०५ साउन २०८३, मंगलबार

पूँजीगत खर्च र राजस्व लक्ष्य हासिल गर्नेतर्फ लाग्न अर्थमन्त्रीको निर्देशन

साउन ४, २०८३
काठमाडौं
पूँजीगत खर्च र राजस्व लक्ष्य हासिल गर्नेतर्फ लाग्न अर्थमन्त्रीको निर्देशन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्दै पूँजीगत खर्च र राजस्व संकलनको लक्ष्य हासिल गर्न सबै मन्त्रालयका सचिवहरूलाई निर्देशन दिएका छन्।

सोमबार अर्थ मन्त्रालयमा आयोजित बजेट कार्यान्वयन योजनासम्बन्धी बैठकलाई सम्बोधन गर्दै उनले नयाँ बजेट पाँच वर्षे सरकारको आर्थिक मार्गचित्रको पहिलो चरण भएकाले यसको प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिन आग्रह गरे।

वाग्लेले विगतमा पूँजीगत खर्च र राजस्व संकलन दुवै निराशाजनक रहेको उल्लेख गर्दै चालु आर्थिक वर्षमा त्यसको पुनरावृत्ति हुन नहुने बताए। उनले कम्तीमा ८० प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने र १६ खर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिए।

‘गत आर्थिक वर्ष पूँजीगत खर्च करिब ४९ प्रतिशतमा सीमित रह्यो। राजस्व संकलन पनि करिब साढे १२ खर्ब रुपैयाँ मात्र भयो। नयाँ बजेटमा यस्तो अवस्था स्वीकार्य हुँदैन,’ उनले भने।

अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयनमा देखिने कानुनी वा व्यावहारिक समस्या खुलेर अर्थ मन्त्रालयसमक्ष राख्न र योजनाबद्ध रूपमा काम अघि बढाउन सचिवहरूलाई आग्रह गरे।

उनले बजेट कार्यान्वयनलाई सहज बनाउन गत आर्थिक वर्षदेखि रकमान्तर तथा अवण्डा बजेटको विस्तृतीकरण गर्ने अधिकार सम्बन्धित मन्त्रालयलाई प्रत्यायोजन  गरिएको उल्लेख गर्दै त्यसको प्रभावकारी सदुपयोग गर्न पनि निर्देशन दिए।

salt training

कमेन्ट गर्नुहोस्