
संगठितरूपमा हुने ‘हुन्डी’ कारोबार काठमाडौंमा फेरि सल्बलाउन थालेको छ । तीन दिनयता प्रहरीले झण्डै डेढ करोड रुपैयाँसहित हुन्डी कारोबारीलाई पक्राउ गरेको छ ।
गत वैशाख २१ गते अपराह्न ४ बजे काठमाडौं महानगरपालिका– ९ पिंगलास्थानस्थित पशुपति भिजनअगाडि मोटरसाइकलमा सवार चारजनाबाट प्रहरीले ९५ लाख १७ लाख ५ सय रुपैयाँ बरामद गर्यो ।

तारकेश्वर नगरपालिकास्थित फेदी घर भएका समुद्र जमकट्टेल, सप्तरीस्थित सप्तकोशी नगरपालिकाका गणेश राई, लमजुङस्थित दोर्दी गाउँपालिकाका सन्तोष गुरुङ र सोही ठाउँका सन्तोष घिमिरेले झोलामा राखेर पैसा लैजाँदै गरेको सूचना पाएपछि प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले उक्त रकम आफ्नो ‘क्लाइन्ट’लाई बुझाउँदै थिए ।
वैशाख २३ मा साँझ सवा ६ बजे काठमाडौं महानगरपालिका– २४ स्थित विशालबजार कम्पनी लिमिटेडको भुइँतलाबाट प्रहरीले ४० लाख ३२ हजार ५ सय रुपैयाँसहित २ जनालाई नियन्त्रणमा लियो ।
उनीहरूले रुपैयाँको स्रोत खुलाउन नसकेपछि प्रहरीले उक्त रकम हुन्डीकै रहेको दाबी गर्दै अनुसन्धान थालेको छ ।
भारत कलकत्ताका सुरज दत्त र रुपन्देही देवदह नगरपालिकाका धर्मप्रसाद ढकालले उक्त रकम सुन कारोबारको सिलसिलामा बोकेको आशंका प्रहरीको छ । प्रहरीले उनीहरूबाट विभिन्न सहकारीको चेक समेत बरामद गरेको छ ।
गत चैत ३१ गते न्यूरोडबाट प्रहरीले हुन्डी कारोबारीबाट ९ लाख रुपैयाँ बरामद गरेको थियो । गोरखास्थित पालुङटार नगरपालिकाकी करिना देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएर रकमको स्रोत खुलाउन नसकेपछि अनुसन्धान थालेको थियो । प्रहरीले करिनासँग नगद ९ लाख र ६ लाख बराबरको रकम अंकित चेक बरामद गरेको थियो ।

चैतकै २० गते महाबौद्धबाट प्रहरीले तिब्बती नागरिक रिक्सी वाङजिमोलाई हुन्डीको रकम २० लाख ९२ हजारसहित पक्राउ गरेको थियो । प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले वाङजिमोलाई शंकास्पद रूपमा हिँडिरहेको देखेपछि अनुसन्धान गर्दा हुन्डीको रकम बोकेको देखेपछि पक्राउ गरेको थियो ।

प्रहरीयता प्रहरीले गरेको विभिन्न कारबाहीको तथ्यांक हेर्दा हुन्डीका झण्डै दुई करोड रुपैयाँ बरामद गरेको देखिन्छ । काठमाडौंका मुख्यबजार क्षेत्र न्युरोड, महाबौद्ध, असन, बौद्ध, चाबहिललगायत क्षेत्रमा हुन्डीको कारोबार हुँदै आएको प्रहरीसँग सूचना छ । हुन्डी कारोबारी संगठित रूपमा हुने हुँदा सितिमिति प्रहरी नियन्त्रणमा आउँदैनन् ।
काठमाडौंमा हुन्डी कारोबारी फेरि सल्बलाउन थालेका हुन् ? भन्ने प्रश्नमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्व अधिकारी भन्छन्, ‘हुन्डी कारोबारी सल्बलाएकै कारण प्रहरीले सूचना डेभलपमेन्ट गरेर उनीहरूमाथि सुक्ष्म निगरानी गरेर पक्राउ गरिएको हो ।’ अधिकारीले हुन्डीको सूचना पाउन त्यति सजिलो छैन । शंकास्पद व्यक्तिलाई निरन्तर निगरानी बढाएपछि मात्रै पत्ता लाग्ने गरेको एसएसपी अधिकारी बताउँछन् ।

प्रहरीका अनुसार विशेष गरी सुन तस्करी, कपडा तस्करी, मोबाइललगायत इलेक्ट्रोनिक डिभाइसको तस्करीमा हुन्डीमार्फत रकम भुक्तानी हुँदै आएका विभिन्न घटनाक्रमले देखाएका छन् । त्यस्तै, वैदेशिक रोजगारी गएका व्यक्तिले रेमिट्यान्समार्फत नेपाल पठाउने गरेको रकम पनि हुन्डीमार्फत भुक्तानी हुँदै आएको घटना यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुसन्धानले देखाएको छ । सीआईबीको अनुसन्धानबाट झण्डै ३ क्विन्टल सुन तस्करी गर्ने गिरोहले रेमिट्यान्सको रकमलाई समेत सुन तस्करीमा लगानी गर्दै आएको तथ्य खुलेको थियो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मोटरसाइकलको ब्रेक प्याडभित्र लुकाएर तस्करी भएको ६० किलो सुन तस्करी प्रकरणको दोस्रो चरणको अनुसन्धान गर्दा बारास्थित पशुपति ट्रेड कन्सर्नका सञ्चालक अरुणकुमार यादवलाई पक्राउ गरेको थियो । उनले पेवेल र सजिलो पे नामक अनलाइन भुक्तानीमार्फत रकम भुक्तानी गर्दै आएका थिए । यादवले एक वर्षमा १ अर्ब २० करोड ४२ लाख रुपैयाँ कारोबार गरेको देखिएको थियो । सीआईबीको अनुसन्धानबाट त्यतिबेला भौतिक नोटको आदानप्रदान गरेर हुने हुन्डी कारोबार अहिले डिजिटल्ली हुन थालेको तथ्य पत्ता लगाएको थियो ।