंशिक युद्धबिराम र शान्ति वार्ताको प्रस्ताव अघि सारेका छन् ।
गुमेको भूमि फिर्ता हुनुपर्ने युक्रेनको अडान कायमै
युक्रेनका प्रधानमन्त्री डेनिस श्मिहालले युक्रेनले आफ्नो क्षेत्रीय अखण्डताको विषयमा कुनै सम्झौता गर्न नसक्ने स्पष्ट पारेका छन् ।
उनले शान्ति वार्ता आवश्यक रहेको तर युक्रेनको भूभाग गुमाउने विषय वार्ताको हिस्सा हुन नसक्ने प्रस्ट पारेका छन् ।
राजनीतिक विश्लेषक भिक्टर श्लिन्चकले युक्रेनसँग अहिले केही सुरक्षा 'मार्जिन' रहेको तर अमेरिकी सैन्य सहायता रोकिने हो भने स्थिति झनै जटिल बन्न सक्ने चेतावनी दिएका छन् ।
'अमेरिकी सहयोग रोकिएमा युक्रेनी सेनाको प्रतिरक्षा क्षमतामा ठूलो असर पर्नेछ, यसले युक्रेन मात्र होइन, युरोपको सुरक्षा पनि कमजोर बन्नेछ,' श्लिन्चकको भनाइ छ ।
हंगेरीको फरक धारणा
हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युरोप र अमेरिकाबीच देखिएको तनावले पछिसम्म नराम्रो गर्ने भन्दै शान्तिपूर्ण सह-अस्तित्व हुनुपर्ने बताएका छन् ।
'अमेरिका र युरोपबीच ट्रान्सएट्लान्टिक भेदभाव देखिएको छ । हामी प्रस्ट रूपले युद्धविरामको पक्षमा छौं र यो युद्ध कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ । अमेरिका र युरोपबीच देखिएको विभेद अन्त्य हुनुपर्छ,' प्रधानमन्त्री भिक्टरको भनाइ छ ।
युद्धकै कारण विश्वको जीडीपी ३ प्रतिशतले घट्यो
युक्रेन युद्धका कारण विश्व अर्थतन्त्रमा पनि गम्भीर असर परेको विभिन्न अध्ययन प्रतिवेदनहरूले देखाएका छन् ।
अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफ) का अनुसार ३ वर्षअघि शुरू भएको यस युद्धले विश्वव्यापी कूल गार्हस्थ उत्पादन(जीडीपी) करिब ३ प्रतिशतले घटाएको छ ।
युरोपेली देशले रुसी तेल र ग्यासमाथिको निर्भरता घटाउन थालेका छन्, जसका कारण ऊर्जा बजारमा अस्थिरता देखिएको छ ।
युक्रेन र रुस दुवै खनिज पदार्थ तथा कृषि उत्पादनका लागि महत्वपूर्ण मानिन्छन्, जसका कारण गहुँ, पेट्रोलियम र अल्युमिनियमको उत्पादन तथा निर्यातमा गिरावट आएको छ ।
जेलेन्स्की-ट्रम्प सम्बन्ध सुधारको संकेत
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकी समकक्षी ट्रम्पसँगको अघिल्लो मतभेदलाई 'दुर्भाग्यपूर्ण' भन्दै सम्बन्ध सुधार गर्न चाहेको बताएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेख्दै ट्रम्पको 'सशक्त नेतृत्व'अन्तर्गत युक्रेनलाई सुरक्षित र दीर्घकालीन शान्ति स्थापना गर्न सघाउन तयार रहेको बताएका छन् ।
युक्रेन र रुसबीचको सैन्य झडप अझै जारी छ, तर शान्ति वार्ताका लागि अन्तर्राष्ट्रिय दबाब पनि बढ्दै गएको छ ।
रुसले आफ्नो सैन्य गतिविधि नरोक्ने संकेत दिएको छ भने युक्रेनले पनि प्रतिरक्षात्मक कारबाहीलाई निरन्तरता दिइरहेको छ ।
युद्धविरामका लागि बेलायत, फ्रान्स र अन्य युरोपेली देशहरू सक्रिय भए पनि ठोस सम्झौताका संकेत अझै देखिएका छैनन् ।