
काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमा शुक्रबार जे घटना भयो, त्यसले राजसंस्था पुनःस्थापनाका लागि अगाडि सरेका राजावादी शक्तिको चरित्र उदांगो बनाइदिएको छ ।
शान्तिपूर्ण भनिएको आन्दोलन कर्फ्यु लगाउनु पर्ने र सेना परिचालन गर्नुपर्ने अवस्थासम्म पुग्यो ।
देशको अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको क्षेत्र क्षणभरमा रणमैदानमा परिणत भएको छ । यस्ता दृश्यले नेपालको छवि अन्तर्राष्ट्रिय समुदायमा समेत बदानम गराउने छ ।
सर्वसाधारणका घरमा तोडफोड र आगजनी गरिएको छ । सरकार बाहिर रहेको दलको पार्टी कार्यालयमा आगजनी गरिएको छ । सुपरमार्केटमा लूटपाटका घटना मच्चाइएको छ ।
सरकारी सम्पत्तिमा आगजनी गरिएको छ । सुरक्षाकर्मीलाई घेरेर आक्रमण र कुटपिट गरिएको छ । राजावादीको तारो अस्पताल र सञ्चार गृह पनि भएका छन्, कान्तिपुर टीभी र अन्नपूर्ण पोस्टको कार्यालयमा तोडफोड गरिएको छ । २०६१ भदौमा इराकमा १२ जना नेपाली मारिएको विरोधमा भएको हिंसात्मक घटना बिर्साउने गतिविधि शुक्रबार काठमाडौंमा भएको छ ।
तीनकुनेमा शुक्रबार भएको हिंसात्मक आन्दोलन र क्षतिको सम्पूर्ण जिम्मा पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्छ, जसले फागुन ७ गते आफूलाई साथ दिन भन्दै अपिल गरेका थिए । ज्ञानेन्द्रको त्यही अपिलपछि हौसिएका राजावादीले फागुन २५ गते काठमाडौंमा स्वागतको नाममा विमानस्थलबाहिर हुलहुज्त गरेका थिए ।
ज्ञानेन्द्र शाहले जुन व्यक्ति (विवादास्पद दुर्गा प्रसाईं)लाई आन्दोलनको कमान्डर बनाए, आन्दोलन नियन्त्रणबाहिर जाने र यस्तो घटना हुने पूर्वानुमान नै थियो । प्रसाईं, जसका प्रत्येक गतिविधि कानूनलाई धज्जी उडाउने खालका छन् ।
शुक्रबार तीनकुनेमा आन्दोलन भड्काउन मुख्यभूमिका प्रसाईंकै छ, जसलाई पूर्वराजाको इसारामै आन्दोलनको कमान्डर तोकिएको थियो । तीनै विवादास्पद प्रसाईंलाई ज्ञानेन्द्रले बिहीवार मात्र भेटेर आन्दोलनबारे सल्लाह गरेका थिए । शुक्रबार मध्यान्हसम्म शान्तिपूर्ण रहेको तीनकुने क्षेत्रमा जब प्रसाईं प्रवेश गरे, तब तनावको स्थिति सिर्जना भयो ।

प्रसाईं आफैंले चलाएको गाडी सुरक्षा दिएका प्रहरीलाई धकेल्दै अगाडि बढ्न खोजेको थियो । आन्दोलनको कमान्डर बनेका प्रसाईंले प्रहरी घेरा तोडेर आफ्नो मूर्खता देखाउने प्रयास शुक्रबार गरे ।
उनले हिजोअस्तिदेखि नै दीक्षित गरेका थिए– नेताको घरभित्र पसेर थुत्ने भनेर ।
प्रसाईं पछिल्लो समय सामाजिक सञ्जालमा व्यवस्था, राजनीतिक दल र केही व्यापारिक घरानाका व्यक्तिविरुद्ध घृणाको अभिव्यक्ति दिएर चर्चामा छन् । राजनीतिक दलको अकर्मण्यता र जनआक्रोशलाई भजाएर उनले आफ्नो कथित शक्ति सञ्चय गरेका थिए । प्रसाईं मनमा लागेपछि जो–कसैलाई ‘दलाल, राष्ट्रघाती र माफिया’ करार गर्न बाँकी राख्दैनन् ।
शुक्रबार तीनकुनेमा जम्मा भएको जत्था प्रसाईंद्वारा दीक्षित अराजक भीड हो, जो प्रसाईंको अराजकतालाई वाहवाही गरेर महिमामण्डन गर्छ ।
बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्नुपर्दैन भनेर पनि उनले मानिसलाई उक्साइरहेका छन् । शुक्रबारको प्रदर्शनमा बैंकको ऋण तिर्नुपर्दैन भन्नेको बाक्लो उपस्थिति थियो ।
बदनाम प्रसाईं यस्ता पात्र हुन्, जसले गणतन्त्रका लागि माओवादीमा लडेको दाबी गर्छन् । देशका प्रमुख कम्युनिस्ट नेतालाई घरमा बोलाएर मेजमानी लगाउने सामर्थ्य राख्छन् । अनि व्यवस्था उल्ट्याएर राजसंस्था पुनःस्थापनाको ठेक्का लिएर हिँड्छन् ।
यस्ता पात्रले मलाई नारायणहिटीमा फर्काउँछन् भनेर ज्ञानेन्द्र शाहचाहिँ मख्ख परेर बस्छन् । शुक्रबार तीनकुनेमा भएको प्रदर्शनलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मण्डले अराजकताको पराकाष्ठा भनेर टिप्पणी गरेका छन् ।
पढ्नुहोस्, यो पनि :
तीनकुनेमा उत्रिएको ज्ञानेन्द्र शाहको 'मुकुन्डो'
राजावादीलाई नैतिक संकट, ज्ञानेन्द्रलाई धर्मसंकट !
दुर्गा प्रसाईंजस्ता अराजक व्यक्ति मात्र होइनन्, नेपालका केही लब्ध प्रतिष्ठित र समाजमा योगदान गरेका व्यक्तिहरूले समेत देशमा कुनै न कुनै प्रकारको राजसंस्था आवश्यक पर्छ भनेर मत राखिरहेका थिए ।
कांग्रेस संस्थापक बीपी कोइरालाले कुनै सन्दर्भमा भनेको कुरालाई लिएर अहिले पनि कांग्रेसभित्रको एउटा तप्का राजसंस्था चाहिन्छ भन्ने मत राख्छ ।
बीपी कोइरालाकी नातिनी एवं प्रख्यात बलिउड अभिनेत्री मनीषा कोइराला त्यसमध्येकी एक हुन् । राजावादीको आन्दोलनमा उनले नैतिक समर्थन जनाउने गरेकी थिइन् ।
उनीमात्र होइन, बाहिर आफूलाई राजावादी भन्न नचाहने तर, राजसंस्थाको पक्षमा मन राख्ने केही व्यक्तिहरू छन्, खासगरी व्यवसायमा संलग्न ।
शुक्रवार तीनकुनेमा भएको घटनापछि राजसंस्थाको वकालत गर्ने व्यक्तिलाई समेत लज्जा महसुस भएको हुनुपर्छ, राजसंस्थाको नाम लिएर भएको अपराध कर्मलाई लिएर शरम लाग्ने अवस्था सिर्जना भएको छ ।
शुक्रबारको घटनामा भएको क्षतिको विवरण अहिलेसम्म आएको छैन । तर, एकजना प्रदर्शनकारीको मृत्यु भएको छ भने एकजना पत्रकारको मृत्यु भएको छ । राजसंस्था पक्षधरको आन्दोलनले आगो लगाउँदा एभिन्यूज टेलिभिजनमा कार्यरत फोटो पत्रकार सुरेश रजकको मृत्यु भएको छ ।

शुक्रबार भएको घटनाप्रति पूर्वराजाले सार्वजनिकरूपमा माफी माग्नुपर्छ, नैतिक जिम्मेवारी लिनुपर्छ । भविष्यमा यस्तो आन्दोलन उक्साउने काम गर्ने छैन भनेर ज्ञानेन्द्रले जनतासमक्ष वाचा गर्नुपर्छ ।
शुक्रबार काठमाडौंमा भएका घटनाले राजसंस्था र ज्ञानेन्द्र शाहप्रतिको जनआक्रोश र बदनामी २०५८ सालमा दरबार हत्यकाण्ड भएपछिकै जस्तो अवस्थामा पुगेको छ । राजसंस्था पुनःस्थापनाको एजेन्डा लिएर सडक आन्दोलन गर्नेका लागि नैतिक बन्धन सिर्जना भएको छ ।
पूर्वराजाको नाममा मच्चाइएको अराजकताले राजसंस्थाप्रति ‘जेन्जी’ (२०५५/६० तिर जन्मिएको) पुस्ताको भ्रम निवारण भएको छ । एकप्रकारले भन्दा शुक्रबार तीनकुनेमा राजसंस्था पक्षधरको आन्दोलनको विसर्जन भएको छ ।
पढ्नुहोस्, यो पनि :
गणतन्त्रको १७ वर्षमा पूर्वराजा ज्ञानेन्द्रले सञ्चित गरेको ताकत