
राजेन्द्र लिङ्देन नेतृत्वको (राष्ट्रिय प्रजातन्त्र पार्टी)ले मंगलबार राजधानीको भृकुटीमण्डपमा प्रदर्शन गर्ने तयारी गरेको छ ।
विशेषगरी गत चैत १५ मा राजावादीहरूको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणाको रिहाइको माग र सरकारका गतिविधिको विरोध स्वरूप प्रदर्शन गर्ने तयारी छ ।
‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ हुने भनिएको प्रदर्शनको नेतृत्व लिङ्देन आफैंले गर्दैछन् ।
उपत्यकासँगै अन्य जिल्लाका नेता तथा कार्यकर्तालाई प्रदर्शनमा भाग लिन राप्रपाले उर्दी जारी गरेको छ । मंगलबारको प्रदर्शन चैत १५ गतेको जस्तो भड्किलो र अराजक नहुने विश्लेषण सुरक्षा निकायको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा सुरक्षा योजना बनाइरहेको छ । भोलि जिल्ला सुरक्षा समितिको बैठक बसेर सुरक्षा योजनालाई मूर्तरूप दिने तयारी परिसरको छ ।
जिल्ला सुरक्षा समितिको अध्यक्षता प्रमुख जिल्ला अधिकारीले गर्नेछन् । सदस्यमा काठमाडौं प्रहरी प्रमुख, सशस्त्र र सेनाका प्रतिनिधि रहने छन् ।
राप्रपालाई बबरमहलबाट माइतीघर र त्रिपुरेश्वर हुँदै प्रदर्शनीमार्गसम्म जुलुस निकाल्ने गरी रुट तय गर्ने तयारी छ । सोह्रखुट्टेबाट पकनाजोल र जमल हुँदै त्रिचन्द्रतर्फ जुलुस निकाल्न अनुमति दिने तयारी छ ।
‘चैत १५ को जस्तो मुठभेड हुने अवस्था आउन दिँदैनौं, शान्तिसुरक्षाको प्रत्याभूति दिन प्रहरी चुक्दैन,’ जिल्ला सुरक्षा समितिका एक सदस्यले लोकान्तरसँग भने, ‘प्रदर्शनमा उत्रिनेहरूलाई पनि संयम भएर शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न हामी सुझाउँछौं ।’
भृकुटीमण्डमा आयोजित प्रदर्शनमा सहभागी हुन आउने प्रदर्शनकारीहरूको मुड बुझेर प्रहरी परिचालन गर्ने तयारी छ । प्रदर्शनमा प्रहरी परिचालनको कमान्ड जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारी आफैंले गर्नेछन् ।
उनले भने, ‘हामी सुरक्षा रणनीति तयार पार्दैछौं । प्रदर्शन शान्तिपूर्ण हुने विश्वास गरेका छौं ।’ भृकुटीमण्डपमा भेला भएका प्रदर्शनकारीलाई सुरक्षाकर्मीले ‘कर्डन’ गरेर एकै ठाउँमा भेला पार्ने र चौतर्फी घेराभित्र राख्ने तयारी छ ।
‘प्रदर्शनकारीहरू अराजक नहोलान् भन्ने हाम्रो बुझाइ हो, तर उनीहरू तोडफोड र आगजनीमा उत्रिएको अवस्थामा प्रहरी टुलुटुलु हेरेर बस्दैन,’ परिसरका एक अधिकृतले भने, ‘मंगलबार सुरक्षाकर्मीको उपस्थिति बाक्लो हुन्छ ।’
भृकुटीमण्डप आसपासमै १८ सयभन्दा बढी सुरक्षाकर्मी खटाउने तयारी छ । प्रदर्शनकारी अराजक भए प्रहरीले आदेश कुरेर नबस्ने ती अधिकृतले बताए ।
प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सादा पोशाकका प्रहरीको विशेष टोली परिचालन गर्ने गरी तयारी गरिएको छ ।
प्रदर्शन अराजक नहोस् भनेर प्रहरी अधिकृतहरूले राप्रपाका नेताहरूसँग समन्वयको प्रयास गरिरहेका छन् । चैत १२ गते बसेको राप्रपाको मूल आन्दोलन समिति बैठकले चैत २६ मा काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका माग राख्दै आएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको ‘राज्य आतंक’लाई लिएर प्रदर्शनमा विरोध जनाउने बताए। उनले देशमा राजतन्त्रको विकल्प नहुने समेत बताए। ‘प्रदर्शन शान्तिपूर्ण हुन्छ। करिब १२ हजार जना सहभागी हुने अनुमान गरेका छौं’, लिङ्देनले भने ।
राजावादीको तर्फबाट राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले प्रेस विज्ञप्ति जारी गर्दै राप्रपाको प्रदर्शनलाई समर्थन रहेको जनाएका छन् ।
उनले राष्ट्रिय झण्डासहित शान्तिपूर्ण रूपमा प्रदर्शनमा सहभागिता जनाउन आह्वान गरेका छन् ।