०२ साउन २०८३, शनिबार
वाईसीएल विवाद

प्रचण्ड–जनार्दन आमनेसामने भएको वाईसीएल विवादः जम्बो पदाधिकारीदेखि ‘फेसबूक वार’सम्म

जेठ २८, २०८२
काठमाडौं
प्रचण्ड–जनार्दन आमनेसामने भएको वाईसीएल विवादः जम्बो पदाधिकारीदेखि ‘फेसबूक वार’सम्म

तेस्रो राष्ट्रिय सम्मेलनबाट (माओवादी केन्द्र)को युवा संगठन वाईसीएलमा ७५ सदस्यीय जम्बो पदाधिकारी बनेपछि नेताहरू वादविवादमा उत्रिएका छन् । 

विधानले ३५ जना पदाधिकारीको व्यवस्था गरे पनि पार्टीले ७५ सदस्यीय पदाधिकारी थोपरेको भन्दै अर्को पक्षले आक्रोश व्यक्त गरेको हो, जसले नेताहरूबीच ध्रुवीकरण बढाएको छ ।

निर्वाचन नगरी केही दिनअगााडि पुष्प ओलीको नेतृत्वमा वाईसीएलको ७५ सदस्यीय पदाधिकारी घोषणा भएको थियो । यसमा ३५१ सदस्यीय केन्द्रीय कमिटी छ । 

थप १५ प्रतिशत मनोनीत गर्ने व्यवस्था पनि गरिएको छ । तर, अन्य पार्टीका संगठनहरू छरितो हुँदैगर्दा वाईसीएलमा ७५ जनाको जम्बो पदाधिकारी बनाउँदा कामकाजी नहुने भन्दै अर्को पक्षले तीव्र असन्तुष्टि व्यक्त गरेको हो । 

अध्यक्ष पुष्प ओलीको नाममा सर्वसम्मत भएपछि पनि तनावको स्थिति आएको छ । जम्बो समितिमा २२ उपाध्यक्ष, १/१ महासचिव र कोषाध्यक्ष, १९ उपमहासचिव र ३१ जना सचिवको व्यवस्था गरिएको थियो । यही जम्बो पदाधिकारीले वाईसीएलमा तनाव बढाएको हो ।

‘पार्टी उपमहासचिव जनार्दन शर्माले सकेसम्म ३५ जनाकै पदाधिकारी बनाऊँ भन्नुभएको थियो । तर, अध्यक्ष प्रचण्डले आग्रह गरेपछि उहाँले मिल्छ भने मिलाउनुस्, एक जनालाई अध्यक्ष बनाउनुस्, अर्को पक्षलाई पनि मिलाउनुस् भनेर मध्यमार्गी बाटो दिनुभएको थियो,’ माओवादी नेता अनिल शर्मा भन्छन्, ‘यस्तो गर्दा पनि विधिसम्मत जाऊँ, नमिलेका प्रक्रिया फुकाऊँ भनेर सहजीकरण गर्नुभयो । तर, हेडक्वार्टरको बलमा पेल्न खोज्दा संगठनलाई बेफाइदा हुने, भद्रगोल हुने र संगठन नै कोल्याप्स हुने स्थिति आएको छ ।’

पार्टी नेतृत्वले विधिविहीनतको अभ्यास गरेर युवा संगठनलाई गुलाम बनाएको उनी बताउँछन् । 

‘पार्टी र संगठन सञ्चालनका लागि हामीले विधि तय गरेका छौं । तर, तोकिएको मापदण्ड र विधिलाई ख्याल गरिएको छैन । मूल पार्टीमा विधिलाई उपेक्षा गर्दा आज पार्टी भद्रगोल भएको छ । वाईसीएलमा पनि त्यस्तै गर्न खोजियो,’ शर्माले भने, ‘पदाधिकारी जम्बो, यसमा अझै थप्ने र केन्द्रीय कमिटी त जति पनि हुने व्याख्याले वाईसीएल पार्टीको गेटपाले जस्तो भएको छ । युवा संगठनले पोलिसी होइन, गुलामी गर्नुपर्ने भएपछि कसरी काम गर्न सक्ला ?’ 

तर, अध्यक्ष पुष्प ओली संगठनमा आवश्यकता भएकैले पदाधिकारी बनाइएको भन्दै हलमा सहमति जुटेको विषयमा नियोजित हल्ला भएको बताउँछन् । 

‘पार्टीले आवश्यकता महसुस गरेकै कारण पदाधिकारी थपिएको हो । यो विधानविपरीत होइन, सहमतिपछि हलबाट अनुमोदन भएको विषय हो,’ ओलीले लोकान्तरसँग भने, ‘तर, नियोजित रूपमा हल्ला गरियो । पार्टी हेडक्वार्टर र हलले गरेको सहमतिमा सामाजिक सञ्जालमा राजनीति गर्नु उपयुक्त छैन ।’

माओवादीका निम्ति पछिल्ला केही वर्ष वाईसीएल नै देखाउने बलियो पार्टी संयन्त्र भएको उनी बताउँछन् ।  ‘संगठन जरैदेखि जागेको छ । उभार आएको छ । पार्टीको देखाउने बलियो विंग्स नै वाईसीएल हो,’ ओली भन्छन्, ‘पार्टीसँगको सहकार्यमा हामी युवा परिचालनका नवीन कार्यक्रम ल्याउँछौं ।’

युवाको विदेश पलायन रोक्न पहल गर्ने, जेन्जी पुस्तालाई आकर्षित गर्ने, कुलतमा फसेका युवालाई ट्रयाकमा ल्याउने, विपतमा युवा परिचालन गर्ने जस्ता योजनामा आफू लागेको उनले बताए । 

माओवादीमा उपमहासचिव जनार्दन शर्माले पछिल्लो समय विधि, प्रक्रिया र पद्धतिको विषय उठाउँदै आएका छन् । पार्टीमा निर्वाचनबाटै हरेक तहमा नेतृत्व चयन हुनुपर्ने उनले माग र अडान राख्दै आएका छन् । शर्माले समयमा महाधिवेशन गर्नुपर्ने, पार्टी अध्यक्ष अब संरक्षक बस्नुपर्ने, नेता चुनिएर आउने थिति बसाल्नुपर्नेमा जोड दिँदै आएका छन् । तर, पार्टी अध्यक्ष प्रचण्डले अझै नेतृत्व छाड्ने इच्छा गरेका छैनन् । 

‘माउ पार्टीमात्रै होइन, हरेक तहमा युवा नेताहरू प्रतिस्पर्धा गर्न चाहन्छन् । प्रतिस्पर्धामा उत्रिन चाहनेको ठूलोपंक्ति छ । सर्वसम्मत गर्दा नेताहरूले गोजीका मान्छे हाल्नुभएको छ । आफूप्रति अनुग्रहितलाई मात्रै छान्दै पार्टी रचनात्मक बन्दैन,’ माओवादीका नेता शर्मा भन्छन्, ‘जबर्जस्ती र एकलौटी विधान मिच्ने, तोडमोड गर्ने, भद्रगोल बढाउनाले पार्टीमा अराजकता निम्तिएको छ ।’ 

वाईसीएलमा अध्यक्षमा मनोमानी गरिएको भन्दै शर्माले सामाजिक सञ्जालमा लेखेपछि विवाद उत्कर्षमा पुगेको हो । ‘विधान पास गरेको केही घण्टा बित्न नपाउँदै सम्मेलनको सर्वोच्चतालाई हरण गर्ने र आफ्नो असक्षमतालाई ढाकछोप गर्ने प्रवृत्तिले वाईसीएललाई पनि बन्धक बनाएरै छाडे । यसमा वाईसीएलको खासै दोष छैन । पार्टी नेतृत्वका कारण कति भिक्टिम भए, त्यो त इतिहासको गर्भ मै रहला,’ उनले लेखेका छन्, ‘जे जसरी होस्, एउटा कमिटी बनेको छ । कमरेड पुष्प वली नेतृत्वको वाईसीएल नेपाललाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’

उनले यति लेखेपछि वाईसीएलका इञ्चार्ज रामप्रसाद सापकोटाले उनको कमेन्ट्समा गएर जवाफ फर्काए । नेताहरूबीच सहमति भएकै आधारमा नेतृत्व चयन गरिएको भन्दै सापकोटाले उपमहासचिव शर्मालाई पनि यो प्रकरणमा ताने । 

‘अनिलजी, फ्याक्सनको हिसाबले म त चुनावमा लैजाने तयारीमा थिएँ । (नाताले तपाईंको दाइ) आदरणीय नेता जनार्दन शर्माले पार्टी पदाधिकारी बैठक र अध्यक्षसँग वाईसीएल जस्तो संगठनलाई चुनावमा लैजानु हुन्न भनी सहमति गरेको कुरा आएको छ । खास के हो ? अनि तपाईंहरूको पक्षले खुमलटार पुगेर गरेका अन्य सहमतिबारे मलाई केही जानकारी कसैले गराइदिए हुने हो !,’ दीपशिखाले लेखेका छन्, ‘मैले घुइरो–घुइरो सुनेको मात्रै छु । वाईसीएलमा घुनपुतली नलागेपछि तपाईं र अन्य आसेपासेले आजबाट शुरू गरेको प्रचार निन्दनीय छ । यस्ता पानीमरुवा चाल चल्न छाडेर साँच्चै लड्न आए हुन्छ । म माओवादीमा तपाईंका दाइ जहाँ लड्छन्, त्यहीँ चुनाव लड्न तयार छु ।’

यी दुई नेता भिड्न लागेपछि अरू नेता/कार्यकर्ता समेत बहसमा उत्रिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्