
नेपाल टेलिकमले नेपालको प्रसिद्ध एवं सुन्दर पदयात्रा गन्तव्यको रूपमा परिचित लाङटाङ-क्यान्जिन पदमार्गमा सो क्षेत्रका बासिन्दा तथा पर्यटकलाई लक्षित गरी फोरजी मोबाइल सेवा सञ्चालन गरेको छ ।
काठमाडौंदेखि सबैभन्दा नजिकको हिमाली पदमार्गको रूपमा चिनिने यस क्षेत्रमा नेपाल टेलिकमको फोरजी (4G) मोबाइल सेवाले पर्यटकलाई यात्राका दौरानमा सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव आफ्ना प्रियजनसँग साटासाट गर्न सहयोग पुग्नेछ ।
समुद्री सतहबाट करिब ३८०० मिटरको उचाइमा अवस्थित क्यान्जिन उपत्यकामा नयाँ बीटीएस जडान गरेर नेपाल टेलिकमले उक्त क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने र स्याफ्रुबेशीबाट लगभग २ दिनको पैदलयात्रामा पुगिने मनमोहक पर्यटकीय स्थल क्यान्जिन उपत्यका स्वदेशी तथा विदेशी पर्यटकका लागि लोकप्रिय गन्तव्यस्थल हो ।
लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रमा पर्ने यस उपत्यकामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार भएसँगै यस क्षेत्रका स्थानीय बासिन्दा, घुम्न आउने पर्यटक तथा यस भेगका पर्यटन लगायत अन्य व्यवसायी समेत दूरसञ्चार सेवाबाट लाभान्वित हुने कम्पनीको विश्वास रहेको सहप्रवक्ता नविन कुमार मिश्रले जानकारी दिए ।