![आप्रवासीविरुद्धको कारबाहीले लस एन्जलसमा तनाब : प्रदर्शनकारीले सवारी साधनमा आगो लगाए [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/america_LA_6_3aWc4VfdLV.jpg)
प्रहरी र प्रदर्शनकारी आमनेसामने भएपछि अमेरिकाको लस एन्जलसमा तनाव बढेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले २ हजार राष्ट्रिय गार्ड तैनाथ गर्ने निर्णय गरेदेखि नै विरोध प्रदर्शन तीव्र भएको छ । हजारौं प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् ।
मानिसहरूले सडक अवरुद्ध गरेर सवारी साधनहरूमा आगो लगाएका छन् । जबकि प्रशासनले भीडलाई नियन्त्रण गर्न अश्रुग्यास, रबर गोली र फ्ल्यास ब्याङ ग्रेनेड प्रयोग गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

यी विरोध प्रदर्शनहरू ट्रम्प प्रशासनको विरुद्ध भएका हुन् । जसले चुनावमा दोस्रो कार्यकालको लागि आप्रवासन नीतिलाई प्रमुख मुद्दा बनाएको थियो । गत शुक्रबार अमेरिकी आप्रवासन र भन्सार प्रवर्तनले लस एन्जलसमा धेरै ठाउँमा छापा मारेको थियो । त्यसपछि मानिसहरू विरोधमा सडकमा उत्रिएका हुन् ।
विरोध प्रदर्शनहरू विशेषगरी लस एन्जलसमा बढी भएको छ, जहाँको तथ्याङ्कअनुसार, जनसंख्याको ठूलो हिस्सा विदेशी मूलका मानिसहरू हुन् ।
प्रहरीले प्रदर्शनकारीहरूलाई पक्राउ गर्न थालेको छ । समाचार एजेन्सीहरूका अनुसार, जुन ६ मा लगभग ४४ जनालाई पक्राउ गरिएको थियो । त्यसपछि विरोध झन् तीव्र भएको हो ।

समाचारअनुसार देशभरि लगभग २ हजार आप्रवासीहरूलाई पक्राउ गरिएको छ।
लस एन्जलसमा विरोध र हिंसा बढ्दै गएपछि ट्रम्पले विरोध स्थलमा २ हजार राष्ट्रिय गार्डहरू तैनाथ गर्ने निर्णय गरेका थिए । त्यसपछि प्रदर्शनकारीहरू झन् आक्रोशित भएका हुन् ।

अमेरिकी पूर्वउपराष्ट्रपति कमला ह्यारिसले ट्रम्प प्रशासनको यो कार्यको आलोचना गरेकी छिन् । साथै, लस एन्जलसकी मेयर करेन बासले ट्रम्प प्रशासनलाई अराजकता फैलाएको आरोप लगाएकी छिन् ।









तस्वीरहरू : एपी/एएफपी