
काठमाडौं, २० मंसिर– दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनअन्तर्गत भोलि (बिहीवार) हुने मतदानका लागि सबै तयारी पूरा भएको छ । निर्वाचन आयोगले बुधवार दिउँसो पत्रकार सम्मेलन गरेर बिहीवार हुने मतदानका लागि सबै तयारी पूरा भएको जनाएको हो ।
भोलि देशका ४५ जिल्लाका प्रतिनिधिसभा १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । भोलि हुने निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १ हजार ६ सय ६६ तथा प्रदेशसभा सदस्यका लागि २ हजार ८ सय १९ गरी ४ हजार ४ सय ८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभाका ११० सिट र प्रदेशसभाका २२० सिटका लागि ५ हजार ८ सय ३८ जना प्रतिस्पर्धामा छन् ।
भोलि हुने निर्वाचनमा ४५ जिल्लाका १ करोड २२ लाख ३९ हजार ९ सय ९३ मतदाता सहभागी हुनेछन् ।
मतदाता परिचयपत्र नभए पनि मतदान गर्न पाइने
भोलिको निर्वाचनमा मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र नभएका व्यक्तिले पनि मतदान गर्न पाउने भएका छन् ।
निर्वाचन आयोगले मतदाता नामावलीमा नाम भएका तर मतदाता परिचयपत्र प्राप्त गर्न नसकेका मतदाताले समेत मतदान गर्न पाउने व्यवस्था गरेको हो ।
‘मतदाता नामावलीमा नाम भएका मतदाताले मतदान गर्न जाँदा मतदाता परिचयपत्र नभएमा नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएका अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउनेछन्,’ बुधवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले भने ।
स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र भएका मतदाताले सोही मतदाता परिचयपत्रका आधारमा मतदान गर्न पाउने प्रमुख आयुक्त यादवले बताए ।