
पोखराको फेवाताल किनारमा हुने भनिएको 'श्री गण्डकी कोटिहोम महायज्ञको' स्थान परिवर्तन भएको छ । मानव सेवा फाउन्डेसनले पोखरामा कोटिहोम सञ्चालन गर्ने भएपछि महानगरले शुरूआतदेखि नै तालछेउ उपयुक्त स्थान नभएको बताएपछि यो विषय विवादमा तानिएको थियो ।
काेटिहोमका लागि जथाभावी रूख काटिएपछि फाउन्डेसन र महानगरबीच शुरू भएको विवाद महिना दिनसम्म चलेको थियो ।
फाउन्डेसनले महायज्ञका लागी भनेर नेपाल ट्रष्टको स्वामित्वमा रहेको ताल छेउको जग्गा भाडामा लिइसकेको थियो । यता, महानगर प्रमुख शुरूआतदेखि महायज्ञका लागि तालकिनार उपयुक्त स्थान नभएको अडानमा बस्यो । रूख विवादमा फाउन्डेसन मुछिएपछि पत्रकार सम्मेलन गर्दै विवादित धर्मगुरुले धर्मका लागि अधर्म गर्न तयार भएको बताएका थिए । त्यसको भोलिपल्ट नै महानगर प्रमुख धनराज आचार्यले कानूनभन्दा माथि कोही नरहेको प्रतिक्रिया सामाजिक सञ्जालमार्फत दिएका थिए ।
‘कार्यपालिकाले निर्णय गरिसकेको छ । बिनाअनुमति म कार्यक्रम गर्न सक्छु भनेर कसैले धाकधम्की, फुर्ती, कानूनभन्दा माथि छु भन्ने कुराहरू नगरेको राम्रो । अनुमति दिने काम महानगरले गर्दैन’, भिडियोमा महानगर प्रमुख आचार्यले भनेका थिए ।
यो विवाद अदालतसम्म पुग्यो । अदालतले पनि फाउन्डेसनको पक्षमा फैसला गरेको थियो । त्यसपछि फेरि महानगर अदालत पुगेको थियो । केही समयदेखि चलिरहेको पक्ष र विपक्षमा बहसले मुठभेडको वातावरण सिर्जना गर्यो । आफ्नो अनुमतिबिना कोटिहोम गर्न नपाइने पोखरा महानगरको अडान र जसरी पनि कोटिहोम गरेरै छाड्ने विजयको जिद्दीले बाराहीघाट शुक्रबार करिब रणमैदानजस्तै बन्न पुगेको थियो ।
साइत हेराएर फाउन्डेसनले गर्न लागेको भूमिपुजनमा महानगर रोक्न पुग्दा दुई पक्षबीच झडप भयो । त्यसपछि मात्र समस्या समाधानका लागि महानगर, फाउन्डेसन र जिल्ला प्रशासन कार्यालयबीच छलफलको वातावरण बन्यो । वार्तामा महानगरले राखेको प्रस्तावअनुसार कोटिहोम गर्नका लागि स्थान फेरबदल गर्ने विषयमा सहमति जुट्याे । सोहीअनुसार गठन भएको समितिले स्थान टुंगो लगाउने जिम्मेवारी पाएको थियो । सोही समितिले वडा नम्बर १७ स्थित श्री सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिरले भोगचलन गरेको जग्गामा कोटिहोम गर्ने सहमति जुटेको हो ।
गुठीको जग्गासहित आसपासका स्थानीयहरूको जग्गामा २०८१ चैत्र १७ गतेदेखि २०८२ जेठ २६ गतेसम्म कोटिहोम महायज्ञ आयोजना गर्न लागेको फाउन्डेसनका मिडिया कोअर्डिनेटर लेखराज ढकालले बताए ।
समितिले वैकल्पिक स्थानको खोजी गरी कोटिहोम महायज्ञ पोखरा महानगरपालिका वडा नम्बर ६ को लेकसाइड क्षेत्रबाट पोखरा महानगरपालिका वडा नम्बर १७ मा रहेको सदा शिवजी सिद्धेश्वर हरिहर मन्दिर (सिद्ध गुफा वेद विद्याश्रम गुठी व्यवस्थापन समिति)को स्वामित्वमा रहेको बिरौटाको जमिन तथा आसपासका स्थानीयको जमिन भाडामा लिएर सञ्चालन गर्न सकिने प्रस्ताव गरेको थियो । दुवै पक्षबीच वडा १७ मा महायज्ञ गर्नका लागि सहमति भएको हो ।
पोखरा १७ मा रहेको हरिहर मन्दिर व्यवस्थापन समिति, पोखरा महानगरपालिका, जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिका वडा नम्बर १७ बिरौटाले कोटिहोम महायज्ञ सञ्चालन गर्नको लागि अनुमति दिएपश्चात अहिले कोटिहोम महायज्ञको आयोजक मानव सेवा फाउन्डेसन कास्की परिवार महायज्ञको तयारीमा जुटिसकेको ढकालले लोकान्तरलाई बताए ।
फाउन्डेसनको टोली आजै उक्त स्थान अवलोकन गर्न पुगेको थियो । उनीहरूको टोलीलाई स्थानीयले स्वागत गरेका थिए ।