३१ असार २०८३, बुधबार

सिटौला परिवारको आश : केपी ओलीले चुनाव जिताउँछन्

मतदाता भन्छन्, सिटौलाले केही गरेनन्
मंसिर १२, २०७४
सिटौला परिवारको आश : केपी ओलीले चुनाव जिताउँछन्

चन्द्रगढी, (झापा), १२ मंसिर– झापा सदरमुकाम रहेको भद्रपुरको चन्द्रगढी चोकबाट करिब ५०० मिटर पश्चिम हिँड्दा एक घर देखिन्छ, सेतो रङको । संभवत ५–७ वर्ष अगाडि लगाएको सेतो रङ पनि खुलिसकेको छ । मुश्किकले ३ फुट अग्लो पुरानो इटाको पर्खालले घेरिएको दुईतले यो घर वरपरका अरु घरहरुजस्तै सामान्य देखिन्छ । तर यसको परिचय भने विशेष छ । 

स्थानीयहरुले यसलाई ‘नेताजीको निवास’ भन्छन् । नेताजी अर्थात् कृष्ण सिटौला । 

घरमा सुरक्षाकर्मीको पहरा भएपनि गेट भने छैन । लोकान्तरकर्मी पुग्दा घर सुनसान थियो । बाहिर सुरक्षाकर्मीको एक र निजी नम्बरप्लेटको अर्को खाली गाडी पार्किङ गरिएका थिए । काठको एक र निलो रङको प्लाटिस्कको अर्को कुर्सी घर अगाडि कसैको प्रतिक्षा गरिरहेका जस्ता देखिन्थे ।

सिटौलाको घर छिर्ने बाटो छेक्ने गरी छेउमै एक अर्को घर छ, पहेँलो रङ लगाएको । घरको सटरमा एक सानो किराना पसल पनि छ ।  

‘पसलमा को हुनुहुन्छ ?’

‘किन चुरोट चाहियो ?’ लोकान्तरकर्मीको आवाज सुनेर एक महिला बोलिन् । 

उनी पसलकी साहुनी थिइन् । 

‘तपाईं चुरोट मात्रै बेच्नुहुन्छ र ? मलाई त फ्रुटी चाहिएको थियो !’

‘फ्रुटी पनि छ,’ साहुनीले भित्रबाट रियल जुसको बट्टा दिइन् । 

‘दिदी यो नेताजी (कृष्ण सिटौला)को निवास हैन र ?’ 

‘हो तर उहाँ त हुनुहुन्न । भोट माग्न जानुभा’छ ।’

‘कहाँबाट आउनुभा होला ? केही काम थियो कि ?’ पसल भएको घर छेउबाट अर्की महिला बोलिन् । 

हरियो रङमा रातो र खैरो बुट्टा भरिएको कुर्ता लगाएकी ती महिला ‘नेताजी’ कृष्ण सिटौलाकी भाइबुहारी रहिछन् । उनले आफ्नो नाम भने बताउन चाहिनन् ।

‘दाई (कृष्ण सिटौला)लाई चुनाव जित्न सजिलै त छैन । तरपनि संभावना धेरै छ,’ चुनावी कुरा गर्दा ती महिलाले भनिन् । 

एमाले, माओवादी र राप्रपाको गठवन्धन भएर पनि एमाले र माओवादीका कार्यकर्ताले आफ्नो जेठाजू (सिटौला)लाई मतदान गर्ने उनको विश्वास थियो । परिवारका अन्य सदस्य र स्वयं कृष्ण सिटौलालाई त्यस्तो विश्वास रहेको पनि उनले खुलाइन् । 

‘जसका विरुद्ध यत्रो आन्दोलन गरियो, युद्ध लडियो आज उसैलाई एमाले र माओवादीले कसरी भोट हाल्लान् ?’ प्रतिप्रश्न गर्दै सिटौलाकी भाइबुहारीले सुनाइन्, ‘राष्ट्रिय पहिचान बनाएको नेतालाई छाडेर जनताले पनि अरुलाई भोट हाल्दैनन् ।’

कुराकानीकै क्रममा त्यहाँ एक पुरुष पनि थपिए । महिलालाई शीर निहुराएर नमस्कार गरेका ती पुरुष सिटौला परिवारका ज्वाँई रहेछन् । नाम डिल्लीराम मैनाली । 

एमाले नेता राधाकृष्ण मैनाली र मालेका सिपी मैनाली नाताले दाई पर्ने बताउने उनले एमाले अध्यक्ष केपी ओलीले पनि आफ्ना ससुरा (कृष्ण सिटौला)लाई चुनाव जिताउन सहयोग गर्ने रोचक कुरा सुनाए । 

‘एमालेले आफ्नो उम्मेदवार नउठाएर ससुरा (सिटौला)लाई सहयोग गरेको भन्ने कुरा एमालेका जिल्लास्तरका नेताले नै सुनाउँछन्,’ उनले भने, ‘ओलीलाई राष्ट्रिय राजनीतिमा पनि राप्रपाको लिङ्देनभन्दा सिटौला नै बढी चाहिने हो ।’

गठवन्धन गरेर लिङ्देनलाई समर्थन गरेको घोषणा गरे पनि भित्री रुपमा ओलीले सिटौलालाई सघाउने परिवारका सदस्यको आश छ । 

भद्रपुरमा भेटिएका केही एमाले नेताले पनि अनौपचारिक रुपमा सिटौला परिवारको भनाइमा समर्थन जनाए । यद्यपि झापा–५ का उम्मेदवार आफ्ना अध्यक्ष ओलीको सजिलोका लागि आफूहरुले राप्रपाका उम्मेदवारलाई समर्थन गरेको उनीहरुको भनाइ थियो । 

एमाले, माओवादी र राप्रपाको तीन दलीय गठवन्धन रहेको झापा क्षेत्रनम्बर ३ मा कृष्ण सिटौला कांग्रेसका ‘एक्लो अर्जुन’ बनेर चुनावी मैदानमा छन् । एमाले, माओवादी र राप्रपाको गठवन्धनबाट राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन सिटौलासँग चुनावी प्रतिस्पर्धामा छन् । 

मतदाता भन्छन्, सिटौलाले केही गरेनन्

सिटौला गत (२०७० सालको) संविधान सभा निर्वाचनमा झापा–३ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेको भनेर त्यतिबेला झापामा सिटौलाको अर्कै लोकप्रियता थियो । मतदाताको अपेक्षा थियो संविधान निर्माणसँगै विकास निर्माणमा पनि सिटौलाले महत्वपूर्ण भूमिका निर्वाह गर्लान् । संविधान निर्माणमा सिटौलाको ‘योगदान’ रहे पनि विकास निर्माणमा भने उनले केही नगरेको यहाँका मतदाताको गुनासो छ । 

‘उहाँले आफ्नो घर अगाडिको सडक मात्रै पटक–पटक पीच गराउनुहुन्छ । तर अन्यत्र ध्यानै दिनुभएको छैन,’ सिटौलाको घर छेउमै पसल सञ्चालन गरिरहेकी सुवर्णा राईले भनिन्, ‘यस पटक पनि त्यस्तै हुने त होला ।’

झापा–३ कै अर्की मतदाता चन्द्रा राई पनि सिटौलाले केही काम नगरेको गुनासो गर्छिन् । सडक पीच गर्ने भनेर भोट मागे पनि सिटौला जिते पछि आफ्नो गाउँमा नफर्केको उनको भनाइ छ । 

‘बाटो–घाटो बनाइदिन्छौं । खेती किसानी गर्न सजिलो बनाउँछौं । मलको व्यवस्था गर्छौं भनेर भोट माग्नुभएको थियो,’ राईले भनिन्, ‘तर अहिले सम्म न त राम्रो बाटो बनेको छ । न त खेती किसानी गर्न नै सजिलो भएको छ ।’   
 

salt training

कमेन्ट गर्नुहोस्