
जापानको टोकियोबाट नेपालमा प्रदर्शनका लागि ल्याइएको विश्वकै लामो दाबी गरिएको बुद्धको आकृति ‘विश्व शान्ति मण्डला’ व्यक्तिको कब्जाबाट प्रहरीले १० वर्षपछि बरामद गरेको छ ।
नेपाल बौद्ध धर्म संरक्षण समितिका अध्यक्ष सूर्यबहादुर थकालीले सामाखुसीस्थित आफ्नो घरमा लुकाएर राखेको अवस्थामा सो मण्डला प्रहरीले बरामद गरेको हो ।
१६ देशका १० हजारभन्दा बढी स्वयंसेवकले ३ वर्ष लगाएर बनाएको मण्डला नेपाल ल्याई नेपाल–जापान ६०औं द्वौत्य सम्बन्धको अवसरमा सन् २०१६ नोभेम्बरमा काठमाडौंको रंगशालामा प्रदर्शन गरिएको थियो । जापानी नागरिक यासुताजा कातागिरीको पहलमा नेपाल ल्याइएको उक्त मण्डला रंगशालामा प्रदर्शनलगत्तै थकालीले आफ्नो घरमा लगेका थिए ।
मण्डला थकालीको कब्जाबाट मुक्त गर्न जाप्निज नागरिक कातागिरी जिल्ला प्रशासन कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र प्रहरीका अड्डामा पटक–पटक धाए । तर, थकाली सहजै दिन तयार भएनन् । त्यसपछि कातागिरीले २०७४ माघमा जापानस्थित तत्कालीन नेपाली राजदूत प्रतिभा राणालाई सम्बोधन गरेर मण्डला जापान फर्कादिन पत्र लेखे ।
दूतावासले नेपालस्थित पर्यटन मन्त्रालयलाई उक्त पत्र ‘फरवार्ड’ गर्दै मण्डालको विषयमा भएको के हो भनेर सोध्यो । मन्त्रालयले थकालीलाई मण्डलाको विषयमा के भएको हो भनी प्रश्न गरेर पत्र लेख्यो । थकालीले उक्त मण्डला आफ्नो भएको दाबी गरे ।
जाप्निज नागरिक कातागिरी केही नलागेपछि उक्त मण्डला नेपालकै संरक्षणमा दिन राजी भए । उनले मन्त्रालयमा पुगी मण्डला नेपालकै लुम्बिनी क्षेत्र विकास कोषको संरक्षणमा व्यवस्थापन गर्न दिने निष्कर्ष सुनाए । मन्त्रालयले गत वर्ष असार ४ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै विश्व शान्ति मण्डला नेपाल सरकार मातहतको संरक्षणमा राख्न आग्रह गर्यो ।
प्रशासन कार्यालयले जाप्निज नागरिक कातागिरी र थकालीलाई डाकेर छलफल गरायो । छलफलबाट दुवैले नेपाल सरकारको संरक्षणमा राख्ने सहमति गरे । तर, थकालीले मण्डला सरकारलाई बुझाउन आनाकानी गरिरहे ।
२०८१ असार १० मा कातागिरीले जिल्ला प्रशासन कार्यालयलाई सम्बोधन गरेर अर्को पत्र लेखे । पत्रमा मण्डला लुम्बिनी क्षेत्र विकास कोषको संरक्षणमा राख्न अनुरोध गरे । थकालीले पनि एउटै मितिमा प्रशासनलाई पत्र लेखी नेपाल सरकारकै संरक्षणमा राखिदिन आग्रह गरे ।

थकालीकै पत्रका आधारमा उनलाई प्रशासन कार्यालय काठमाडौंले पटक–पटक छलफलका लागि बोलायो । उनी गएनन् । बरु उल्टै २०८१ चैतमा उच्च अदालत पाटनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंविरुद्ध निषेधाज्ञाको निवेदन हाले । अदालतले अन्तरिम आदेश दिएन । त्यसपछि थकाली सम्पर्कमा नआएपछि प्रहरीले खोजी गर्यो ।

घरको लोकेसन पत्ता लागेपछि सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंले थकालीको सामाखुसीस्थित घरमा लुकाएर राखेको अवस्थामा विश्व शान्ति मण्डला बरामद गरेर ल्याएको छ । अब प्रहरीले उक्त मण्डला प्रक्रिया पूरा गरेर लुम्बिनी कोषलाई बुझाउने तयारी गरेको छ ।
परिसरका प्रमुख एसएसपी विश्व अधिकारीले नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा, इज्जत र छविमा जोडिएको विश्व शान्ति मण्डला थकालीले कब्जामा राखेको देखिएपछि बरामद गरिएको बताए ।
‘जाप्निज नागरिक कातागिरीले पटक–पटक प्रयास गर्दा पनि थकालीले मण्डला बुझाउन आनाकानी गरिरहे, हामीले सबै प्रक्रिया पूरा गरेर सोमबार बरामद गर्यौं,’ अधिकारीले लोकान्तरसँग भने, ‘अब लुम्बनी कोषलाई संरक्षण एवं व्यवस्थापनका लागि हस्तान्तरण गर्छौं ।’



के हो ‘विश्व शान्ति मण्डला’ ?
विश्वको सबैभन्दा ठूलो दाबी गरिएको यो मण्डला बौद्ध धर्म र यसका अनुयायीहरूसँग जोडिएको ग्रन्थचित्र हो । सन् १९९४ मा जापानी नागरिक कितामुराको सोचमा मण्डला निर्माण भएको थियो । सूर्यबहादुर थकाली त्यतिबेला कितामुराको घरमा भाडामा बस्न पुगेका बेला मण्डला बनाउने योजना बनेको थियो ।
कितामुराका साथी कातागिरीसँग थकाली जोडिए । कातागिरी थाकालीसँगै नेपाल आए । दुवैले मण्डला बनाउन करिब ५ वर्षसम्म गृहकार्य गरे । कातागिरीले विश्वकै ठूलो मण्डला बनाउन प्राध्यापक र प्राविधिकसहित एउटा संस्था बनाए ।
आफैं अध्यक्ष बनेर ननप्रोफिट अर्गनाइजेसन (एनपीओ) एम २१ नेटवर्क टोकियो (मण्डला २१ सेन्चुरी) नामक संस्था स्थापना भयो । कातागिरीले सन् १९९९ मा लामो गृहकार्यपछि विश्वकै ठूलो मण्डला बनाउने अभियान छेडे । १ हजार वर्षसम्म नबिग्रिने मण्डला बनाउन १६ देशका १० हजारभन्दा बढी मानिस परिचालित भए ।
लगातार ३ वर्षसम्म १६ देशका १० हजारभन्दा बढीको जनसहभागितामा विश्वकै सबैभन्दा ठूलो मण्डला तयार भयो । यसको तौल झण्डै २ टन छ । ८१ वटा टुक्रा जोडेर यो मण्डला बनाइएको छ । ८१ वटा टुक्रा बनाउन ८१ जना नै संयोजक तोकिएको थियो । थकालीले जम्मा २ वटा टुक्रा बनाएका थिए ।
थकालीको कब्जामा रहेको मण्डला बाहिर ल्याउन भूमिका खेलेका अभियन्ता तिलक बस्नेतका अनुसार मण्डलाको ७५ प्रतिशत जापानमै निर्माण भएको थियो । बाँकी २५ प्रतिशत अन्य १५ मुलुकमा तयार गरिएको थियो ।
बस्नेतका अनुसार मण्डला बनाउनुमा मुख्य २ उद्देश्य राखेको देखिन्छ । पहिलो, विश्वमा युद्धको अन्त्य भई शान्ति छाओस् । दोस्रो, मण्डला विश्वव्यापी प्रदर्शन गरी त्यसबाट संकलन भएको रकम एसियाली मुलुकका बालबालिकालाई शैक्षिक सहयोग गर्न सकियोस् ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा भेटिएका बस्नेतले लोकान्तरसँग भने, ‘थकालीले भन्सार छुटमा मण्डला जापानबाट नेपाल ल्याए, रंगशालामा भव्य प्रदर्शन पनि भयो, तर त्यसपछि कब्जामा राखे ।’
जापानी नागरिक कातागिरीले थकालीबाट मण्डला फिर्ता ल्याउन धेरै प्रयास गरेको बस्नेत बताउँछन् ।
बस्नेतका अनुसार जापानमै निर्माण भएको मण्डला थकालीकै कारण सन् २०२० को टोकियो ओलम्पिकमा पनि प्रदर्शन गर्न सम्भव भएन ।
अमेरिका, मंगोलिया, भारतलगायत मुलुकमा प्रदर्शन भएको यो मण्डला श्रीलंका, म्यानमारलगायतका देशबाट प्रदर्शनका लागि माग भएपनि थकालीका कारण सम्भव नभएको बस्नेत बताउँछन् ।