०५ साउन २०८३, मंगलबार
स्ववियु चुनावका रोचक नतिजा

कतै बागी र स्वतन्त्र, कतै क्रान्तिकारीको धावाले रोचक बनेको स्ववियु चुनाव

चैत ८, २०८१
काठमाडौं
कतै बागी र स्वतन्त्र, कतै क्रान्तिकारीको धावाले रोचक बनेको स्ववियु चुनाव

दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचनअन्तर्गत यसपटकको नतिजामा केही रोचक पक्ष देखिएका छन् । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा चैत ५ र केही ठाउँमा त्यसको एक–दुई दिनपछि भएको निर्वाचनमा रोचक परिणाम देखिएका हुन् । 

समग्रमा परम्परागत दल नेपाली कांग्रेस निकटको नेविसंघ, नेकपा एमाले निकटको अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकटको अखिल क्रान्तिकारीको वर्चस्व देखिने गरी नतिजा आएको छ । तर, केही क्याम्पसको नतिजा रोचक देखिन पुगेको छ । 

कहीँ संगठनको आधिकारिक उम्मेदवारभन्दा संगठनभित्रकै बागी विजयी भएका छन् । कतै नेविसंघ र अनेरास्ववियु मिलेको ठाउँमा पनि माओवादी निकटको क्रान्तिकारीले बाजी मारेको छ । कतै परम्परागत संगठनको बलियो पकड चिर्दै स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । 

६२ मध्ये ३९ वटा आंगिक क्याम्पसमा मात्रै निर्वाचन भएको छ, जसमा नेविसंघले १५ आंगिकसहित ११५ वटा क्याम्पसमा सभापति जितेको छ ।

अनेरास्ववियुले ११ आंगिकसहित ९८ क्याम्पस जितेको जनाएको छ । त्यस्तै, क्रान्तिकारीले १० आंगिकसहित ८४ वटा क्याम्पसमा सभापति जितेको छ । 

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचनको परिणामबाट सन्तुष्ट भए पनि उत्साही नभएको बताए । ‘हामीले २ सय क्याम्पस जित्ने आकलन गरेका थियौं । अझै केहीमा निर्वाचन हुन बाँकी नै छ,’ शेर्पाले भने, ‘नतिजा आएकोमा नेविसंघले ११४ जितेको छ, जसमा १५ वटा आंगिक क्याम्पस छन् । समग्रमा स्ववियु  चुनावलाई लिएर सन्तुष्ट छौं । तर, उत्साही छैनौं ।’ 

अनेरास्ववियुका अध्यक्ष समिक बडालले केही ठाउँ गुमाए पनि स्ववियु चुनावले सकारात्मक सन्देश दिएको बताए । ‘नतिजाको हिसाबले केही ठाउँ गुमे, केही थपिए, जसमा कतै नेविसंघ, कतै क्रान्तिकारीले जित्न पुगे । पहिले उनीहरूले जितेको ठाउँमा हामीले पनि जित्यौं,’ बडालले भने, ‘यो स्वाभाविक प्रक्रिया हो । तर, चुनाव नै हुँदैन जस्तो स्थितिबाट आज नतिजा कति आयो भन्नेसम्मको स्थितिमा आयौं । चुनाव हुँदा साथीहरूमा ऊर्जा थपिएको छ । नेतृत्व विकास र नयाँलाई अवसर आयो । यो नै निर्वाचन सफल भएको सन्देश हो ।’ 

नेविसंघ र अखिल संस्थागत रूपमा नमिलेको उनले बताए । 

‘हामी अहिलेसम्म १०१ जतिमा जित्दा ११ वटा आंगिक क्याम्पस छन् । तर, बाहिर हल्ला भएजस्तो हामी संस्थागत निर्णय गरेर नेविसंघसँग कतै मिलेका छैनौं । जिल्लातिर आफूखुशी साथीहरूले तालमेलको प्रयास गरे पनि कतै सफल भयो, कतै भएन,’ बडालले भने, ‘हामीविरुद्ध सानोठिमी र जनप्रशासनमा अरू मिलेका छन् । महाराजगञ्जको आईओएममा बराबरी हुनुपर्नेमा क्याम्पस प्रशासनले गलत नियत राखेर हामीलाई हराइदियो ।’ 

null

विवादका कारण काठमाडौंको आरआर, त्रिचन्द्र, नेपाल ल र अमृत साइन्स क्याम्पसमा स्ववियु चुनाव भएको छैन । त्यस्तै, पोखराको पीएन र रुपन्देहीको बुटवल बहुमुखीमा पनि चुनाव भएको छैन । 

अखिल क्रान्तिकारीका महासचिव रोशन थापा मगरले नयाँ टीमले सकारात्मक नतिजा दिलाएको जानकारी दिए । ‘क्रान्तिकारीमा हाम्रो नयाँ टीम आएको धेरै भएको छैन । हामीलाई राम्रो गर्छौं भन्ने थियो । तर, पुरानो टीमका साथीहरूले पत्याउनुभएको थिएन,’ मगरले लोकान्तरसँग भने, ‘१५/२० जना विद्यार्थी हुने सामुदायिक कलेजको जित एउटा पाटो हो । तर, हामीले १० वटा आंगिक क्याम्पस जितेर यसपटक हाम्रो प्रभाव देखाएका छौं । जुन नतिजाबाट हामी उत्साही छौं ।’

अघिल्लोपटक ठूला संगठनसँग तालमेल हुँदा क्रान्तिकारीले अस्कल, नेपाल ल र सानोठिमी जितेको थियो । यसपटक सरकारबाहिर हुँदा पनि धेरैवटा जित्दा क्रान्तिकारी उत्साही बनेको छ । ‘अघिल्लोपटक गठबन्धन हुँदा पनि तीनवटा कलेज जित्यौं, तर यसपटक सरकारमा नहुँदा सिंगल लडेर ६ वटा (गठबन्धन गरिएकाबाहेक) आंगिक जित्यौं,’ मगरले भने, ‘वर्षौंदेखि नेविसंघ र अनेरास्ववियुले जितेका क्याम्पस हामीले हात पारेका छौं, जुन उत्साहप्रद छ ।’ 

पद्मकन्यामा संस्थापनविरुद्ध बागी हावी

नेविसंघको बलियो पकड रहँदै आएको काठमाडौंको पद्मकन्या क्याम्पसको स्ववियु चुनावमा नेविसंघको आधिकारिक उम्मेदवारलाई बागीले पराजित गरेका छन् । बागी उम्मेदवारी दिएर स्ववियु सभापति जितेकी भूपि ऐर कांग्रेस महामन्त्री गगन थापानिकटकी हुन् । ऐरको प्यानल नै जित्दा संस्थापन निकटकी पूर्णिमाया परियारको प्यानल पराजित हुन पुग्यो । थापानिकटकी ऐर ७३० मत ल्याएर विजयी हुँदा सभापति शेरबहादुर देउवा समूहकी परियारले ३७९ मत ल्याइन् । ऐर २०७९ मा स्ववियु सचिव थिइन् । 

पुल्चोक इन्जिनियरिङमा स्वतन्त्र 

पुल्चोक इन्जिनीयरिङ क्याम्पसमा परम्परागत दलका संगठनलाई हराउँदै २१ वर्षीय स्वयं श्रेष्ठ (स्वतन्त्र) स्ववियु सभापति बनेका छन् । क्याम्पसमा प्रभाव भएका नेविसंघ, अनेरास्ववियु र क्रान्तिकारीलाई पछाडि पार्दै श्रेष्ठले बाजी मारेका हुन् । श्रेष्ठले ११०२ मत प्राप्त गरे । 

उनका प्रतिस्पर्धी क्रान्तिकारीका रसिक लम्सालले ७१०, अनेरास्ववियुका विराज अर्यालले ६३९ र नेविसंघका ऋषभ गिरीले ४८१ मत प्राप्त गरे । २०७९ को स्ववियु चुनावमा स्वतन्त्रबाटै सदस्य जितेका स्वयंले यसपटक सभापति आफ्नो पोल्टामा पारेका हुन् । सचिवमा अखिल क्रान्तिकारीका दिवस सापकोटा विजयी हुँदा कोषाध्यक्षमा नेविसंघमा अल्बर्ट ढकालले जिते । 

null

ठूला संगठनमाथि क्रान्तिकारीको धावा

स्ववियु निर्वाचनले माओवादीनिकटको क्रान्तिकारीको प्रभावशाली उपस्थिति देखाएको छ । अहिलेसम्म नतिजा आएकामध्ये क्रान्तिकारी तेस्रोमा छ । तर, तेस्रोमा पनि नेविसंघ र अनेरास्ववियुभन्दा धेरै पछाडि छैन । काठमाडौं उपत्यकाका चर्चित क्याम्पसमा पनि उसले जित हात पारेको छ । 

क्रान्तिकारीले सानोठिमी क्याम्पस, जनप्रशासन क्याम्पस, बानेश्वर क्याम्पस, काठमाडौं इन्जिनियरिङ क्याम्पस र जनकपुर इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापति जितेको छ । 

मोरङमा १० वटा क्याम्पसमध्ये क्रान्तिकारीले ५ वटा जितेको छ । जसमा महेन्द्र मोरङ र अरू दुई आंगिक क्याम्पस छन् । महेन्द्र मोरङको सभापतिमा क्रान्तिकारीका रोहित यादव सभापतिमा जितेका हुन् । नेविसंघले ३ र अनेरास्ववियुले २ वटा मात्रै जितेका छन् । नेविसंघले २० वर्षयता जित्दै आएको पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा यसपटक क्रान्तिकारीले जितेको छ । 

एमाले उपमहासचिवकै वडामा नेविसंघ र अनेरास्ववियुलाई क्रान्तिकारीको धक्का

नेविसंघसँग मिलेर लडे पनि अनेरास्ववियु गुल्मीको शृङ्गेश्वर क्याम्पसमा अनेरास्ववियु पराजित भएको छ । सत्तारुढ दुई दलका संगठन मिले पनि क्रान्तिकारीका विशाल थापा ६५ मत ल्याएर विजयी भएका हुन् । अनेरास्ववियुका नेत्रप्रसाद ज्ञवालीले ४१ मत ल्याए । क्याम्पस रहेको रुरुक्षेत्र गाउँपालिकाको वडा ४ एमाले उपमहासचिव प्रदीप ज्ञवालीको घर रहेको ठाउँ हो । 

salt training

कमेन्ट गर्नुहोस्