
ई–सेवा प्रयोगकर्ताको खाताबाट रकम स्क्याम गरेको आरोपमा बुधबार पक्राउ परेका २२ वर्षीय राहुल बुढा २ भारतीय स्क्यामरको प्रलोभनमा पर्दा फसेको खुलेको छ ।
उनका बुवाले भारतमा सेक्युरिटी गार्डको रूपमा काम गर्दै आएका छन् । भारतीय स्क्यामरहरूले बुढाका बुवालाई ‘तपाईंको छोरा काठमाडौंमा इन्जिनीयरिङ पढ्दै रहेछ, हामीले काठमाडौंमा एउटा कम्पनी दर्ता गरेर काम गर्न लागेका छौं, मासिक २० हजार तलब दिन्छौं,’ भनेपछि बुढा भारतीय स्क्यामरसँग जोडिएको खुलेको छ ।
बुढालाई शुरूमा ‘अनलाइन गेम बनाएर बिक्री गर्ने कम्पनी हो’ भनेर स्क्यामरहरूले काम गर्न राजी गराए । बैंकमा खाता खोल्न लगाए । दुई भारतीय स्क्यामर र बुढाको नाममा संयुक्त रूपमा ई–सेवामा मर्चेन्ट खाता खोलियो । तर, त्यसको सबै एक्सेस भने भारतीयहरूले नै लिएका थिए । ई–सेवाको मर्चेन्ट खातामा पैसा आउँथ्यो । तुरुन्तै अन्तै ट्रान्सफर हुन्थ्यो । त्यसलाई बुढाले खासै ध्यान दिएनन् । उनी मासिक तलबमै रमाइरहे ।
यहीबीचमा बुढाकै नाममा भारतीय स्क्यामरले कम्पनी दर्ता गर्न लगाएका थिए । बागमती प्रदेश सरकारअन्तर्गत रहेको उद्योग तथा वाणिज्य कार्यालयमा बुढाको नाममा पशुपति ग्लोबल इन्नोभेसन प्रालि नामको कम्पनी दर्ता भयो ।
बुढालाई भारतीय नागरिकले कम्पनी दर्ता गर्दा अनलाइन गेम बनाउने र बिक्री गर्ने उद्देश्य रहेको बताएका थिए । कम्पनीले ३० वटा अडियो/भिडियो सामग्री उत्पादन गर्ने उद्देश्य राखेको थियो । प्रहरी अनुसन्धानमा हालसम्म एउटा गेमिङ भिडियो बनाएर बिक्री खुलेको छ ।
स्थिर पुँजी २ लाख र चालु पुँजी ८ लाख लगानी गरी २ जना कामदार राखेर वार्षिक आम्दानी १० लाख हुने लक्ष्य लिएको यो कम्पनी कागजमा मात्रै सीमित देखिएको छ । यसको कुनै कार्यालय सञ्चालनमा समेत छैन । यहीबीचमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी पर्यो ।



‘एटी अलर्ट’ भन्दै मोबाइलमा आएको म्यासेज अनुसार सर्वसाधरणले ई–सेवामा खोलेर पासवर्ड हाल्नेबित्तिकै खातामा भएको सबै रकम गायब भएपछि पीडितहरू अनुसन्धान कार्यालय पुगे ।
प्रहरीले अनुसन्धान थाल्यो । बुढाको संलग्नता खुल्यो । उनी पक्राउ परे । पक्राउ गरेर ल्याएपछि बुढालाई ‘तिमीसहितको नाममा ई–सेवामा खोलिएको मर्चेन्ट खातामा १ करोड २ लाख बराबरको रकम ट्रान्जेक्सन भएको छ, पैसा खै ?’ भनेर सोध्यो । बुढा छाँगाबाट खसेजस्तै भए । उनलाई भारतीय स्क्यामरले मर्चेन्ट खाताको एक्सेस दिएका थिएनन् । उनी मासिक तलब मात्रै बुझ्थे ।
बुढालाई पक्राउ गरेपछि उनकी दिदी पनि अनुसन्धान कार्यालयमा पुगेकी थिइन् । भाइले कम्पनीमा काम गरेको तर, यस्तो स्क्यामरको धन्दा होला भन्ने आफूलाई जानकारी नभएको बताइन् । तर, अनलाइन गेम बनाएर बिक्री गर्ने कम्पनी रहेको भनेर भाइले ई–सेवामा मर्चेन्ट खाता खोलेको बारे आफूलाई थाहा भएको बताइन् । स्क्यामरले बुढाकै नाममा बैंकमा खाता खोल्न लगाएर एटीएम कार्ड भने आफूसँगै राखेका थिए । मर्चेन्ट खातामा आएको रकम स्क्यामरहरूले एटीएममार्फत नै झिकेको हुन सक्ने प्रहरीको आशंका छ ।
प्रहरीले यही अप्रिल १ देखि १३ सम्मको मात्रै तथ्यांक केलाउँदा ४ हजार २ सय जना सर्वसाधारणको रकम ई–सेवाको खाताबाट चोरी देखिन्छ ।
‘बुढालाई भारतीय स्क्यामरले उपयोग गरेको पाइएको छ,’ अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले लोकान्तरसँग भने, ‘फरार भारतीय स्क्यामरको खोजी कार्य भइरहेको छ ।’
उनले मोबाइलमा आएको अनावश्यक म्यासेज नखोल्न सर्वसाधारणलाई अनुरोध गरेका छन् ।
पीडितले अनुसन्धान कार्यालयमा दिएको उजुरीमा पनि उनीहरूलाई शुरूमा ‘तपाईंको ई–सेवाको खाता सस्पेन्ड’ हुन लागेको भन्दै चेतावनी पठाउने गरेको र लिंक क्लीक गरेर हेर्दा खातामा रहेको रकम सबै चोरी हुने गरेको उल्लेख गरेका छन् ।