
विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने सशस्त्र प्रहरी बल नेपालका अधिकृत दन्त बहादुर छत्याल सशस्त्र प्रहरी नायव निरीक्षकमा पदोन्नति भएका छन्।
सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार, छत्याललाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट नायव निरीक्षकमा बढुवा गरिएको हो। सगरमाथा जस्तो चुनौतीपूर्ण शिखरमा सफलतापूर्वक चढेर साहसिक कार्य प्रस्तुत गरेवापत उनलाई बढुवा गरिएको थापाले जानकारी दिए।
छत्यालले २०८२ जेठ ४ गते बिहान ९:२० बजे सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए। यसअघि उनी सगरमाथा आरोहणका लागि २०८२ बैशाख १५ गते प्रस्थान गरेका थिए।
छत्यालको यो सफल आरोहणले सशस्त्र प्रहरी बल नेपालको गौरव बढाउनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली सुरक्षाकर्मीको क्षमताको परिचय दिएको छ।