
कुनै बेला क्रान्तिकारी कविता बाचन गर्ने सडकका कवि, अनि कुनै समयका रंगमञ्चमा नाटकका पात्र बन्न खोज्दाखोज्दै कलाकार हुन नसकेका व्यक्ति र प्राध्यापक पनि । तीसको दशकमा हरायो शीर्षकको कविताले चर्चामा पुर्याएका कवि । जे होस् शारीरिक रूपमा मात्र नभएर कविता लेखनीमा पनि अग्लिएर उचाई चुलिएका कवि हुन विष्णुविभु घिमिरे । म नजन्मिँदैका कवि । उनको पहिलो कृति (वि.सं.२०४५) सालतिर ‘कठघरामा उभिएर’ कवितासङ्ग्रहमार्फत् भेटिएका उनी ‘काँडाकाँडामा टेकेर’ (वि.सं.२०५८) मा देखिए । लामो समय गरिमा पत्रिकाको सम्पादक पनि रहे । कहिले साझा प्रकाशनको अध्यक्ष त कहिले नेपाल प्रज्ञाप्रतिष्ठानको उपकुलपति भए ।
कविता सुकोमल हुन्छ । सुललित हुन्छ । त्यस्तै हुन्छ कोमल कवि मन । विष्णुविभु पनि त्यस्तै कोमल, हार्दिक र नरम लाग्छन् । उनीसँग नजिकबाट संगत गर्नेहरू यही भन्छन् । त्यसैले कवितामा स्पर्शगर्दा सूक्ष्मता, नरमता, भावनात्मकता, निजात्मक अनुभूतिपरक र संवेदनात्मकजस्ता मनसँग सम्बन्धित पक्षहरू बढी मुखरित भएर आएका झै लाग्छन् । कवितामार्फत् सबैले सुन्नेगरी बोल्ने कवि लाग्छन् घिमिरे ।
मेरो अगाडि छ कविता कृति ‘हुरीको इन्द्रेणी उक्लेर’ छ, जसमा चिन्तन, सोचाइ, कल्पना, भोगाइ, प्रेम, जीवनको परिभाषा, कसैप्रतिको अगाढ याद, कोरोना कहर, प्रकृतिजस्ता विभिन्न विषयगत विविधाका ४६ थान कविताहरू सँगालिएका छन् । उनको मनमष्तिष्कमा कुलकुलाएका भावनाहरू सहज ढंगले अभिव्यक्त गरिएका छन् । कविताहरू कविताका पारखीहरू तृप्त हुने सामर्थ्यका छन् ।
अबचेतन मनबाट सृजित आँसु र रोदनलाई व्यक्त भएका कविताहरूले पाठकको मन पगाल्छन् । कविताहरूले जीवनका रंग भर्ने कूचीको काम गरेजस्तो महशुस गराउँछन् । जीवनका असहजताहरू चित्रण गर्छन् । हाम्रा भोगाइका हरेक पलका भावभंगिहरूमा कविता देखिन्छन् । जीवन र जगतका विभिन्न दृष्य र परिदृष्यहरूको खात पनि लाग्छन् । यतिविध्न भोगाइको अग्ला चाङ छ कि सुख–दुख,अभाव, खुशीका पलहरू सबैसबै कवितामा शब्दमार्फत कैद भएका छन् ।
वर्तमान समयमा मान्छेका मनहरू यावत व्यस्तताबीच खजमज्जिएका छन् र खुम्चेका छन् । साँघुरो एकांकी जीवनले मुटुहरूसमेत साँघुरिइसकेका छन् । यन्त्रवत दैनिकीले मान्छे दिनप्रतिदिन एकांकी हुँदैछ । छट्पटिहरूका थाङ्गे डोका बोकेर बाध्यात्मक आदर्शवादको खोल ओढेको ढ्वाँङ गर्न विवश र लाचार मान्छेका मनोदशाहरूले कविताका विषय पाइरहेका छन् । कवि यस्तै बोल्छन् पीडाका बोलीहरू, लाचारीका कथाहरू, दिशाविहिनताका भावहरू अनि मानवीयताको छातीमाथि बलात उड्ने अमानवीयताका हुचिलहरूविरुद्ध बोल्छन् । मानवीय मूल्य र मान्यतामा आधारित कविताहरू यसमा छन् । मानवताका पक्षधर कवि विभिन्न आयामका रंगहरूमा कुची लगाएर कविताहरू कोरिएका छन् । प्रकृति, प्रेम, जीवन र सारा सृष्टिका विभिन्न पक्षहरूमा कविता रचिएका छन् ।
उनका कवितामा अनुभूति धेरै छ, कवितामार्फत उनी पाठकलाई समेत संवेदित बनाउन सक्ने सामाथ्र्य राख्छन् । जादुयी शब्दमा सुन्दर बिम्बहरूको संयोजनले कविता झनै सुन्दर बनेका छन् । कतै प्रेमको अनुभूतिमा आल्हादित हुन्छन् कवि त कतै यादहरूमा तड्पिन्छन् । यसरी कविका सृजनशील आँखा र भावनात्मक मन अक्षरमा पोखिन्छ कविता बनेर । कवि मन न हो, भावनाको ज्वार यति धेरै देखिन्छ कि अक्षरको खेतीमा सौन्दर्यात्मक रुपबाट तर, भावनाको तरंग तरेलीमा बगेर आएको छ । कविको मन संवेदनशील छ र त अनुभूतिका उत्ताल तरंगहरू कवितामार्फत् छाल बनेर आएका छन् । जीवनका विभिन्न वय र भोगाइका आवृत्तिका सुन्दर चित्रहरू केरिएका छन् । हर कविताहरू आख्यानेत्तर देखिन्छन् । कुनै पनि कथ्यमा मज्जैले जमेर कविता लेख्न सक्ने कविको खुवीले म तानिएको छु । कविताका सरल भाषाहरू मष्तिष्कमा छिरेर जाने सामाथ्र्य राख्छन् । अनुभूतिमा जुरुक्क उचाइ बनाएका कविताहरू तिख्खर छन् ।
जीवनलाई अविरल बग्ने नदीसँग तुलना गर्छन्, कवितामा । राष्ट्र र राष्ट्रियताप्रति बफादार कवि स्वार्थको लागि देशप्रति गद्दारी गर्नेहरूप्रति आक्रोश उराल्छन् । समाजका मूल्य र मान्यतामा धमिरा बन्नेहरूप्रति शालीन तर आक्रमक देखिन्छन् र भन्छन्:
अब यस्तो कोरोना आइदिए हुन्थ्यो
तिनीहरूको हात होइन, मन धोइरहने
विचार पुछिरहने
मास्क होइन
प्रत्येक राष्ट्रघातीहरूको मुखुन्डो उतारेर
साँचो अनुहार देखाउन सक्ने
त्यस्तो कोरोना आइदिए हुन्थ्यो । (यस्तो कोरोना आइदिए हुन्थ्यो)
सकारात्मक भावमा कविता लेख्ने उनी सर्वे भवन्तु सुखिनको लाइनमा लामबद्ध देखिन्छन् । सबै कविताहरू गद्यात्मक छन् । संरचनाका हिसाबले मझौला र छोटा कविताहरू छन् । आकारमा छोटा भए पनि कलात्मक रूपले उत्कृष्ट लाग्छन् । बिम्बात्मक रूपले शक्तिशाली र बलशाली देखिन्छन् । कविताका पारखीको मानसपटलमा झड्का दिन सक्छन् । यो मेरो सानो मनको बुझाइ हो । भाव, सीप र कलाको त्रिवेणी लाग्छन् घिमिरेका कविता । आफ्ना अनुभूतिलाई कवितामा सहजताका साथ पोख्न सक्नु कविको विशेषता हो । मनका स्पन्दनमा भावनाका भुल्काहरू निकाल्ने कविको खुवी मान्नैपर्छ ।
आत्मपरक अभिव्यक्तिलाई सुन्दर शब्दहरूमा खिपेर र समाजका वर्तमान विसंगतिप्रति असहमति जाहेर गर्ने कवि सामाजिक दायित्वलाई काँधमा बोकेर कवितामार्फत सार्वजनिक गर्न सक्षम देखिएका छन् । यस्ता कवि भावनालाई शब्दमा उनेर प्रभावकारी कविता लेखेका छन् । कतैकतै आत्मालापीय कथनको बाहुल्यता पाइने कविताहरू उत्तिकै बलशाली छन् । नविन भाव, सोच र कल्पनाको त्रिशक्तिले कविताहरू पूर्ण र उच्चकोटीका बनेका छन् । कुनैकुनै कविताहरू स्मृतिदंशको फाटफुट प्रयोग भएका देखिन्छन् ।
कवितामार्फत् सबैले सुन्नेगरी बोल्ने कवि बिम्ब र प्रतिकहरूको सुन्दर सृजनाले सरल युक्तिबाट नै आफ्ना सन्देश प्रवाह गर्न सफल भएका छन् । कविको काव्यिक चेतमा प्रश्न उठाउने हिम्मत छैन मेरो । मानवीय संवेदनाले भरिएका कवि त्यसलाई कलात्मक लेपन लाउन भने खप्पिस देखिए । यस कृतिले पाठकहरू पुलकित बनाउने काव्यिक चेत राखेको छ । अत्यन्त संवेद्य कविताहरूले एउटा उचाइमा चुलिएको कविलाई उनको पहिचानमा कमी नआउन मज्जैले सहयोग गरेको छ । कवि मन न हो जे देख्यो, जे भोग्यो आफ्ना युगमा सर्लक्क मीठासपूर्ण बिम्ब, प्रतीक र शब्द सृजना गरेर जस्ताको तस्तै पाठकसामु राखिदियो । वाह ! कविलाई हार्दिक बधाई ।
पनौती, काभ्रे