
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूले सधैं देश र जनताको पक्षमै काम गर्ने बताएकी छन् । पूर्वी नेपालबाट काठमाडौं फर्किने क्रममा मंगलबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफ्नो त्योबाहेक कुनै ठूलो आकांक्षा नभएको प्रस्ट पारेकी हुन् ।
आफ्नो राजनीतिक जीवन नै नेकपा (एमाले)बाट शुरू भएकाले सक्रिय राजनीतिमा आउँदा स्वाभावैले एमालेमै आउने उनले बताइन् । 'एकचोटी नाता जोडिएपछि सधैं रहिराख्छ । हुन त मान्छेहरू पार्टी छोड्छन् पनि । म चाहिँ त्यस्तो व्यक्ति हो जहाँ जन्मे/हुर्किए आजसम्म एउटै लाइनमा छु । हिजोदेखि नै वामपन्थी आन्दोलनमा लागियो र अहिलेसम्म नि म छु,' उनले भनिन् 'त्यो हेर्दा विद्या भण्डारी पार्टीगत राजनीतिमा आउँदा के हुन्छ भन्ने प्रश्न होला । पार्टीगतरूपमा त म त्योभन्दा फरक रूपमा हेर्न सक्दिनँ । राष्ट्रिय राजनीतिमा देशलाई कसरी राम्रो हुन्छ भन्ने कुरामा मेरो जोड छ ।'
उनलाई सञ्चारकर्मीले तपाईं पूर्व आउँदा काठमाडौंतिर किन भूइँचालो जान्छ भनेर प्रश्न गरेका थिए । जवाफमा उनले भनिन्, 'त्यस्तो त मलाई थाहा छैन । पूर्वमा म दुइटा कार्यक्रमको सन्दर्भमा आएको हो । मलाई पनि रुचि थियो उहाँहरूले बोलाउनुभयो र आएँ,' उनले भनिन्, 'म शुरूदेखि नै पार्टीमा काम गरेको हो । चिनजान धेरै छ । जनताको आकांक्षा बुझ्न म लागेको छु । म देशभित्र घुम्न एमालेका कमिटी र नेताहरूसँग अनुमति लिइरहनु पर्दैन ।'
एमालेको भाबी अध्यक्षकारूपमा तपाईंले गुटगत राजनीति शुरू गर्नुभएको भन्ने टिप्पणी छ नि भन्ने प्रश्नमा उनले आफूले कुनै गुटगत राजनीति नगरेको बताइन् । 'अध्यक्ष ओली(केपी शर्मा ओली)जीले मलाई नै ताकेर भन्नुभयो होला भन्ने मलाई लाग्दैन । म कहिले गुट नबनाएको मान्छे त्यसो भन्न मिल्दैन । उहाँले पनि त्यस्तो भन्नुभएको होइन होला । तपाईंहरूले त्यस्तो अर्थ लगाउनुभयो कि ?,' उनले भनिन् 'अरू आकांक्षीको मनमा प्रश्न उठेको होला । मैले त त्यस्तो आकांक्षा राखेको छैन । जहाँ जसरी हुन्छ काम गर्ने हो । उहाँले भनेको चाहिँ महाधिवेशन आउँछ । नेतृत्व निर्माण हुन्छ । मिलाएर गर्छौं भनेर आश्वस्त गर्नुभएको हुनसक्छ ।'