
तीन वर्षसम्म काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहसँग कुनै टसल नदेखाइ चुपचाप काम गर्दै आएकी उपमेयर सुनिता डंगोल बिहीबार नयाँ शैलीमा प्रस्तुत भइन् । ३ वर्षअघि बालेन स्वतन्त्रबाट र सुनिता एमालेबाट निर्वाचित भएका थिए । तर, अहिलेसम्म उनीहरूबीचको टसल देखिने गरी सतहमा आएको थिएन । कार्यपालिका बैठक बस्दा होस् वा अन्यत्र मञ्च शेयर गर्दा नै किन नहोस्, खरो स्वभावका बालेनविरुद्ध सुनिता हरदम सौम्य देखिँदै आइन् ।
यसबीचमा उनले आफ्नै पार्टी एमाले र जनप्रतिनिधिको दबाबलाई झेलिन् । अनि कतिपय विषयमा फरक मत भएपनि प्रकट नगरी बालेनसँग हातेमालो गरिरहिन् । अघिल्लोपटक एमालेबाट जितेका मेयर विद्यासुन्दर शाक्य र कांग्रेसबाट जितेकी उपमेयर हरिप्रभा खड्गीजस्तो पानी बाराबारको स्थिति आउन दिइनन् । बालेनले पनि उपप्रमुखलाई चिढ्याउने हिसाबका गतिविधि गरेको खासै देखिएन ।

बालेनले काठमाडौं टावरको अनधिकृत निर्माणका लागि अनुमति दिएको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई साढे ३ महिनासम्म महानगरमा छिर्न दिएनन् । लामो समयदेखि प्रशासकीय अधिकृतको अभावमा महानगरपालिकाको आर्थिक, प्रशासनिकसहितका थुप्रै काम रोकिए ।
साढे ३ महिनापछि गुरागाईंलाई महानगरमा भित्र्याएको दिन डंगोलले आफूलाई नयाँ ढंगले प्रस्तुत गरेकी हुन् । बालेनले रोक्न खोज्दाखोज्दै डंगोलले जनप्रतिनिधि र कर्मचारीको साथ लिएर गुरागाईंलाई हाजिर गराइन् । बालेनले गुरागाईंको कार्यकक्षमा ताला लगाएका थिए । कार्यालयमा उपस्थित नभएका बालेनले नगर प्रहरी लगाएर गुरागाईंलाई रोक्न खोजे पनि सफल भएनन् । कर्मचारी र जनप्रतिनिधिको बलमा ताला तोडेर डंगोलले कामलाई सुचारु गराइन् ।
फेरि शुक्रबार प्रशासकीय अधिकृत हाजिर भए । अनि ६ महिनादेखि रोकिएको कर्मचारीको तलब निकासाको प्रक्रिया खुलाए । दोस्रो दिन गुरागाईंलाई कार्यालय प्रवेशमा नगर प्रहरीले अवरोध गरेन । बरु स्वयं नगर प्रहरी प्रमुखले आत्मालोचनासहित सलाम ठोकेर स्वागत गरे ।
आफूलाई काम गर्न सहज नहुने भन्दै बालेनले गुरागाईंको सट्टा अर्कोलाई प्रमुख प्रशासकीय अधिकृत पठाउन माग गर्दै आएका थिए । तर, बालेनसँग काम गर्न अरू तयार नभएको बहानामा सरकारले अर्को व्यक्ति पठाएन । गुरागाईंमाथि प्रभावकारी छानबिन नै नभइकन बालेनले उनलाई दोषी करार गरेका थिए ।
जनप्रतिनिधिले कार्यपालिका बैठक डाक्न पटक–पटक आग्रह गरे पनि बालेन बेवास्ता गर्दै हिँडिरहेका छन् । बालेनभन्दा ६ हजार ८४५ मत बढी ल्याएर विजयी भएकी सुनिताले बिहीबार आफूलाई आवेगभन्दा जिम्मेवार नेताको रूपमा प्रस्तुत गरिन् ।
गत निर्वाचनमा बालेन ६१ हजार ७६७ मत ल्याएर काठमाडौं महानगरपालिकाको प्रमुखमा विजयी हुँदा सुनिताले ६८ हजार ६१२ मत पाएकी थिइन् । बालेनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना श्रेष्ठको भन्दा २३ हजार ३२६ बढी मत आएको थियो । तर, उपप्रमुखमा डंगोलले निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठभन्दा ४४ हजार ८०६ मत बढी पाइन् ।
मेयर/प्रमुख प्रशासकीय अधिकृत टसल उत्कर्षमा पुगेका बेला डंगोलले आफूलाई नयाँ ढंगले प्रस्तुत गरेकी हुन् । बालेनले एउटा कुनाबाट दबाब दिइरहेका बेला सुनिताले आफूलाई समन्वय गर्न सक्ने नेताको रूपमा उभ्याएकी छिन् ।

‘उहाँ हाम्रै दलबाट निर्वाचित हुनुभएको हो । तर, जनताको काममा प्रत्यक्ष जोडिनुपर्ने भएकाले उहाँले कतिपय अवस्थामा पार्टीबाट माथि उठ्ने शैली देखाउनुभयो । कुनै विषयमा मेयरसँग प्रस्ट विमति हुँदा तर्क पनि गर्दै आउनुभयो । विमति राख्दासमेत शिष्टता राख्नुभयो,’ एमालेका एक नेता भन्छन्, ‘तर, मेयर बालेनले आफूलाई उत्पात समर्थन रहेको देखाउन सामाजिक सञ्जालको सहारा लिँदा सुनिताले आफूलाई परिपक्व नेताको रूपमा प्रस्तुत गर्नुभएको छ । समन्वयमा शक्ति हुन्छ भन्ने उपमेयरको पछिल्लो क्रियाकलापले देखाउँछ ।’
सुनिताले संयम नगुमाएको भन्दै उनको प्रशंसा हुन थालेको छ । कतिपयले उनलाई भविष्यको एउटा बलियो नेताका रूपमा चर्चा गरिरहेका छन् । सुनिताले बालेनले बैठक छलेकोप्रति बिहीबार कटाक्ष गरेकी थिइन् ।
‘मेयरले एक ठाउँमा बसेर आदेश दिने अनि हामीले तमासा हेर्नुपर्ने हो ?,’ बिहीबारको अनौपचारिक बैठकमा डंगोलले भनेकी थिइन्, ‘उहाँ (मेयर)को आदेश हो भने यसरी कोठामा बसेर गर्ने होइन, अगाडि आउनुपर्छ ।’
बालेनपछि सुनिताले प्रशासकीय अधिकृतलाई रोक्न खोज्ने र ताला लगाउने नगर प्रहरी प्रमुख राजु पाण्डेमाथि गम्भीर सवाल उठाइन् ।
‘ताला लगाउन आदेश छ ?’ भनेर उनले सोधेकी थिइन् । पाण्डेले आफूसँग आदेश रहेको बताएपछि लिखित कि मौखिक आदेश भनेर प्रतिप्रश्न गरेकी थिइन् । साथै, उनले नगर प्रहरी, मेयर र उपमेयर दुवैसँग उत्तिकै जिम्मेवार हुनुपर्ने पनि बताएकी थिइन् । त्यसपछि पाण्डेले शुक्रबार प्रमुख प्रशासकीय अधिकृत गुरागााईंसँग माफी मागेर उनलाई काम गर्न सहजीकरण गरेका छन् ।
बिहीबार नगर प्रहरीले लगाएको ताला फोडेर प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा हाजिर गराइएको थियो ।
बालेनले सरकारको दम्भले कर्मचारीले ३ महिनादेखि तलब नपाएको भन्दै एक साताभित्र समस्या समाधान नगरे सबै (नेता)लाई टुकुचामा गाड्ने चेतावनी दिएका थिए । ‘काठमाडौं महानगरपालिकाका सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब पाका छैनन्, सरकारको दम्भले ! को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाहा छैन,’ बालेनले १० दिनअगाडि सामाजिक सञ्जालमा लेखेका थिए, ‘अबको एक हप्तामा हाम्रो कर्मचारीले तलब पाएनन् भने सबैलाई टुकुचामा गाड्दिन्छु । त्योपछि हेरौँला तिमीहरूको के–के तन्त्र हो !’
धेरै पब्लिकले रुचाए पनि सामाजिक सञ्जालमा एकोहोरो लेख्ने, राज्यका निकाय र सरोकारवालासँग समन्वय नगर्ने, सम्वाद गर्न नचाहने बालेनको शैलीबाट कर्मचारी र जनप्रतिनिधिहरू आजित भएको सुनिताले देखेकी छिन् । यही जगमा उनी रचनात्मक ढंगले अगाडि बढेकी हुन् ।
यो पनि पढ्नुहोस्- 'धर्मसंकट'मा बालेन !
डंगोलको अग्रसरतापछि काठमाडौं महानगरपालिकामा महिनौंदेखि रोकिएको कर्मचारी, सफाइकर्मी, ठेक्का सकिएका ठेकेदारको भुक्तानी तथा नयाँ योजनाको प्रक्रिया अगाडि अगाडि बढेको छ । बिहीबार र शुक्रबार दुवै दिन बालेन महानगरको कार्यालय पुगेनन् । बिहीबारको तनावपूर्ण स्थितिपछि उनको सचिवालयले चैत १५ गतेको दमनलाई विषयान्तर गर्न सरकारले फन्डा गरेको टिप्पणी गरेको थियो ।

तर, सामाजिक सञ्जालमा बालेनलाई पनि संयमता देखाउन आग्रह गरिएको छ । प्रयोगकर्ता नारायण गाउँलेले मेयरलाई सहज हुने गरी सरकारले कर्मचारी नदिएर इगो राखे पनि बालेन भिड्ने मूडमा जान नहुने बताएका छन् ।
‘नयाँहरूप्रति पुराना अनुदार नै छन् । सकेसम्म अँठ्याउने कोशिश हुन्छ । कर्मचारी पनि प्रायः दलकै सदस्य हुन्छन् । आफूले चाहे जे आरोप लगाएर पनि कुलमानहरूलाई हटाउन मिल्छ भने एउटा प्रशासकीय अधिकृत सरुवा गर्न नमिल्ने भन्ने पनि हुन्छ र ?,’ उनले लेखेका छन्, ‘यो बालेनको सेटब्याक होइन, उनले एक्लै ऐनकानून र सरकार फेर्न सक्दैनन् । नसक्ने कुरामा हारजीत हुँदैन । कोशिश गर्ने हो । यस्ता ठक्करले सजग हुन र सिक्न मद्दत नै गर्छ । अब वडाध्यक्षदेखि उपमेयरसम्म र महानगरका कर्मचारीदेखि सरकारसम्म एकातिर छन् भने एक्लो लडेर केही हासिल हुँदैन । समय मात्रै नष्ट हुन्छ ।’
पत्रकार मनुका कुँवरले सामाजिक सञ्जालमा लेख्दै व्यावहारिक बनेको भनेर उपमेयर डंगोलको प्रशंसा गरेकी छिन् ।
‘महिनावारी तलबमा भर पर्नुपर्ने जीवनशैलीलाई जब महिना मरेपछि तलब आउँदैन, त्यसपछि सन्तुलन कतिसम्म बिग्रिन्छ भन्ने कुरा तलबकै भरमा बाँच्नेलाई मात्र थाहा हुन्छ । रोकिएको तलब निकासा गर्न उपमेयरज्यूको भूमिकाको तारिफ गर्नैपर्छ,’ कुँवरले लेखेकी छिन्, ‘मेयर पदलाई हाउगुजी बनाएर कर्मचारीलाई डराएर मात्र काम बन्दैन बालेनज्यू ! आफ्नो कमजोरी स्वीकारेर महानगरमैत्री व्यवहार देखाए नै उत्तम हुन्थ्यो कि ! राष्ट्रवाद दिमागमा होइन, व्यवहारमा देखाउनुस्, मेयर साप । हिम्मतिलो नारीलाई सलाम ।’

केही अगाडिसम्म सामाजिक सञ्जालमा बालेनको एकोहोरो समर्थन र प्रचारमा प्रयोगकर्ता देखिँदै आएका थिए । बालेनको यही एकोहोरो शैलीमा सुनिताले आफूलाई नवीन ढंगले उतार्ने कोशिश गरेकी छिन् ।
बालेनका समर्थकहरू उनीमाथि खनिए पनि अप्ठ्यारोमा परिपक्वता र नेतृत्व देखाएको भन्दै धेरैले डंगोलको प्रशंसा नै गरेका छन् ।
काठमाडौं– १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले एकपछि अर्को समस्या थुप्रिएपछि उपमेयरले पनि पख–पख भन्ने स्थिति नभएको बताए ।
‘महानगरको नेतृत्व मेयरकै हो । हामीले पनि मेयरकै उपस्थितिमा बैठक बसेर समस्या समाधान गर्नुपर्छ भन्दै आएका हौं । तर, नक्सा पासको विषयमा, प्रशासकीय अधिकृतको विषयमा मेयरले कार्यपालिका बैठक राखेर छलफल गर्नुभएन । छानबिन समिति बनाए हामीले सरकारलाई पनि यहाँ समस्या भयो भनेर देखाउन सक्थ्यौं,’ उनले भने, ‘मेयरपछि उपमेयर नै हो । कतिपय केन्द्रीय कार्यक्रम उपमेयरमा पनि ठोक्किन आउँछ । धेरै समस्या आएपछि उपमेयरले पनि पख–पख भनेर टार्न सक्ने स्थिति नहुँदा शुक्रबारको अवस्था आएको हो । दिनमै कमाएर खानुपर्ने कर्मचारीको तलबका लागि पनि हिजोको पहल ठीक थियो ।’
तर, सरकारले महानगरलाई बेवास्ता गरेको उनी बताउँछन् ।
‘ठूलो र धेरैलाई प्रभाव हुने महानगरमा समस्या आएपछि नेपाल सरकार पनि गम्भीर हुनुपर्छ,’ उनले भने, ‘मेयर र उपमेयरलाई डाकेर छलफल गर्नुपर्थ्यो । सरकारले डाकेर छलफल गर्नुपर्छ । तर, यो प्रकरणमा संघीय सरकार पनि चुक्यो ।’