०६ साउन २०८३, बुधबार
पहलगाम घटनामा न्यौपाने परिवारको दु:खान्त

छोरा सुदीप कश्मीरमा मारिँदा शिक्षक आन्दोलनका लागि काठमाडौंमा थिए ध्रुव

बैशाख १०, २०८२
काठमाडौं
छोरा सुदीप कश्मीरमा मारिँदा शिक्षक आन्दोलनका लागि काठमाडौंमा थिए ध्रुव

रुपन्देहीको बुटवल उपमहानगरपालिका–१४ बेलभरियास्थित न्यौपाने परिवारमा मंगलबार ठूलो बज्रपात पर्‍यो । 

भारतको जम्मू-कश्मीरको पहलगाममा आतंकवादी समूहले गरेको आक्रमणमा बेलभरियाका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएपछि यतिबेला बेलभरिया शोकमा डुबेको छ । 

२७ वर्षीय सुदीप कलेजको बिदा पारेर आमा र अरु नातेदारसहित कश्भीर घुम्न गएका थिए भने, बुवा ध्रुव न्यौपाने काठमाडौंमा जारी शिक्षक आन्दोलनमा सहभागी थिए ।

काठमाडौंमा शिक्षक हकहित र अधिकारका लागि ध्रुव लडिरहँदा कश्मीरमा छोरा सुदीप आतंकवादीको आक्रमणमा अस्ताए । ध्रुव बुटवल–१९ स्थित मोतीपुर माध्यमिक विद्यालयका प्रावि तहका स्थायी शिक्षक हुन् । 

घटनामा सुदीपकी आमा, बहिनी र ज्वाइँ भने भागेर बाँच्न सफल भए । भाग्ने क्रममा आमा सामान्य घाइते भएकी छन् ।  

छोरा आफन्तसहित भारत घुम्न गएको ध्रुवलाई थाहा नभएको सोही विद्यालयका सहप्राचार्य भरत अधिकारीले जानकारी दिए । घटनाको खबर पाउने बित्तिकै ध्रुव अर्धबेहोस भए । काठमाडौंबाट फर्किएका उनी बुधबार बेलुका बेलभरिया पुगेका छन् । 

परिवारका एक्ला छोरा सुदीप धरान बसेर पढिरहेका थिए । उनले जनस्वास्थ्यमा स्नातक अध्ययन गरिसकेका थिए ।

उनीहरू शनिबार बेलुका बुटवलबाट दिल्लीका लागि छुट्ने नेपाल-भारत मैत्री बस सेवाको लु २ ख ६६३४ नम्बर बसमा इँटाभट्टीबाट टिकट काटेर चढेका थिए । दिल्लीसम्म बसमा गएपछि त्यहाँबाट उनीहरू जहाजमा कश्मीर पुगे । 

यो पनि पढ्नुहोस्- आमा र दिदीभिनाजुसहित कश्मीर घुम्न पुगेका थिए बुटवलका सुदीप, धर्म सोधेर गोली प्रहार

उनीहरू पहलगाममा पुगेर घुमफिर गरिरहेकै अवस्थामा बन्दुकधारी आतंकवादीहरूले मंगलबार दिउँसो एक्कासी गोली चलाए । घटनामा सुदीपको ज्यान गएकोबारे आफन्तले त्यहीँबाट म्यासेन्जरमा नेपालमा रहेका नातेदार बुटवल-१४ का वडाध्यक्ष दधिराम न्यौपानेलाई जानकारी गराएका थिए ।

‘हिउँ खेल्ने ठाउँमा एक्कासी आएर बन्दुकधारीले कुन धार्मिक समूहको हो ? भन्दै सोधेर गोली हानेपछि सुदीपको ज्यान गएको हो भन्ने छ, धेरै कुरा थाहा भएन’, वडाध्यक्ष न्यौपानेले भने । 

सुदीपका आमा–बुवाको सम्बन्ध विच्छेद भएपछि उनी बुटवल–११ कालिकानगरमा बस्दै आएका थिए । त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुर्ख्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ हो ।  

सुदीपको घर ।

उनीहरू २०२४ सालमै बसाइँ सरेर बुटवल आएको बेलभरियाका थानेश्वर पौडेलले बताए । ‘घुम्न गएका निर्दोष व्यक्तिको ज्यान गएपछि बेलभरिया गाउँ शोकमग्न भएको छ’, पौडेलले भने । सुदीपको सवारी लाइसेन्स समेत घटनास्थलमा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

सुदीपको ‘हत्या’ घटनापछि बुटवल उपमहानगरपालिकाले घोर भर्त्सना व्यक्त गरेको छ । उपहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुधबार विज्ञप्ति जारी गर्दै घटनाबाट नगरपालिका स्तब्ध भएको उल्लेख गरेका छन् ।

घटनापछि सुदीपका मामा बुटवल-१२ निवासी महाशर्मा पाण्डेसँग नियमित सम्पर्कमा रहेको र आवश्यक सहजीकरणका लागि पहल गरिरहेको नगर प्रमुख पाण्डेयले बताएका छन् ।

‘आतंकवादी हमलामा भ्रमणका लागि गएका निर्दोष नागरिकहरूको ज्यान गएकोमा हामीलाई अत्यन्त दुःख लागेको छ र यो घटनाप्रति हामी घोर भर्त्सना गर्दछौं’, नगर प्रमुख पाण्डेले भनेका छन्, ‘घटनामा परी ज्यान गुमाउनेका परिवारप्रति हामी गहिरो समवेदना व्यक्त गर्दछौं र घाइतेहरूको शीघ्र तथा पूर्ण स्वास्थ्यलाभको हार्दिक कामना गर्दछौं । साथै, सो घटनामा ज्यान गुमाउने सुदीपको परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था दिलाउन तथा आक्रमणमा परी घाइते भएकाहरूको उपचार र राहतको व्यवस्था गर्नका लागि नेपाल सरकारसँग माग गर्दछौं ।’

हमलाविरुद्ध एकजुट दुई देशका प्रधानमन्त्रीको प्रतिबद्धता
घटनापछि बुधबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्दै जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको विरुद्धमा एकजुट हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।

भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै दुवै नेताबीच आतंकवादविरुद्ध एकजुट हुने सहमति भएको जनाएका छन् ।

भारतीय विदेश प्रवक्ता जैसवालका अनुसार नेपालका प्रधानमन्त्री ओलीले फोन संवादका क्रममा जम्मू-कश्मीरको पहलगामस्थित बैसारन मिडोजमा भएको आतंकवादी हमलाको निन्दा गरेका थिए ।

फोन संवादका क्रममा भारतीय प्रधानमन्त्री मोदीले उक्त हमलामा नेपाली नागरिक सुदीपको मृत्यु भएकोमा दु:ख व्यक्त गरे । 

‘प्रधानमन्त्री मोदीले यो दु:खद् घटनाका दोषीहरूलाई कडा कारबाही गरिने र आतंकवादविरुद्धको लडाइँमा भारत अडिग रहेको कुरा स्पष्ट पार्नुभयो’, जैसवालले लेखेका छन् । 

यो हमलालाई जम्मू-कश्मीरमा हालसालैका वर्षमा भएको सबैभन्दा घातक हमलामध्ये एक मानिएको छ । हमलाको जिम्मेवारी लश्कर-ए-ताइबासँग सम्बद्ध ‘द रेसिस्टेन्स फ्रन्ट’ले लिएको छ।

आतंकवादी हमलापछि प्रधानमन्त्री मोदीले साउदी अरबको भ्रमण छोट्याएर तत्काल भारत फर्किएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्