०५ साउन २०८३, मंगलबार
परराष्ट्रमन्त्रीको तेस्रो दिल्ली भ्रमण

‘सरकार परिवर्तन नगर्ने भारतको आशय’ भन्दै आरजुले दिएको अभिव्यक्तिको अन्तर्य

चैत १०, २०८१
काठमाडौं
‘सरकार परिवर्तन नगर्ने भारतको आशय’ भन्दै आरजुले दिएको अभिव्यक्तिको अन्तर्य

झण्डै २ साताको समय नयाँ दिल्लीसहित भारतका विभिन्न स्थानमा खर्चेर शुक्रबार स्वदेश फर्केकी परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले विमानस्थलमा एउटा हल्का अभिव्यक्ति दिइन्– भारत नेपालको सरकार परिवर्तनको पक्षमा छैन ।

उनले कुन सन्दर्भमा त्यसो भनिन्, उनैलाई थाहा होला, तर बाहिर त्यसको सन्देशचाहिँ भारत केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको पक्षमै छ भन्ने गयो । 

‘यहाँको पोलिटिकल गतिविधिका बारेमा हामीले खासै कुराकानीचाहिँ गरेनौँ । तर, उहाँहरूको सपोर्ट यो डेमोक्रेटिक सिस्टमलाई नै छ भन्ने हरेक गतिविधिबाट हामीले बुझ्न जरुरी छ । अहिलेको गभर्मेन्टसँग एकदमै इन्गेज्ड हुनुहुन्छ । यो गभर्मेन्ट र सिस्टम नै चेन्ज हुने भन्नेजस्तो उहाँहरूको आशय मैले देखिनँ,’ उनले शुक्रबार विमानस्थलमा पत्रकारहरूसँग भनिन् ।

नेपालका परराष्ट्र मन्त्रीहरूले गर्ने हल्का टिप्पणी र आलोकाँचो कुराले कूटनीतिकरूपमा असर परिरहेको हुन्छ । एक सार्वभौम देशको रूपमा नेपालमा बन्ने जुनसुकै सरकारलाई भारतले बधाई दिने र स्वागत गर्ने गरेको छ । त्यो सरकारले गर्ने कूटनीतिक व्यवहारका आधारमा भारतले नेपालका प्रधानमन्त्रीलाई औपचारिक/राजकीय भ्रमणको निम्तो दिने गरेको छ । 

केपी शर्मा ओली प्रधानमन्त्री बनेको ८ महिना बितिसक्दा समेत भारतको औपचारिक भ्रमणमा नगएका कारण सरकारप्रति भारतीय दृष्टिकोण के होला भन्ने आमनागरिकको चासो हुनु स्वाभाविक होला । विपक्षी दलका नेताहरूले टिप्पणी गर्नु स्वाभाविक हुनसक्ला । तर, परराष्ट्र मन्त्रीले भारत यही सरकारको पक्षमा छ भन्ने स्पष्टीकरण दिइराख्नु अलि अपरिपक्व र अस्वाभाविक जस्तो सुनियो । 

‘भारत यही सरकारको पक्षमा रहेको या नरहेको’भन्ने जस्ता कुराले नेपालको कूटनीतिक अक्षमता देखाउँछ । यस्ता हल्का अभिव्यक्तिले अविश्वास बढाउँछ । 

८ महिनामा परराष्ट्रमन्त्रीको तेस्रो भ्रमण

२०८१ असार ३१ मा नयाँ सरकार गठन भएपछि परराष्ट्र मन्त्रीको रूपमा आरजुको यो तेस्रो भ्रमण थियो । सरकार गठन भएलगत्तै भदौ २ गतेदेखि भएको पहिलो भ्रमणमा आरजुले दिल्लीमा अत्यन्तै न्यानो स्वागत पाएकी थिइन् । 

समकक्षी डा. एस जयशंकर मात्र नभई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न पाएकी थिइन् । आरजुलाई दिल्लीमा गरिएको स्वागतको काठमाडौंमा ठूलो चर्चा भएको थियो ।

प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘आरजुलाई प्रधानमन्त्री तहको ट्रिट दिइँदा एमाले सशंकित भएको’ टिप्पणी गरेका थिए ।

आरजुको पहिलो भ्रमण कांग्रेस–एमाले सरकार गठनपछिको परिस्थितिबारे ब्रिफिङमा केन्द्रित थियो । दिल्लीमा आरजुलाई गरिएको स्वागतको संकेतलाई कांग्रेस–एमाले गठबन्धन सरकारप्रति भारतको ग्रीन सिंग्नलको रूपमा काठमाडौंमा टिप्पणी भएको थियो । 

पढ्नुहोस्, यो पनि :

प्रचण्डले दाबी गरेजस्तो आरजुको भारत भ्रमणले झस्किएको हो एमाले ?

आरजुको भ्रमणलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण हुने अपेक्षा गरिएको थियो । तर, भारत भ्रमणको टुंगो नलाग्दै ओली चीन गए । 

चीन भ्रमणबाट फर्किने क्रममा ओलीले विमानस्थलबाट दक्षिणको भ्रमण पनि छिट्टै हुने बताएका थिए । तर, आजको मितिसम्म ओलीको भारत भ्रमणको तिथि तय भएको छैन । 

संयुक्त राष्ट्रसंघको महासभाका दौरान न्युयोर्कमा भारतीय प्रधानमन्त्री मोदीसँग ओलीको संक्षिप्त भेट भयो । साइडलाइन भेटवार्ताले आइसब्रेक त भयो, तर न्यायोपन दिन सकेन । त्यसपछिका दिनमा सत्तारूढ दलका नेताका अभिव्यक्ति र गतिविधिका कारण सम्बन्ध प्रगाढ बन्न सकेन । 

पुस ४ देखि ८ सम्म आरजुले दोस्रोपटक दिल्ली भ्रमण गरिन् । यसपटक उनको भ्रमण निकै खल्लो सावित भयो । भारतीय प्रधानमन्त्री, विदेशमन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारसँग भेट्ने उनको प्रयास विफल भयो । यतिसम्म कि आरजुले रक्षाबन्धन बाँधेर भाइको सम्बन्ध स्थापित गरेका डा. विजय चौथाइवालेले समेत भेट्न इन्कार गरे । 

आरजुको दोस्रो भ्रमण प्रधानमन्त्री ओलीले गरेको चीन भ्रमण, त्यसक्रममा भएको बीआरआई सम्झौताको अनुमोदन लगायतबारे भारतमा गएर प्रस्टीकरण दिनेमा केन्द्रित थियो । तर, उनले भारतीय संस्थापनका कसैसँग भेट्न पाइनन् । 

एउटा फोरममा आरजुले बाध्यताले बीआरआई सम्झौता नगरेको भए नेपालमा पुनः कम्युनिस्ट मिल्ने खतरा रहेकाले कांग्रेस बीआरआई सम्झौतामा हस्ताक्षर गर्न बाध्य भएको प्रस्टीकरण दिइन् । चीनसँग भएको सम्झौता ऋण होइन भनेर भनिन् । 

पढ्नुहोस्, यो पनि :

‘बाध्यताले बीआरआईमा हस्ताक्षर भयो, कांग्रेस नमानेको भए एमाले–माओवादी मिल्थे’

रायसिना डायलगमा सहभागी हुने भनेर आरजु तेस्रोपटक फागुन २५ गते भारत भ्रमणमा गइन् । दिल्लीको औपचारिक भेटवार्ताभन्दा पनि उनी तीर्थाटनमा लागिन् । भारतीय विदेश मन्त्रालयले आयोजना गरेको रायसिना डायलगको सन्दर्भमा उनले समकक्षी डा. एस जयशंकरसँग भेटवार्ता गरिन् । प्रधानमन्त्री मोदीसँग सामूहिक फोटो खिचाउने अवसर पनि पाइन् । तर, सम्बन्ध सुमधुर बनाउने प्रयास तेस्रोपटक पनि विफल भयो । 

भारतबाट फर्किने क्रममा विमानस्थलमा आरजु

सरकारको भविष्य– संसद्को अंकगणितमा निर्भर

नेपालमा सरकार गठन–विघटन नेपालकै संसदको अंकगणितका आधारमा हुने हो । नेपाली कांग्रेस र नेकपा एमालेजस्ता प्रमुख दुई दल मिलेर केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको छ । निश्चित उद्देश्य प्राप्तिका लागि कांग्रेस–एमाले गठबन्धन बनेको छ । उनीहरूले यो गठबन्धन २०८४ सालको चुनावसम्मै जाने बताएका छन् ।

प्रधानमन्त्री ओलीले प्रत्येक राजनीतिक भाषणमा दोहोर्‍याइरहेका छन्, अब यति महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्छु भनेर । 

जबसम्म ओली र देउवा एकअर्काप्रति विश्वस्त हुन्छन्, यही सरकार निरन्तर चलिरहन्छ । यसमा परराष्ट्रमन्त्रीले स्पष्टीकरण दिइराख्नुपर्ने विषय होइन । जुन दिन कांग्रेस–एमालेबीच दरार उत्पन्न हुन्छ, त्यो दिन सरकार परिवर्तनको नयाँ खेल शुरू हुन्छ । 

तत्काल वैकल्पिक सरकार गठनका लागि त्यस्तो कुनै धरातल या पृष्ठभूमि बनेको छैन । त्यही बुझेर माओवादी अध्यक्ष प्रचण्डले भनिरहेका छन्– २०८४ सम्म प्रधानमन्त्री बन्ने लाइनमा छैन । शुक्रबार मात्र प्रचण्डले पर्सा पुगेर ०८४ सम्म सरकारमा जानेबारे नसोचेको बताएका थिए । 

बरु गणतान्त्रिक व्यवस्था फाल्न भन्दै सडकमा राजतन्त्र पक्षधरहरू सल्बलाउन थाल्दा कांग्रेस–एमाले गठबन्धन झन् बलियो बन्दैछ । 

संसद्मा बहुमत रहँदासम्म सरकार नढल्ने कुरा जति यथार्थ हो, त्यति नै भारतसँग सम्बन्ध सुधार अर्को शर्त हो । बीपी कोइरालादेखि जीपी कोइरालासम्म, पञ्चायतदेखि गणतन्त्रसम्मको अनुभवले भन्छ– भारतसँग निहुँ खोजेर नेपालका सरकार चल्न सक्दैनन् । 

भारतसँग नेपालको निर्भरता यतिसम्म छ कि भारतले रातिको समयमा दिने विद्युत् आउन रोकिँदा नेपालमा फेरि लोडसेडिङ हुन लागेको भनेर सर्वसाधारण जनता आतंकित बनेको अवस्था छ । 

पढ्नुहोस्, यो पनि :

ओलीपछि आरजु प्रधानमन्त्री !
 

salt training

कमेन्ट गर्नुहोस्