३२ असार २०८३, बिहीबार
वनसम्बन्धी मुद्दा

अख्तियारपछि वनको एक्सन– गोदावारीमा अवैध दोहन गर्ने ३ व्यवसायीविरुद्ध साढे ६ करोडको मुद्दा

चैत १, २०८१
काठमाडौं
अख्तियारपछि वनको एक्सन– गोदावारीमा अवैध दोहन गर्ने ३ व्यवसायीविरुद्ध साढे ६ करोडको मुद्दा

वन क्षेत्रमा अवैधरूपमा ढुंगा खानी सञ्चालन गरी अवैध उत्खनन्, ओसारपसार, निकासी र बिक्री वितरण गरेको भन्दै डिभिजन वन कार्यालय ललितपुरले ३ जना व्यवसायीविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

ललितपुरको गोदावरी नगरपालिकामा स्वीकृत उत्खनन् क्षेत्रबाहिर ढुंगा उत्खनन् गरेको भन्दै वीरेन्द्र महर्जन ढुंगा उद्योग प्रालिका सञ्चालक वीरेन्द्र महर्जन, निराकार रोडा ढुंगा उद्योग प्रालिका सञ्चालक मधुसूदन डोटेल र मछिन्द्रनाथ मल्टीप्रपोज प्रालिका सञ्चालक केदारनाथ तिमल्सिनाविरुद्ध मुद्दा दायर गरिएको हो ।

वीरेन्द्र महर्जन ललितपुर महानगरपालिका वडा नम्बर ५ कुमारीपाटीका स्थायी बासिन्दा हुन् भने उनको उद्योग गोदावरी नगरपालिका वडा नम्बर ६ मा सञ्चालित छ । महर्जनविरुद्ध ३ करोड २५ लाख ९९ हजार १४० रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम थप सजायको समेत माग गरिएको छ ।

त्यसैगरी, अर्का प्रतिवादी मधुसूदन डोटेल ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ६ (साविक लेले)का स्थायी बासिन्दा हुन् भने उनको उद्योग गोदावरी नगरपालिका वडा नम्बर ६ मा सञ्चालित छ । उनीविरुद्ध २ करोड ९५ लाख ८८ हजार ६७७ रुपैयाँ बिगो कायम गरिएको छ ।

त्यसैगरी, अर्का प्रतिवादी केदारनाथ तिमल्सिना ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ७ को साविक छम्पी गाविसका स्थायी बासिन्दा हुन् । उनको उद्योग गोदावरी नगरपालिका वडा नम्बर ७ मा सञ्चालित छ । उनीविरुद्ध ३५ लाख २४ हजार २५१ रुपैयाँ बिगो कायम गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यसअघि गोदावरी नगरपालिकाका नगर प्रमुख, उपप्रमुखसहित क्रसर उद्योगका सञ्चालकहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । राजश्व हिनामिना गरी भ्रष्टाचार गरेको उक्त मुद्दामा विशेष अदालतले सफाइ दिइसकेको छ ।

null

सोही मुद्दाको रोहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जाहेरी र खानी जाँचबुझ समितिको प्रतिवेदनले नेपाल सरकार वादी रहेको वन मुद्दा अहिले ललितपुर जिल्ला अदालतमा दायर भएको हो । अख्तियारको जाहेरीपछि स्थलगत नापजाँच गरी निजी खानी क्षेत्र यकिनका लागि २०८१ भदौ ११ गते नापी कार्यालय ललितपुरले सर्वेक्षक दुर्गाप्रसाद उपाध्यायलाई खटाएको थियो ।

त्यसैगरी, खानी तथा भू-गर्भ विभाग लैनचौरबाट २०८१ भदौ २५ गते माइनिङ इन्जिनियर तेजेन्द्रकुमार यादवलाई खटाइएको थियो ।

त्यसैगरी, डिभिजन वन कार्यालयका वन अधिकृत सुमन घिमिरे र बज्रबाराही सब–डिभिजन वन कार्यालयका अधिकृत रामशरण महर्जनलाई फिल्ड नापजाँच तथा विवरण संकलनका लागि खटाइएको थियो । ती तीनै जनालाई राखेर खानी क्षेत्रको स्थलगत जाँचबुझ गर्न खानी जाँचबुझ समिति गठन गरिएको थियो ।

उक्त समितिले वीरेन्द्र महर्जनको खानी क्षेत्रमा जाँचबुझ गर्दा स्वीकृत खानी क्षेत्रबाहिर उत्खनन् कार्य भएको र फिल्ड चेकजाँचका बेला ४ वटा स्काभेटर र ५ वटा टिप्पर रहेको पाइएको थियो ।

महर्जन सञ्चालक रहेको ढुंगा उद्योग प्रालिले स्वीकृत उत्खनन् क्षेत्रबाहिर वन (कित्ता नम्बर नभएको) क्षेत्रमा २.७९ हेक्टर क्षेत्रफलमा वेस्टसहित जम्मा १३ लाख १४ हजार ३९७ घनमिटर उत्खनन् गरी जम्मा वेस्टबाहेक १३ लाख ३ हजार ९६५ घनमिटर उत्खनन् गरेको स्थलगत जाँचबुझबाट पाइएको थियो ।

त्यस कामका लागि डिभिजन वन कार्यालय ललितपुरकी वन अधिकृत धनमाया सुनुवारलाई अनुसन्धान अधिकृत तोकिएको थियो ।

null

अनुसन्धान अधिकृतले महर्जनसँग बयान लिँदा आफूले वन क्षेत्रमा उत्खनन् नगरेको तथा आफूभन्दा पहिले रोडाढुंगा उद्योगले सञ्चालन गरेको हुनाले त्यसबेला नै अवैध उत्खनन् भएको होला भनेर बयान दिएको देखिन्छ ।

महर्जनले पेश गरेका कागजातहरूबाट खानी तथा भूगर्भ विभाग लैनचौरबाट सहमति प्रदान गरेको देखिए पनि जिल्ला समन्वय समिति ललितपुरबाट भने उत्खनन् अनुमति नलिई माइनिङ स्कीमविपरीत सम्बन्धित नगरपालिकामा आर्थिक वर्ष २०७८ देखि व्यवसाय नवीकरण समेत नगरी सोही समयदेखि हालसम्म सञ्चालन गरिरहेको अनुसन्धानबाट पाइएको हो ।

प्रतिवादी महर्जनविरुद्ध राष्ट्रिय वन फाँड्ने वा वन क्षेत्रको जग्गा जोत्ने, खन्ने, खनिजजन्य उत्खनन् गर्ने, सडक तथा अन्य पूर्वाधार निर्माण गर्ने, घर वा छाप्रो बनाउने, व्यवसाय सञ्चालन गर्ने वा अतिक्रमण गर्ने काम गरेको भन्दै ५ वर्षसम्म कैद सजायको माग दाबी गरिएको छ । ५ लाख रुपैयाँभन्दा बढी बिगो कायम भएकाले दुई वर्षसम्म कैद वा बिगोको दोब्बर जरिवाना हुने गरी थप कैद सजाय तथा जरिवानाको माग गरिएको छ ।

त्यसैगरी, जाँचबुझ समितिले गरेको स्थलगत जाँचबुझबाट अर्का प्रतिवादी मधुसूदन डोटेल सञ्चालक रहेको निराकार रोडा ढुंगा उद्योग प्रालिले स्वीकृत उत्खनन् क्षेत्रभन्दा बाहिर वनको कित्ता नम्बर ९, ७ र कित्ता नम्बर नभएको वन क्षेत्रको ३.१४ हेक्टर क्षेत्रफलमा वेस्टसहित जम्मा १ लाख २६ हजार ४५० घनमिटर उत्खनन् गरेको अनुसन्धानबाट पाइएको छ ।

निराकार रोडाढुंगा उद्योग प्रालिको स्वीकृत खानी क्षेत्रमा उत्खनन् कार्य भएको र स्वीकृत उत्खनन् क्षेत्रबाहिर उत्तरतर्फ लीज क्षेत्र र केही भाग वीरेन्द्र महर्जनको खानी क्षेत्रमा उत्खनन् कार्य भएको व्यहोरासहितको प्रतिवेदन जाँचबुझ समितिले दिएको थियो । स्वीकृत क्षेत्रमा मात्र उत्खनन् गरेको भनेर मधुसूदन डोटेलले बयान गरे पनि अनुसन्धानबाट स्वीकृति पाइएको क्षेत्रभन्दा बाहिर उत्खनन् गरेको तथ्यसहित मुद्दा दायर गरिएको हो ।

त्यसैगरी, केदारनाथ तिमल्सिना सञ्चालक रहेको मछिन्द्रनाथ मल्टीप्रपोज प्रालिले पनि स्वीकृत उत्खनन् क्षेत्रबाहिर कित्ता नम्बर २९, ४, ११, ३० र कित्ता नम्बर नभएको अन्य वन क्षेत्रमा ६.५५ हेक्टर क्षेत्रफलमा वेस्टसहित कुल १ लाख ६० हजार १४२ घनमिटर (वेस्टबाहेक १ लाख ४० हजार ९७० घनमिटर) उत्खनन् गरेको भन्दै मुद्दा दायर गरिएको हो ।

जाँचबुझ समितिले स्थलगत जाँच गर्दा खानी क्षेत्रको फिल्डमा स्काभेटर देखिएको र स्वीकृत खानी क्षेत्रको उत्तरपट्टिको सिमानाबाट बागमती खोलासम्म उत्खनन् तथा वेस्ट फालेको तथा डम्प गरेको पाइएको भन्दै प्रतिवेदन दिएका थिए ।

हेर्नुहोस्, त्यहाँ भएको अवैध दोहनको भिडियो :

salt training

कमेन्ट गर्नुहोस्