
भारतको जम्मू-कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारतले पाकिस्तानसँगको सिन्धु जल सन्धि निलम्बन गरेको छ । बुधबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षासम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस)को बैठकले सिन्धु जल सन्धि निलम्बन गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
यसका साथै अटारी सीमा पनि बन्द गर्ने निर्णय गरिएको समाचारमा उल्लेख छ । यो निर्णय पाकिस्तानले सीमापार आतंकवादलाई विश्वसनीय रूपमा समर्थन गर्न बन्द नगरेसम्म लागू रहनेछ ।
समाचारअनुसार अब पाकिस्तानी नागरिकहरूले सार्क भिसा छुट योजनाअन्तर्गत जारी गरिएको भिसाको आधारमा भारत यात्रा गर्न पाउने छैनन् । पाकिस्तानी नागरिकहरूलाई पहिले जारी गरिएका भिसाहरू रद्द मानिनेछ । भारतमा रहेका सबै पाकिस्तानी नागरिकहरूले ४८ घण्टाभित्र भारत छोड्नुपर्नेछ । भारत आएका पाकिस्तानी नागरिकहरूलाई यो बाटो भएर फर्कन मे १ सम्मको समय दिइएको छ।
नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका रक्षा/सैन्य, नौसेना र वायुसेना सल्लाहकारहरूलाई अवाञ्छित व्यक्ति घोषित गरिएको छ । उनलाई भारत छोड्न एक हप्ताको समय दिइएको छ । भारतले इस्लामाबादस्थित आफ्नो उच्चायोगबाट रक्षा/सैन्य, नौसेना र वायुसेना सल्लाहकारहरूलाई पनि फिर्ता बोलाइरहेको छ । दुवै उच्चायोगहरूमा यी पदहरू खारेज भएको मानिने समाचारमा उल्लेख छ ।
सिन्धु नदीको इलाका करिब ११ लाख दुई हजार किलोमिटर क्षेत्रमा फैलिएको छ । यो इलाका पाकिस्तानमा ४७ प्रतिशत र भारतमा ३९ प्रतिशत छ । चीनमा ८ र अफगानिस्तानमा ६ प्रतिशत ओगटेको छ ।
सिन्धु नदी भारतको उत्तरमा हिमालय पहाडबाट शूर भएर जम्मू-कश्मीर, हिमाचल, पञ्जाब, राजथान र हरियाणा प्रदेश हुँदै पाकिस्तानको पंजाब, सिन्ध, बलेचिस्तानको पार गरेर अरब सागरमा गएर सकिन्छ ।
सीसीएसले सुरक्षा बलहरूलाई अत्यन्त सतर्क रहन भनेको छ । मंगलबार भएको पहलगाम आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । बैसरण उपत्यकामा ठूलो संख्यामा पर्यटकहरू उपस्थित रहेको बेला अप्रिल २२ मा आक्रमण भएको थियो ।
भारतको कडा कदमपछि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाएका छन् । पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री इशाक दारले भारत सरकारले जारी गरेको विज्ञप्तिको जवाफ दिन बिहीबार बिहान राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाइएको बताएका छन् ।