०५ साउन २०८३, मंगलबार
शरणार्थी समस्या

अमेरिका सेटल भइसकेका पूर्व भुटानी शरणार्थी कसरी छिरे नेपाल ? के हुन्छ उनीहरूको भविष्य ?

अमेरिकाले डिपोर्ट गरेका १० मध्ये ४ जना नेपालमा, ६ जनाको अवस्था अज्ञात
चैत २१, २०८१
काठमाडौं
अमेरिका सेटल भइसकेका पूर्व भुटानी शरणार्थी कसरी छिरे नेपाल ? के हुन्छ उनीहरूको भविष्य ?

गत शुक्रबार ३ जना र मंगलबार १ जना व्यक्ति भुटानबाट भारतको बाटो हुँदै काँकडभिट्टा आइपुगे ।

उनीहरूसँग केही भारू थियो, तर नागरिकता, परिचयपत्र वा पासपोर्ट साथमा थिएन । प्रहरीको गिरफ्तारीमा परेका उनीहरूले रातको समयमा बोर्डरबाट खोलाको बाटो हुँदै नेपाल छिरेको बताएका छन् ।

धेरै वर्षअघि भुटानबाट नेपाल आएर 'शरणार्थी'का रूपमा बसेका र तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुगेका तिनीहरूलाई अवाञ्छित गतिविधि गरेको आरोपमा अमेरिकाले भुटान डिपोर्ट गरिदिएको थियो ।

गत २५ मार्चका दिन अमेरिकाले १० जना 'भुटानी शरणार्थी'लाई भुटानको पारो अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छोडिदियो । अध्यागमन विभागका अधिकारीहरूका अनुसार उनीहरूको ट्राभल डकुमेन्ट र अन्य कागजात भुटानी सरकारले जफत गर्‍यो । भुटानी अधिकारीले उनीहरूलाई केही पैसा हातमा थमाइदिएर भारतको सीमामा ल्याएर छाडिदिए ।

त्यसपछि उनीहरू आफू पहिला बसेको ठाउँमा पुगे । अहिले पनि झापाको बेलडाँगी र शनिश्चरेमा करिब ६ हजारको संख्यामा भुटानी शरणार्थी बस्दै आएका छन् । उनीहरू आफन्त र साथीभाइ खोज्दै त्यहाँ पुगेका थिए ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयलाई उनीहरू अनधिकृत रूपमा नेपाल छिरेको सूचना गयो । कार्यालयले खटाएका प्रहरीले उनीहरूलाई गिरफ्तार गरेर अध्यागमन कार्यालयको जिम्मा लगाइदिए ।

कहाँ छन् बाँकी ६ जना ?

तर, अमेरिकाबाट १० जना आएको भएता पनि अहिलेसम्म ४ जना मात्र गिरफ्तार भएका छन् । बाँकी ६ जना कहाँ छन्, त्यसबारे कुनै जानकारी छैन । अध्यागमन कार्यालय काँकडभिट्टाका अध्यागमन अधिकृत तुलसी भट्टराईले लोकान्तरसँग भने, 'उनीहरू हाम्रो नियन्त्रणमा आएपछि हामीले अनुसन्धान शुरू गरेका छौं ।'

भट्टराईले १० जनालाई अमेरिकाबाट डिपोर्ट गरिएको भनिएता पनि ४ जनालाई मात्र नियन्त्रणमा लिइएको बताए ।

'बाँकी कहाँ छन्, हामीलाई थाहा छैन । अनुसन्धानका क्रममा हामीले उनीहरूको दस्तावेज माग्छौं, त्यसको अध्ययन गर्छौं । उनीहरू पहिला कहाँ बसेका थिए, कसरी अमेरिका गए, अनि कसरी फिर्ता आए भन्ने सोधीखोजी गरेर प्रतिवेदन बुझाउँछौं,' भट्टराईले भने ।

'ड्रग्स र सेक्सुअल ह्यारेसमेन्ट'को आरोपमा डिपोर्ट !

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश आचार्यले नियन्त्रणमा आएका ४ जनामध्ये कसैसँग पनि कुनै कागजपत्र नरहेको बताए ।

आचार्यले लोकान्तरसँग भने, 'उनीहरूसँगको प्रारम्भिक सोधपुछमा अमेरिकादेखि दिल्ली हुँदै भुटानको पारो एयरपोर्टमा छाडिएको बताएका छन् । कागजपत्र भुटानी अधिकारीले जफत गरेको र बाटो खर्च दिएर पहिला जहाँ थियौ, त्यहीँ जाऊ भनेर पठाएका रहेछन् ।'

उनका अनुसार नियन्त्रणमा आएका चारैजनाले राति लुक्दै खोला तरेर नेपाल आएको बताएका छन् । 'बाँकी कहाँ छन् भनेर सोध्दा आफूहरूलाई केही थाहा नभएको बताउने गरेका छन्,' आचार्यले भने ।

सोधपुछका क्रममा उनीहरूले अमेरिकामा आफूहरूलाई ड्रग्स र सेक्सुअल ह्यारेस्मेन्टको मुद्दा लगाएर फिर्ता पठाएको बताएको आचार्यको भनाइ छ ।

'खासमा उनीहरूलाई कानूनबमोजिम त्यहीँ कारबाही हुनुपर्ने हो, तर किन भुटान फर्काइयो थाहा छैन । अनि भुटानले पनि यसलाई कूटनीतिक ढंगले हल गर्ने प्रयास गर्नुको साटो नेपाल किन पठायो ? त्यो पनि प्रश्नयोग्य छ,' आचार्यले भने ।

कूटनीतिक प्रश्न !

अध्यागमन विभागका निर्देशक ईश्वरीदत्त पनेरुले छानबिन प्रतिवेदन आएपछि मात्र के गर्ने भनी निर्णय लिने बताए ।

उनले लोकान्तरसँग भने, 'यो अलि अचम्मको घटना भयो । नेपालभित्र अनाधिकृत प्रवेश गर्ने विदेशी नागरिकको हकमा अध्यागमन कानून आकर्षित हुन्छ । तर, अहिले नियन्त्रणमा रहेका नेपालमै बस्दै आएका शरणार्थी थिए । उनीहरू अमेरिकामा सेटल भएका थिए, तर त्यहाँबाट अमेरिकाले भुटान फिर्ता गरिदिएपछि पुनः यतै आए ।'

उनले यो केसमा नेपाल, भुटान, भारत र अमेरिकाजस्ता देशहरू पनि जोडिएकाले अन्तर्राष्ट्रिय कूटनीतिको ख्याल राख्नुपर्ने बताए । 'थप के कारबाही गर्ने भन्ने कुरा प्रतिवेदन आएपछि निर्णय लिन्छौं । आवश्यक परे कूटनीतिक पहलका लागि सरकार आफैं अघि बढ्न सक्छ,' उनले भने ।

उनीहरूले विधिवतरूपमा अमेरिकाको कानून नमानेर भुटान फिर्ता गरिएको हुनसक्ने अध्यागमन विभागको प्रारम्भिक अनुमान छ ।

मानवाधिकार आयोगको ध्यानाकर्षण

अमेरिकामा सेटल भइसकेका भुटानी शरणार्थी विनाकुनै परिचयपत्र नेपालमा नियन्त्रणमा परेको विषयलाई राष्ट्रिय मानवाधिकार आयोगले पनि चासोका साथ हेरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले यसबारे छिट्टै अनुसन्धान शुरू गरिने लोकान्तरसँग बताए । 'भुटानी शरणार्थीको विषय हाम्रो क्षेत्राधिकारभित्र पर्छ । हामीले पनि सञ्चारमाध्यमहरूबाट यी कुराहरू सुनेका छौं । यो विषय अध्ययनकै क्रममा छ ।'

उनले विराटनगरस्थित कार्यालयलाई पत्राचार गरिने र त्यहीँबाट छानबिन शुरू गरिने बताए ।

'अध्यागमन कार्यालयसँग समन्वय गरेर यस्तो घटना कसरी भयो ? किन भयो ? जस्ता प्रश्नहरूको जवाफ लिनेछौं र उनीहरूको पनि मानवाधिकार हुन्छ, त्यसको रक्षाका निम्ति काम गर्छौं,' डा. पोखरेलले भने ।

आईईसीको हिरासतमा थप ११ भुटानी शरणार्थी !

अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईईसी)ले उनीहरूलाई नेपाल पठाएको थियो । नेपालबाट तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत विदेश गएका भुटानी शरणार्थीलाई डिपोर्ट गरिएको यो पहिलोपटक हो । अमेरिकाको पेन्सिल्भेनियास्थित एक मिडिया डब्ल्युआईटीएफले थप ११ जना भुटानी शरणार्थी आईईसीको हिरासतमा रहेको उल्लेख गरेको छ, जसमध्ये ७ नेपालस्थित भुटानी शरणार्थी शिविरमा जन्मिएका हुन् भने बाँकी ४ जना भुटानमै जन्मिएका हुन् । उनीहरूलाई पनि डिपोर्ट गरिने अनुमान गरिएको छ ।

उक्त मिडियाका अनुसार पेन्सिल्भेनियाको डफिन काउन्टीका कमिस्नर जस्टिन डगलसले यो घटनाप्रति गहिरो चिन्ता व्यक्त गरेका छन् ।

'यी व्यक्तिहरूलाई यस्तो अनिश्चित र खतरनाक अवस्थामा पठाउनु गलत हो । हामी यहाँको भुटानी समुदायसँग मिलेर उनीहरूको सुरक्षाका लागि पहल गरिरहेका छौं,' डगलसको भनाइ उद्धृत गर्दै डब्ल्युआईटीएफले लेखेको छ ।

अमेरिकामा सेटल भएकामध्ये अधिकांश भुटानी शरणार्थी पेन्सिल्भेनियामा बस्ने गर्छन् । उक्त समुदायका नेता तिलक निरौलाले अमेरिकी सरकारसँग यी व्यक्तिहरूको सुरक्षित र सम्मानजनक जीवनको ग्यारेन्टी गर्न माग गरेका छन् ।

भुटानी शरणार्थी समस्याको शुरुआत

भुटानले नेपालीभाषीलाई सन् १९९० को शुरुआतबाट लखेट्न शुरू गरेको थियो ।

यो प्रक्रिया खासगरी सन् १९८८ मा भुटानमा भएको जनगणनापछि तीव्र भएको थियो, जसले नेपालीभाषी ल्होत्साम्पा समुदायको जनसङ्ख्या उल्लेखनीय रूपमा बढेको देखाएको थियो ।

त्यसपछि भुटानी सरकारले 'एक राष्ट्र, एक संस्कृति' नीति लागू गर्दै नेपालीभाषीलाई भुटानी संस्कृतिमा समाहित गर्न खोज्यो ।

यस क्रममा नेपाली भाषाको पठनपाठनमा रोक लगाइयो । परम्परागत पोशाक लगाउन बाध्य पारियो र नागरिकतामाथि प्रश्न उठाइयो । यस्तो नीतिको विरोध गर्नेलाई भुटानले लखेटेको थियो ।

भुटानबाट लखेटिएका नेपालीभाषी भारतको बाटो हुँदै पूर्वी नेपालको झापा र मोरङ जिल्लामा शरणार्थीका रूपमा आउन थाले । संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तको कार्यालयको सहयोगमा उनीहरूलाई शरणार्थी शिविरमा राखियो ।

शरणार्थी समस्याबारे नेपाल र भुटानबीच विभिन्न चरणमा वार्ता भए पनि त्यसले कुनै निष्कर्ष निकाल्न नसकेपछि करिब १ लाख १३ हजार भुटानी शरणार्थीहरू तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका, क्यानडा र अस्ट्रेलिया तथा विभिन्न युरोपेली देशहरूमा गएका थिए ।

सम्पर्कमा नआएकाको खोजीनीति गर्नुपर्ने माग

भुटानी शरणार्थी समुदायले मंगलबार एक विज्ञप्ति जारी गर्दै अमेरिकाबाट निर्वासित तर सम्पर्कमा नआएका अन्य शरणार्थीको अवस्था सार्वजनिक गर्न माग गरेको छ । भुटान पिपुल्स पार्टी, ड्रुक नेसनल कांग्रेस–प्रजातान्त्रिक, भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समिति र भुटान स्वतन्त्र जनमञ्चले संयुक्त रूपमा नेपालस्थित अमेरिकी दूतावाससँग शरणार्थीलाई राज्यविहीन र पहिचानविहीन अवस्थाबाट जोगाउन आग्रह गरेका हुन् ।

भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौड्यालले अमेरिकाले १० जना शरणार्थी भुटानलाई हस्तान्तरण गरेको दाबी गरे पनि तीनजना मात्र सम्पर्कमा आएको र बाँकी ७ जनाको अवस्था अज्ञात रहेको बताएका छन् ।

उनले भुटान सरकारले प्रजातन्त्र घोषणापछि पनि नागरिकलाई देश निकाला र बेपत्ता पार्ने पुरानो अभ्यास नरोकेको आरोप लगाए । 'हामी विश्वका मानव अधिकारवादी संस्था, भारत र नेपालका अमेरिकी दूतावाससँग उनीहरूको खोजी र सुरक्षाको माग गर्छौं,' उनले भने ।

भुटानले अमेरिकाबाट फिर्ता पठाइएकालाई स्वीकार गरे पनि रातारात पुनः देश निकाला गरेको दाबी उनीहरूको छ ।

भुटानले मानव अधिकारको सम्मान गर्नुको साटो उल्टै दमन गरेको आरोप लगाउँदै लेखिएको पत्रमा बेपत्ताको बाँच्न पाउने आधारभूत अधिकार सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ ।

salt training

कमेन्ट गर्नुहोस्