०४ साउन २०८३, सोमबार

अञ्जला कोइराला जोडिएको सहकारी ठगी मुद्दाको सुनुवाइ तेस्रो पटक स्थगित

जेठ ८, २०८२
विराटनगर
अञ्जला कोइराला जोडिएको सहकारी ठगी मुद्दाको सुनुवाइ तेस्रो पटक स्थगित

सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला जोडिएको उमागौरी सहकारी ठगी सम्बन्धी मुद्दाको सुनुवाइ तेस्रो पटक पनि स्थगित भएको छ ।

उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासमा बिहीबार चढेको पेसी प्रतिवादीको कानून व्यवसायीले निवेदन दिएपछि स्थगित भएको हो । 

मोरङ जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले अञ्जलासहित ६ जना प्रतिवादीलाई थुनामा राखेर आदेश गरिनुपर्ने माग राख्दै ७३ नम्बरको निवेदन दिएका थिए ।  

११ वैशाखमा उच्च अदालत विराटनगरका न्यायाधीशद्वय श्रीधरा कुमारी पुडासैनी र केशवप्रसाद बास्तोलाको राय बाझियो । अञ्जलासहित ६ प्रतिवादीको हकमा दुई न्यायाधीशबीच थुनामा पठाउने कि नपठाउने भन्ने सम्बन्धमा होइन, धरौटी रकम बढाउने कि नबढाउने भन्ने विषयमा मात्र राय बाझियो । त्यसपछि तेस्रो न्यायाधीशको इजलासमा पेसी चढेको थियो । दुई पटकसम्म मुख्य न्यायाधीश नन्दको इजलासमा पेसी चढेपछि प्रतिवादीका कानून व्यवसायीले हटाउँदै आएका छन् ।

यसअघि न्यायाधीश केशवप्रसाद बास्तोलाले प्रतिवादीमध्येका रोशन राजवंशी, अञ्जला कोइराला, ज्योति बास्कोटा र सन्तलाल खवासको हकमा जनही १ करोड र अन्य प्रतिवादीहरू लक्ष्मीदेवी कार्की राजवंशी, सुमन लोहनी र मनोज कुमार सोनीको हकमा जनही २५ लाख रूपैयाँ धरौटी माग गर्ने राय पेस गरेका थिए ।

तर, न्यायाधीश श्रीधरा कुमारी पुडासैनीले जिल्ला अदालत मोरङले गरेको आदेशलाई सदर गर्ने राय दिइन् । न्यायाधीश बास्तोलाले सहकारीका अध्यक्ष शम्भु प्रसाद रौनियारलाई जिल्लाको आदेशलाई सदर गर्दै पुर्पक्षमा पठाएको हकमा भने सहमत भएका छन् ।

जिल्ला अदालतले अञ्जलालाई १० लाख, ज्योतीलाई ५ लाख, लक्ष्मी देवीलाई ५० हजार, सुमन लोहनीलाई २ लाख र मनोज कुमार सोनीलाई १ लाख रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।

सरकारी वकिलको कार्यालयले सहकारी ठगी प्रकरणमा अञ्जलासहित ६ जनालाई जिल्ला अदालत मोरङले गरेको आदेश बदर गरी थुनामै राखेर अनुसन्धान गर्न माग राख्दै उच्च अदालत विराटनगरमा ७३ नम्बर गरेको छ ।

मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमागौरी सहकारी संस्थाको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना गरी सहकारीको रकम अपचलन गरेको आरोपमा सहकारी ऐनअन्तर्गत मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो । तत्कालीन न्यायाधीश उद्धव प्रसाद भट्टराईको इजलासले पुस २४ गते कोइरालालाई १० लाख रूपैयाँ धरौटी बुझाएर छोड्न आदेश दिएको थियो ।

गत मंसिर २७ गते सहकारीको रकम हिनामिना प्रकरणमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर गरिएको थियो । अदालतले ३ पुसमा उनीसहित २५ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । 

सहकारी ठगी मुद्दामा सहकारी अध्यक्ष शम्भु प्रसाद रौनियार र धनपालथान ४ का पूर्ववडाअध्यक्ष रोशन राजवंशी पुर्पक्षका लागि कारागार चलान भएका छन् । अन्य धरौटीमा छुटेका छन् भने एक दर्जनभन्दा बढी अभियुक्त अझै फरार रहेका छन् ।

उमागौरी कृषि सहकारीमा ८ हजार ८ सय ४२ जना शेयर सदस्य थिए । शेयरबापत ३ करोड ८ लाख ९० हजार रकम रहेको थियो । सहकारीमा ७०७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रूपैयाँ ऋण परिचालन भएको उल्लेख छ । हाल सहकारी बन्द अवस्थामा रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्