
नेकपा माओवादी केन्द्र, कोशी प्रदेश कमिटीका दुई समूह आमनेसामने भएका छन् । उनीहरू एकले अर्कालाई कारबाही गर्नेतर्फ अग्रसर देखिएका हुन् ।
माओवादी कोशी प्रदेश कमिटीका सचिवालय सदस्य मदन चुँडालले सामाजिक सञ्जाल फेसबूकमा ‘पूर्वतिर मुसाको चमत्कारिक अभियान’ भनेर लेखेका थिए । सुनसरी घर भएका चुँडाल अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'निकटका रूपमा चिनिन्छन् ।
चुँडालले सामाजिक सञ्जालमार्फत पार्टीका उपमहासचिव जनार्दन शर्मालाई लक्षित गरेर स्टाटस लेखेको प्रदेश कमिटीले ठहर गरेको थियो । चैत २७ गते बसेको प्रदेश कमिटीको सचिवालय बैठकले चुँडाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । ‘प्रदेश परिषद् बैठकबाट पारित अनुशासनसम्बन्धी कार्यविधिविपरीत प्रदेश सचिवालय सदस्य क. मदन चुँडालले सामाजिक सञ्जालमा पार्टी नेतृत्वप्रति गलत र भ्रामक प्रचार हुने गरी सामग्री सम्प्रेषण गर्नुभएकनले क. मदन चुँडाललाई लिखित स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ,’ माओवादी प्रदेश कमिटीले मातहतका संगठनलाई पठाएको सर्कुलरमा उल्लेख छ ।
चुँडालले भने आफूले स्पष्टीकरण नबुझाएको प्रतिक्रिया दिएका छन् । पूर्वतिर मुसाको चमत्कारी अभियानभन्दा कसलाई के भनेर स्पष्टीकरण दिने उनले प्रतिप्रश्न गरे । विम्बको रूपमा मुसा भनेको उनको भनाइ छ । ‘पाटीमा मुसा नाम गरेको कोही नेता भएको भए मात्रै मैले स्पष्टीकरण दिनुपर्ने हुन्थ्यो,' उनले भने ।
उनले सामाजिक सञ्जालमा राखेको स्टाटस भने अहिले हटाइसकेका छन् ।
'कोशी प्रदेश कमिटीले आधिकारिक मुसा भनेको उपमहासचिव जनार्दन शर्मा भन्ने पुष्टि गराए कि । मेरो पार्टीको उपमहासचिवको बदनाम हुने निर्णय गरेको देखिन्छ । मैले लेखेकाले चाहिँ साइबर क्राइमको मुद्दा पनि लाग्दैन,’ उनले थप स्पष्ट गर्दै भने ।
उपमहासचिवलाई प्रदेश कमिटीले मानमर्दन गरेको भनेर केन्द्रमा निवेदन हाल्ने तयारी गरिरहेको बताएका छन् ।
माओवादीको तराई-मधेश हुलाकी राजमार्ग लक्षित अभियान चलिरहेका बेला उपमहासचिव शर्मा भने कोशी केन्द्रित कार्यक्रममा थिए ।
शर्माले स्ववियु निर्वाचन जितेका अखिल क्रान्तिकारीका नेताहरूलाई शुभकामना तथा बधाई दिनेदेखि ताप्लेजुङमा पाथीभरा क्षेत्रमा निर्माण गर्न लागिएको केबलकारको विपक्षमा रहेका पहिचान पक्षधरहरूसँग भेटघाट तथा छलफलसमेत गरेका थिए ।
माओवादी कोशी प्रदेशका संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बो र पार्टी अध्यक्ष हर्कबहादुर नेम्वाङलगायतले ताप्लेजुङको मुक्कुम्लुङ संघर्ष समितिसँग भेट्ने वातावरण मिलाएका थिए । उनीहरू दुवै जना शर्मा निकटका नेता हुन् ।
सोही विषयलाई लक्षित गर्दै चुँडालले सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेखेका शर्मा पक्षका नेताहरूको दाबी छ ।
पछिल्लो समय कोशी प्रदेशमा प्रचण्ड र शर्माको पक्षमा गुटगत प्रतिस्पर्धा भइरहेको उदाहरणहरू प्रस्ट रूपमा देखिन थालेका छन् ।
शर्माको पक्षमा आङ्बोसहित केन्द्रीय सदस्य सुदन किराँती, माओवादी कोशीका अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो), केन्द्रीय सदस्यसमेत रहेका पूर्वमन्त्री शिवकुमार मण्डल रहेका छन् ।