
आधा सकिएको चुरोट फेरि एक पफ तान्यो ।
ओठले च्यापिरहेको चुरोट बाहिर निकाल्यो । गाला पुक्क बनायो । चिउँडो थोरै माथि उठायो । र, दुवै ओठ विस्तारै खोलेर धुवाँ आकाशतिर हुर्यायो ।
अनि, मलाई सोध्यो- ‘यो प्रेम भन्ने जिनिस पनि बडो अजिब रहेछ हगि दाजु?’
मसँग छैन, उसलाई भनिदिने कुनै जवाफ । सायद, प्रेमप्रति मानिसका दृष्टिकोणहरू उसको भोगाइले पनि निर्धारण गर्दा हुन् । म जस्तो पबट्टो मान्छेसँग प्रेमका कुरा गर्न खोज्ने ऊ चाहिँ अजिब लाग्छ मलाई ।
के भनिदिऊँ म उसलाई ?
मेरो विशेषता भनौं कि कमजोरी; म मज्जाले सुनिदिन सक्छु अरुका कुरा । तर, आफ्नो धारणा र निर्णय दिइहाल्न सक्दिनँ । सामान्य मुन्टो हल्लाइदिने बाहेक मसँग कुनै प्रतिउत्तर हुँदैन ।
म यसै पबट्टो छु ।
ऊ मेरो चिनाजानको भाइ । भाइ पनि, साथी पनि ।
यहाँनेर कुनै बैंकको विज्ञापन सम्झिनुभयो होला हगि? यस्तै हो, सम्झनाहरू कहाँ कसरी क्लिक हुन्छन् थाहै नहुँदोरहेछ ।
बाहिर साँझ झमक्क परिसकेको छ । हिउँदको साँझ । चिसोको साम्राज्य निकै फैलिएको छ । यति छिटो त दरबार हत्याकाण्डको खबर पनि फैलिएको थिएन होला ।
रूद्रमती किनारको कुनै रेष्टुरेन्टमा छौं ।
‘अलिक खुल्ला ठाउँमा बसौं न है दाजु, सास फेर्न सजिलो होला’, उसले यसो भनेपछि हामी भित्रको क्याबिनबाट बाहिरको टेबुलमा सर्यौं ।
भित्र निकै उकुसमुकुस लागिरहेथ्यो मलाई पनि । चुरोट, हुक्का र सेकुवाको धुँवाबीच युद्ध चल्दा सायद हावालाई पनि सास फेर्न गाह्रो भएको हुँदो हो । हामीलाई नहुने कुरै भएन ।
धन्न खोलातर्फ रेष्टुरेन्टको भित्ता छ । हामी विपरीत बसिरहेका छौं । नत्र रेस्टुरेन्टमा जल्दै गरेको सेकुवाको बास्ना भन्दा पनि खोलाको दुर्गन्धले भरिदो हो नाक ।
‘ओइss ! केटा मर्लास्, न्यानो गर्’, चिसोको चेतावनीपछि तातो पानीले ज्यान तताउन थालेँ । र, थपिदिएँ चुरोट पनि ।
धूम्रपान स्वास्थ्यका लागि हानिकारक छ !
‘सरोवर भाइ, एस्ट्रे यता देऊ त’, उसको नजिक रहेको एस्ट्रे मागेँ । चोर र माझी औंलाले चुरोट च्यापिरहेछन् । बूढी औंलाले प्याट्ट माझी औंलाको छातीमा हिर्काइदिएँ । एक डल्लो खरानी एस्ट्रेमा खस्यो । सोचें- एउटा चुरोटको जिन्दगी खस्यो !
उसले फेरि एक सर्को चुरोट तान्यो । उसैगरी धुँवा उडायो । र, भन्यो- मेरो जिन्दगी पनि यही धुँवाजस्तै उड्दै उड्दै सकिनेछ एकदिन । सकियोस्, *ठा- जिन्दगी ! हृदयमा आहत भएपछि जिन्दगीप्रतिको चाहत पनि सकिँदो रहेछ । मेरा सपनाहरू यसरी नै खरानी भइरहेका छन् । भइरहून् । मेरो विश्वास र भरोसा खरानी भएको उहिल्यै हो । जाबा सपनाहरू खरानी हुँदैमा के ख्याँसिन्छ र !
मैले उसलाई सुनिरहेँ । ऊ केहीबेर मौन बस्यो । वातावरण थोरै सुनसान बन्यो । अलि पर कुदिरहेका सवारीको आवाज मधुरो आइरहेछ । काठमाडौंमा हर्न निषेध गरेदेखि कानले धेरै राहत पाएका छन् । नत्र त ओख्खो !
‘के चलिरहेको छ जिन्दगीमा ?’, मैले उसलाई सजिलो बनाउने कोशिस गरेँ ।
अनि ऊ बगिरह्यो भेरी नदीजस्तै …
हामी त्यसरी नभेटिनु पर्ने थिएछ । संयोग भनौं कि दुर्भाग्य! जीवनको एउटा विन्दुमा ऊसँग भेट भयो । एउटा मीठो सुवास बोकेर ऊ मेरो जीवनमा आई । यस्तो लाग्यो- मेरो जीवनमा आउन बाँकी अब केही छैन । कोही छैन । म सग्लो भएँ ।
हामी अर्को कुनै व्यक्तिमार्फत चिनिएका थियौं । ऊसँग हाम्रा कयौं विमति भएपनि कमसेकम हामीलाई भेटाइदिएकोमा चाहिँ धन्यवाद भनिरह्यौं ।
अनि, सामाजिक सञ्जालको केही समयको गफगाफपछि हामीले पहिलोपटक गौरीघाटको कुनै रेस्टुरेन्टमा भेट्यौं । कम्ता गुलाबी थिएन त्यो साँझ । त्यो मेरो जीवनकै सुन्दर साँझ थियो ।
भी आकारमा काटेको कपालमा हल्का खैरो रङ । कालो टिमिक्क परेको टिशर्ट । जिन्स पाइन्ट । बाहिर पातलो ज्याकेट । खुट्टामा हाफ बुट । बहुत सुन्दर देखिएकी थिइ ऊ ।
पहिलो भेटको हगले मलाई अहिले पनि न्यानो अनुभूति हुन्छ । र, त्यो भेटमा उसले गरेको चुम्बन मेरो हृदयमा गहिरो झंकार बनेर बसिरहेको छ- सँधै सँधैलाई । यस्तो लाग्छ मेरो हरेक साससँग जोडिएको छ ।
तर, कसैप्रति आफूभन्दा धेरै समर्पित हुन नहुने रहेछ दाजु !
उसले लामो सास तान्यो । यस्तो लाग्छ, उसले साससँगै चपाइरहेको छ पीडाका नलिहाडहरू । हरेक सासमा ऊ कसैलाई सम्झिन चाहन्छ । बिर्सिन चाहन्छ । वा, चुरोटजस्तै सल्काएर सक्न चाहन्छ हृदयमा कतै बाँकी रहेका चिसा यादहरू ।
टेबलमा भएको गिलास उठायो । एक घुट्को सिनित्त पार्यो । र, दायाँ हत्केलाले ओठ पुछ्यो ।
ऊ केही कुराले विक्षिप्त छ भन्ने उसको हुलियाले बताइरहेकै थियो । त्यसमाथि विस्तारै मदिराको रङ बढ्दैछ । सायद, अब ऊ झन् झन् भावुक बन्दै जानेछ ।
हामी आज धेरैपछि भेटिएका हौं । एउटै शहरमा बस्ने भएपनि भेट मुस्किलले हुन्छ । यो शहर नै यस्तै छ । कति योजनाहरू योजनाकै गर्भमा तुहिन्छन् । कति सपनाहरू ट्राफिक जाममा अल्झिन्छन् ।
उसलाई कति सुनाउनु छ होला- हृदयका गीत । कति सुनाउनु छ होला- मनका बह ।
ऊ थापागाउँ बस्छ । म खड्कागाउँ ।
थापागाउँ-बानेश्वर । खड्कागाउँ- कलंकी । दूरी पनि हाम्रो भेटको बाधक बनिरह्यो ।
‘बाधक त यहाँ धेरै कुरा बन्दा रहेछन् दाइ । तर, जीवनमा प्रेमभन्दा सुन्दर चीज केही पनि होइन रहेनछ । र, कसैलाई प्रेम गरेर बाँचिरहेको समयभन्दा उत्तम समय जीवनमा कुनै रहनेछ ।
यो शहरका कति सिसीटिभीले ईर्ष्या गरे होलान् हाम्रो प्रेम देखेर । कति गल्लीहरू लजाए होलान् । हामीलाई भरोसा दिलाइरहेको सडक सुत्यो होला यतिबेला ?
म एकपटक फेरि गुड्न चाहन्छु त्यही सडकको छातीमा । र, छाम्न चाहन्छु उसको हृदयको गति । सडकको छातीमा पनि मेरोमा जस्तै कुनै किला बिझेको पो छ कि !
०००
‘मलाई जून नभन है, कुनदिन जूनजस्तै टाढा भइदिन्छु अनि थाहा पाउँछौं !’
उसको कुराले मेरो मनमा कत्रो सुनामी ल्यायो, शब्दमा वर्णन गर्न सक्दिनँ ।
जूना उसको नाम । तर, मैले आकार हटाइदिएँ । उसलाई जून भनेर बोलाउन थालेँ । मान्छे पनि थिई नै जूनजस्ती ।
उसो त आफूले प्रेम गरेको हरमान्छे जूनजस्तै लाग्दो हो मान्छेहरूलाई ।
‘तिमी टाढा हुनलाई त पृथ्वी ध्वस्त हुनुपर्छ जून । नत्र सम्भव छैन । तिमी मेरो हृदयको जून हौ । मेरो जीवनको जून हौ । आकाशको जून त १५ दिन हराउँछ तर, तिमी मेरो हृदय र जीवनमा सधैँ बलिरहेकी छौं । तिमी आएदेखि मेरो समयको औंसी सकिएको छ ।’
‘तर, थाहा छ, जूनमा पनि दाग छ भन्छन् नि !’ उसले आकाशतिर हेर्दै भनी ।
‘उम, मलाई थाहा छ । दाग तिमीमा पनि छ ।’
‘व्हाट ? कहाँ छ ?’
‘फोक्सोमा ।’
हामी एकछिन गलल्ल हाँस्यौं ।
मलाई उसले चुरोट पिएको असाध्यै मन पर्थ्यो । लाग्थ्यो- उसले पिइरहेको चुरोट म नै हुँ । जसलाई उसले आफ्ना गुलाबी ओठले बडो प्रेमले च्यापिरहेकी छ । र, धुवाँ बनेर म उसको हृदयभित्र समाहित भइरहेको छु ।
धुवाँ उडाउने उसको आफ्नै पारा थियो । जसलाई म बेहद प्रेम गर्थें ।
उसले मात्र होइन, मलाई हरेक केटी मान्छेले चुरोट पिइरहेको खूब मन पर्छ । अहिले पनि कुनै केटी मान्छेले चुरोट तानिरहेको छ भने म चुपचाप हेरिरहन्छु । अनि, उसैलाई सम्झिरहन्छु ।
दुनियाँमा कहीँ लेखेको छ र- चुरोट केटा मान्छेले मात्र पिउनुपर्छ भनेर ?
बरु लेखेको हुन्छ- धुम्रपान तथा सुर्ति सेवनले फोक्सोको क्यान्सर हुन्छ !
‘हो जून, जसरी हेर्दा आकाशको जूनमा दागजस्तो केही देखिन्छ, एक्सरे गरेर हेर्ने हो भने तिम्रो फोक्सोमा पनि दाग देखिन्छ होला’, मैले भनेथेँ ।
‘खोइ के थाहा !’
‘खै खै हेरुम् !’
आँखा उसको छाती नजिक लगेँ । उसको न्यानो सासले म फेरि सम्मोहित भएँ ।
‘ल ल तिमी नै हनुमान, तिम्रै पुच्छर लामो ।’
मैले उसलाई चुरोट नपिउनू भनेको थिइनँ तर, उसले त्यसपछि कहिल्यै चुरोट पिइन । म अहिले पनि उसको यादमा पिइरहेछु ।
‘दाइ ! एउटा शिखर आइस् ।’
उसले मागेपछि मैले पनि मगाएँ ।
रात छिप्पिन थाल्यो । सडकको सवारी विस्तारै कम हुँदै गए । रेष्टुरेन्टको चहलपल पनि घट्न थाल्यो । नघटेको भनेको चिसो मात्र हो ।
‘ऊ अहिले के गर्दैछ होली हगि दाजु ?’
फेरि अजीब प्रश्न सोध्यो । न म कुनै अन्तरयामी हुँ । न मसँग कुनै शक्ति छ, जसले उसले भनेको मान्छेले कुन दुनियाँमा के गरिरहेको छ भन्ने थाहा पाउन सकूँ !
मैले प्रतिक्रिया नदिएपछि ऊ नै बोल्न थाल्यो ।
सायद ऊ सुतिहोली । थाहा छैन उसले सपनामा देख्छे देख्दिनँ । म भने हरेक रातजसो उसलाई सपनामा देख्छु । सपना पनि कस्ता अनौठा अनौठा देखिन्छन् ।
कहिले ऊ भयंकर उकालो चढिरहेकी हुन्छे । कहिले खोलामा माछा मारिरहेकी हुन्छे । कहिले अग्लो रूखमा चढेर मलाई जिस्काइरहेकी हुन्छे । कहिले मेरो अघिअघि दौडिरहेकी हुन्छे । म उसलाई भेट्टाउन बेस्सरी कुदिरहेको हुन्छु । कुनै रात सपनामा आएर ऊ मलाई न्यायो अंगालोमा बाँधिरहेकी हुन्छे । कहिले बेस्सरी रोइरहेकी हुन्छे । उसलाई कतै अप्ठेरो त परेको छैन ?
माकस्सम दाजु ! उसलाई सम्झिएँ कि मन थाम्नै सक्दिनँ ।
सायद, मदिराको मात्रा बढ्यो होला, उसका आँखा टिलपिल भए । गला अवरुद्ध भयो । टेबलको टिस्यू उठायो । आँखा पुछ्यो ।
‘हरेक रात सुत्नुअघि गूड नाइट मेसेज गर्थ्यौं । स्लीप वेल भनेर उसले छाडेको मेसेजमा लभ रियाक्ट गर्दै रिप्लाई गर्थेँ- स्लीप वेल यु टू डियर !’
यस्तो लाग्छ, उसले स्लीप वेल नभनेको रात म निदाउन नसक्ने रहेछु । मेरो निद्रा राम्रो पर्ने रहेनछ ।
तर, अब मलाई स्लीप वेल भनिदिने मान्छे मेरो साथमा छैन दाजु । जुनदिनदेखि त्यो मान्छे हरायो, म यसै निदाउन सक्दिनँ । अनिदै बितेका छन् कयौं रात । कयौं रात पुराना मेसेजहरू हेर्दै रोएको छु ।
०००
खिट्खिट् खिट्खिट् !
भित्तामा झुण्डिएको घडी आफ्नै गतिमा थियो । तर, मेरो जिन्दगीको गति बद्लियो ।
प्रेमको त्यति विशाल गहिराइमा डुबेको मान्छेले छोडेर गयो ।
प्रेम गर्न के-के कारण चाहिन्छ थाहा छैन तर, चाहने हो भने छोड्नलाई ठूलो कारण नचाहिने रहेछ । एउटै कारण काफी हुँदो रहेछ ।
बस् हाम्रो प्रेममा…, होइन उसको प्रेममा त्यही सानो कारण नै पर्याप्त बनिदियो ।
‘सरोवर, म एउटा गम्भीर निर्णयमा पुगेकी छु । माइन्ड नगर है ।’
मण्डला थिएटर नजिकैको कुनै कफीशपमा उसले भनी ।
साँझ ढल्दै गरेको त्यो समयमा मेरो सम्पूर्ण भरोसा र सपना ढल्यो उसको कुराले ।
‘हामीले जे जति समय बितायौं, एकअर्कालाई जति साथ दियौं, यो निकै स्वर्णिम समय रह्यो मेरो जीवनमा । सायद, अब फेरि यस्तो समय मेरो जीवनमा कहिल्यै आउँदैन होला । ‘तिमीजस्तै’ मान्छे त कोही आउला मेरो जीवनमा तर, तिम्रोझैं प्योर हर्ट भएको मान्छे कोही पनि आउँदैन । तिमी कति मायालु छौ, कति केयरिङ छौ । मैले भनिरहनै पर्दैन । तिमीलाई भेटेपछि महसुस गरेँ, दुनियाँमा तिमीजस्तो मान्छे पनि हुँदा रहेछन् ।
तिमीसित बिताएका हरेक पल एकदमै यादगार बने । जो कहिल्यै मेटिने छैनन् । मेटिनका लागि म मर्नुपर्ने छ । तर, सरोवर! म अब एउटा निर्णयमा पुगिसकेँ । म अब यो शहर छोडेर गाउँ जाँदैछु ..!’
‘कहिले फर्किन्छ्यौ ?’ सामान्य रूपमा सोधें । किनकी ऊ बेला बेला के के भनेर जिस्किरन्थी । सायद, यसपटक पनि जिस्किएकी होली भन्ठानेँ ।
‘अब कहिल्यै नफर्किनेगरि जाँदैछु । यहाँ बसेँ भने हामी भेटिनेछौं । एक अर्कालाई समय दिनेछौं । जसले मलाई गाह्रो बनाउनेछ । हाम्रो साथ यहीँसम्मका लागि रहेछ । सायद, भगवानले हामीलाई यत्तिका लागि मात्र भेट्टाएका हुन् ।’
‘हरे, भयो चाहिँ के ? त्यो भन न ।’
मलाई निकै भाउन्न भएर आयो । टेबलमा रहेका कफीका गिलासहरू एकैपटक फुटेझैं लागे । भित्ता घुमिरहेझैं लाग्यो । ओठमुख सुके ।
‘भनौंला कुनै दिन ।’, उसले यत्ति भनी ।
मैले कसै गरेर पनि उसलाई मनाउन सकिनँ । फकाउन सकिनँ । सम्झाउन सकिनँ ।
घरमा आमासँग पनि उसको कुरा हुन्थ्यो, बेलाबेला । सायद उहाँले नै केही भन्नुभयो कि ! थाहा छैन, ऊ यत्ति कारणले मात्र टाढिएकी हो कि अरु नै कारण छ ? मेरा लागि ऊजस्तै रहस्यमै रह्यो, यो विषय ।
मनमनै अठोट गरेँ- तिमी जे भन जून, हामीलाई कसैले छुटाउन सक्दैन ।
उसलाई फकाउन सक्छु भन्ने हिम्मत जिउँदै थियो ।
हामी त्यहाँबाट उठ्यौं । उसले पठाओ बोलाउन खोज्दै थिई । मैले म छोडिदिन्छु, नबोलाऊ भनेँ ।
धेरै जिद्दी गरेपछि मात्र मानी ।
आज उसले मलाई समाइन । नत्र मोटरसाइकलको पछाडी बस्दा हरेकपटक दुवै हात अगाडि ल्याएर मलाई च्याप्प समाउँथी । कसिलो पार्थी । कहिले खल्तीमा हात घुसाउँथी । किहले काउकुती लगाउँथी । मलाई असाध्यै प्यारो लाग्थ्यो, उसका यी हर्कतहरू ।
‘हात अगाडि ल्याउन जून’, केही अघि बढेपछि भनेँ ।
सायद हावाले गर्दा मेरो आवाज सुनिनँ कि !
बायाँ हातले उसको बायाँ हात समाएर अगाडि ल्याएँ । मुन्टो थोरै पछाडी घुमाएर भनेँ- हात अगाडि ल्याउन प्लिज !
उसले केहीबेरपछि हात अगाडि ल्याई । मलाई चपक्क बनाई । सधैंझैँ आफ्नो टाउकोलाई मेरो काँध नजिकैको पिठ्युमा अड्याई । सोचेँ- यो समय यसरी नै यहीँ अडिइरहोस् !
मेसेन्जरमा मेसेजको घण्टी बज्यो ।
हत्तपत्त हरेँ । उसैको रहेछ । त्यो दिन छुट्टिएपछि मेसेन्जरमा कुरा भएको थिएन । फोनमा पनि पहिलेजस्तो कुरा भइरहेको थिएन । व्यस्तता देखाउँथी । कयौं दिन उसको डेरामुनि पुगेर कल गरेँ । उठाइनँ । कल नउठेपछि कोठामा जाने हिम्मत आएन ।
उसको मेसेजले खङ्ग्रङ्ग भएँ । जहाज अगाडिको सेल्फी पठाएकी थिई । तत्कालै फोन ट्राइ गरेँ लागेन । फेरि ट्राइ गरेँ स्वीच्ड अफ भन्यो ।
नभन्दै ऊ गाउँ हिँडिछे ।
मेसेन्जर र नम्बर दुवैमा मेसेज छोडिदिएँ- शुभयात्रा, जून !
त्यसपछि उसले नम्बर अन गरिनँ । अनलाइन पनि आइनँ । सायद गाउँमा इन्टरनेटको समस्या भयो होला । बेला बेला फरक-फरक नम्बरबाट कल गर्थी ।
‘आफूलाई सम्हाल्नू सरोवर ! तिमीले गरेको माया मेरो हृदयमा छ, जो कहिल्यै मर्ने छैन । तिमीले राखेको ख्याल मेरो मनमा छ । जसलाई सुनकोशीको बाढीले पनि बगाउन सक्दैन । यत्ति आग्रह छ- मूभ अन होऊ ! तिमी आफ्नो जीवन बाँच ।’
कति सजिलै भनिदिई- मूभ अन होऊ ! उसले चाहिँ सकेकी होली त मूभ अन हुन ?
‘म यही घडीको पलजस्तै हरेक पल तिमीसँगै हुनेछु ।’
उसलाई घडी उपहार दिँदै भनेथेँ । कम्ता सुहाएको थिएन, उसको नाडीमा त्यो घडी ।
‘मनमा कुनै गलत कामको सोंच आयो भने यही घडीले झस्काउनेछ तिमीलाई ।’
‘हामी २४सै घण्टा सँधै हुन त सक्दैनौं । तर, मेरो मायाको न्यायोपन सँधै ताजा राख्नू है’, उसलाई मफलर उपहार दिँदै भनेथेँ ।
के आज पनि उस्तै होला त्यो घडी ? जुन उसको हातमा धड्किरहेको होस् । के घडीको हरेक पलसँगै म धड्किरहेको महसुस गरेकी होली ? मफलरको न्यानो उस्तै होला कि सिद्धियो होला ?
+++
‘मैले त बाइक पनि बेचिदिएँ दाजु ।’, उसले भन्यो ।
‘लौ किन नि ?’
बाइक चलाउन थालेँ भने ऊ पछाडी बसेकी छ कि जस्तो लाग्छ । हात पछाडी लैजान्छु । रित्तो । उसले काँधनजिकै टाउको अड्याझैं लाग्छ । दुवै हातले च्याप्प मेरो छाती समाएझैं लाग्छ । पेटमा समाएझैं लाग्छ । एकसुरले हिँडिरहँदा एकदिन नालीमा ठोक्किएँ ।
मलाई उसको यादमा बाँच्नुछ, मर्नु छैन !
रात निकै छिप्पिसकेको छ । उसमा पनि मात बढिरहेको छ । रेस्टुरेन्ट बन्द गर्ने बेला भयो । वेटरले बील ल्याइदिएको अघि नै हो ।
‘सरोवर जाम हिँड ।’
‘दाजुभाइ आज सँगै बस्ने ।’
‘होइन, होइन । म तिमीलाई छोडेर गइहाल्छु । डेरामा भातले पर्खिरहेको छ ।’
‘सबैका पर्खाइ कहाँ पूरा हुन्छन् र ! म पनि पर्खिरहेको छु कसैलाई । खै केही ठेगान छैन । आज त्यो भातको पर्खाइ अनिदो बनाइदिनुस् दाजु ।’
चिसोले गर्दा बाइक स्टार्ट हुन समय लाग्यो । उसलाई बसाएँ । राम्ररी बस्न सकिरहेको छैन ।
‘राम्रोसँग बस न भाइ । खस्यौ भने त मलाई हत्या अभियोग लाग्छ नि फेरि !’
‘मरिसकेको मान्छे मर्दा पनि हत्या अभियोग लाग्छ र दाजु ? म त मरिसकेको मान्छे ।’
केटालाई जाँड धेरै लाग्यो कि प्रेमको पागलपन ? बुझ्नै सकिनँ ।
शहरमा कतै पर मधुरो आवाजमा गुञ्जिरहेको थियो- उडेर जून छुन्छु भन्थेँ, तर आज पिँजडाको चरी भाछ जीवन… !