
पतञ्जली जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा पर्यो ।
नेपालको पद निलम्बनमा परेको पत्र सभामुख देवराज घिमिरेले जेठ ३० गते संसदमा पढेर सुनाए ।
पतञ्जली योगपिठलाई हदबन्दीभन्दा बढी जग्गा किन्न दिएको र किनेको भन्दा बढी मूल्यमा २ महिनामै बेच्ने गरी नीतिगत निर्णय मन्त्रिपरिषदबाट गराएको विषयमा अख्तियारले मुद्दा लगाएको हो ।
नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग दाबी गर्दै मुद्दा दायर गरिएको हो । नेपालको इतिहासमा पूर्व प्रधानमन्त्रीमाथि अख्तियारले यति गम्भीर मुद्दा लगाएको सम्भवतः यो पहिलो पहिलो घटना हो ।
गम्भीर मुद्दा लागे पनि नेता नेपालले कानूनी लडाईं लडेर जाने तर, हतारिएर अध्यक्षबाट राजीनामा नदिने मनस्थिति बनाएका छन् । मुद्दा लागे पनि हतारिएर राजीनामा दिने मूडमा अध्यक्ष नेपाल नरहेको उपाध्यक्ष जगन्नाथ खतिवडा बताउँछन् ।
‘आम सार्वजनिक टिप्पणीमा र जनता तथा सचेत समुदायबीच तामेलीमा राखिएको मुद्दा विषय झिकेर माधव नेपाललाई राजनीतिक पूर्वाग्रह साँधियो भन्ने परेको छ । पार्टीले प्रारम्भमा पनि यही भनेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाग्रह साँधेका बेला हामीले नै नैतिकता देखाउनुपर्ने हुन्छ र ?’ खतिवडाले लोकान्तरसँग भने, ‘हामी कानूनी, राजनीतिक, जनता र कार्यकर्ताको मनोविज्ञानलाई नजिकबाट अध्ययन गर्छौं, तर सबैथोक बिग्रिसक्यो भनेर अध्यक्षले राजीनामा दिनुहुन्न ।’
अर्कोले राजनीतिक प्रतिशोध साँधेको विषयमा अध्यक्षले राजीनामा दिनुपर्छ भन्ने विषय पार्टीभित्र नउठेको खतिवडा बताउँछन् ।
‘तामेलीमा राखिएको विषय एकाएक झिक्नु भनेको राजनीतिक प्रतिशोधबाहेक केही होइन भन्नेमा हामी छौं । कानुनविद्ले माधव नेपालले गल्ती गरेको होइन, नीतिगत निर्णय माधव नेपालको व्यक्तिगत टाउकोमा आउँदैन भन्ने सुझाव दिनुभएको छ,’ खतिवडा भन्छन्, ‘सांसदबाट राजीनामा दिनु एउटा अलग पाटो हो, तर अर्काको अनैतिकताको विषयलाई हाम्रो नैतिकता किन बनाउने ? हतारमा राजीनामा दिँदा पूर्वाग्रहलाई साथ दिएको अर्थ लाग्छ ।’
एमालेबाट विद्रोह गरेर पार्टी बनाएका अध्यक्ष नेपालमाथि मुद्दा लगाइएपछि सामूहिक रूपले प्रतिवाद गरेर जानुपर्ने मत नेकपा एसमा बनिरहेको खतिवडा बताउँछन् ।
‘विद्रोह गरेर पार्टी बनाउने नेतालाई नै अनायास लगाइएको मुद्दामा बारिहबाटै माधव नेपालमाथि अन्याय भयो, प्रतिशोध भयो भनेर सामान्य नागरिक र पार्टी पंक्तिले भनिरहेका छन्,’ खतिवडा भन्छन्, ‘यसैले यो घटना उठ्दै गरेको पार्टीलाई ठूलो शक्ड हो । अध्यक्षमाथि भन्दा पनि समाजवादीमाथि प्रहार हो । यस्तो बेला पार्टीले एकजुट भएर प्रतिवाद गर्नुपर्छ ।’
नेपालले अध्यक्षबाट राजीनामा दिनुपर्छ भन्ने बहस कतै पनि नभएको उनी बताउँछन् ।
‘अर्काले राजनीतिक प्रतिशोध साँधेका छन् भने हामीले किन राजीनामा दिने ? केपी ओलीले जता लतार्छन्, त्यतै लतारिनुहुँदैन । राजीनामा दिनुपर्छ भनेर पार्टीभित्र सामान्य बहस समेत भएको छैन,’ खतिवडा भन्छन्, ‘यद्यपि हामी राजनीतिक, कानूनी परामर्श छौं । भर्खर मात्रै छलफलको क्रम शुरू भएकाले निष्कर्ष आइहाल्दैन । साउनतिरसम्म बैठक बस्दा पार्टीले स्पष्ट रूपमा यो मुद्दामा पार्टीको औपचारिक धारणा बनाउँछ ।’
औपचारिक बैठक राख्न समाजवादी हतारिएको छैन । अध्यक्षबाट हतारिएर राजीनामा दिँदा गल्ती गरेको अर्थ लाग्न सक्ने भएकाले नेपाललाई पार्टीभित्र धेरैले राजीनामा नदिन सुझाएका छन् । नेकपा एसकी नेतृ दिलकुमारी पन्त कुनै हालतमा अध्यक्षको राजीनामा नआउने बताउँछिन् ।
‘अख्तियारले अध्यक्ष भएको कारणले मुद्दा लगाएको होइन, तर पनि यस प्रकरणमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । उहाँले नबिराउनु, नडराउनु भन्नुभएको छ,’ पन्त भन्छिन्, ‘हामी कानूनी प्रतिवाद गरेर जान्छौं । नीतिगत कुराको स्थगित मुद्दा बलियो हुँदैन भन्नेमा हामी पक्का छौं ।’
राज्यले दुःख दिए पनि नेपालको विद्रोहलाई पार्टीले आत्मसात गरेको उनी बताउँछिन् ।

‘हिजो एमालेमा धेरैले दुःख झेल्दा माधव नेपालकै कारण विद्रोह सम्भव भएको हो । यसैले उहाँमाथि साँधिएको प्रतिशोधको हामी सबैले एक भएर प्रतिवाद गर्नुपर्छ भन्ने भएको छ,’ पन्त भन्छिन्, ‘अध्यक्षमाथि गम्भीर मुद्दा लगाइँदा यो वा त्यो भनेर बहस गर्न जरुरी छैन ।’
नेपालमाथि मुद्दा लागेपछि कुनै पनि नेताले खुलेर उनीमाथि राजीनामाको दबाब बढाएका छैनन् । झलनाथ खनालले भने अरूले जसरी राजनीतिक प्रतिशोधको कुरा गरेका छैनन् । कानूनलाई सघाएर जानुपर्छ भनेका छन् । तर, उनले खुलेर नेपालमाथि दबाब बढाउन सकेका छैनन् ।
‘अध्यक्षमाथि मुद्दा लाग्नेबित्तिकैदेखि झलनाथ कमरेडले राजनीतिक प्रतिशोध नै भयो भनेर बचाउ गरेको देखेका छैनौं । उहाँले शुरूबाट तथ्य बुझेर मात्रै बोल्नुपर्छ, कानूनलाई सघाएर जानुपर्छ भनेर बोल्नुलाई हामीले पनि नोटिसमा राखेका छौं,’ माधव नेपाल निकटका एक नेता भन्छन्, ‘कसैको मनमा कोही मरोस् भनेर भित्री कामना हुन सक्छ । तर, मरोस् भनेर मात्रै हुँदैन । गल्ती भएको छैन भने डराउनु पर्दैन । यतिखेर जेएन कमरेडले पार्टीमा फरक लाइनको मत बनाउन सक्नुहुन्न ।’
नेता पन्त सार्वजनिक खपतका लागि कसैले बोले पनि प्रतिशोधको राजनीतिलाई सशक्त प्रतिवाद गरेर जानुपर्ने बताउँछिन् ।
‘कसैले सार्वजनिक खपतका लागि राजीनामा दिएर जाँदा उपयुक्त हुन्छ भन्न सक्छ । तर, हामीलाई यो मुद्दा अनुचित छ भन्ने लागेको छ । सरकारले प्रतिशोध साँधेको भन्नेमा हामी प्रस्ट छौं,’ उनी भन्छिन्, ‘केन्द्रीय कमिटी बैठक बसे पनि अध्यक्षले राजीनामा दिने विषयमा बहस जरुरी नै छैन । कसैले हिलो छ्यापे धुने हो, लुगा खोलेर फाल्ने होइन ।’
राजीनामा दिँदाको डर
एमालेमा १५ वर्ष शक्तिशाली महासचिव बनेका नेपाल सोही पार्टीसँग टसल परेपछि अलग पार्टी घोषणा गर्न पुगेका थिए । एमाले अध्यक्ष केपी ओलीसँग विग्रह बढेपछि नेपालले २०७८ भदौ ९ गते आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका थिए ।
तत्कालीन एमालेको बहुमतमा हुँदा पनि नेपालले आफ्नो लामो योगदान रहेको पार्टीलाई फुटाउने जोखिम मोलेका थिए । यही जोखिम मोल्दा बहुमत सदस्यबाट साथ पाएनन् । पार्टी गठन भएदेखि नै एमालेको निशानामा समाजवादी परिरह्यो ।
केन्द्रीय नेता, जिल्ला अध्यक्षदेखि थुप्रै नेता कार्यकर्तालाई एमालेले निरन्तर भित्र्याउँदै आएको छ । पार्टी गठनको अर्को वर्ष २०७९ मा नेपाल कांग्रेस र माओवादीसँग मिलेर चुनाव लडे । प्रत्यक्षतर्फ १० सीट जिताएर संसदमा नेपालले पार्टीलाई उपस्थित गराए ।
उनै नेपाल २०८१ असारमा भएको महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चुनिए । माधव नेपालले चुनौती दिन खोजे पनि नेपाल अन्ततः सर्वसम्मत अध्यक्ष भएका थिए । अध्यक्षमा नेपाल दोहोरिए पनि पार्टी छाड्नेको ताँती सेलाएको छैन ।
१० सांसदमध्ये ३/४ जनाले जतिखेर पनि पार्टी फोर्ने चेतावनी दिँदै आएका छन् । अर्को पार्टीबाट अलग भएको ५ वर्ष नपुगी पुनः फुट्न नपाइने कानूनी बाध्यताले मात्रै नेकपा एस फुट्नबाट जोगिएको बताइन्छ ।
यसैले अध्यक्ष छाड्दा पार्टीको लगाम अर्कोतिर पुग्ने र आफूलाई थप अप्ठ्यारो पर्ने बुझाइमा नेपाल छन् । यसैले उनलाई ठूलै नैतिक प्रश्न नआएसम्म कुनै हालतमा अध्यक्ष पद नछाड्न निकटस्थले सुझाएका छन् । छाड्नै परे विश्वासिलो नेतालाई कार्यवाहक दिनुपर्ने मत एसमा बलियो रहेको नेताहरू बताउँछन् ।