
पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा मकैको बीउ उपलब्ध गराएको छ ।
नगरपालिकाभित्र रहेका १० वडाका किसानलाई अनुदान कार्यक्रममा समाहित गर्दै साढे सात टन बीउ वितरण गरिएको कृषि शाखाले जनाएको छ ।
रामपुर क्पोजित एक हजार एक सय ११ किलो, अरुण–२ जातको तीन हजार नौ सय २४ किलो र मनकामना–३ जातको दुई हजार चार सय ८८ किलो मकैको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए । किसानलाई ५० प्रतिशत अनुदानमा तीवटै जातको प्रतिकिलो ७६ रूपैयाँमा नगरपालिकामार्फत् उपलब्ध गराइएको उनी बताउँछन् ।
नगरपालिकाका किसान, कृषि समूह तथा कृषि सहकारी गरेर चार सय ३४ जनाको माग आवेदन परेको हुँदा सोही आधारमा वितरण हुने उनले बताए । उनका अनुसार नगरपालिकाले मकैको बीउका लागि गत माघ २९ देखि फागुन ११ गतेसम्म माग सूचना जारी गरेको थियो ।
सो सूचनाका आधारमा किसानले माग गरेबमोजिम बीउ ल्याएर उपलब्ध गराइएको छ । गत फागुन २८ देखि कार्यालय समयमा धमाधम वितरण कार्य भइरहेको छ । यही चैत ५ गतेसम्म सबै किसानसमक्ष बीउ वितरण गरेर सक्ने गरी शाखाले वितरण गरिरहेको जनाएको छ ।
रामपुर क्पोजिट एक सय १५ दिन, अरुण–२ जातको ९० दिन र मनकामना–३ जातको एक सय २० देखि एक सय २५ दिनभित्र पाक्ने कृषि प्राविधिक बताउँछन् । नगरपालिकाले कृषि उत्पादनलाई जोड दिँदै विभिन्न बालीका बीउबिजन सहुलियतमा वितरण गर्दै आइरहेको नगरप्रमुख रमणबहादुर थापा बताउँछन् ।