०९ साउन २०८३, शनिबार
इजरायलमै फसे मेयर

इजरायलमा ‘अड्किएका’ विराटनगरका मेयर- २५ पटक बंकरमा बसिसकेँ

असार २, २०८२
विराटनगर
इजरायलमा ‘अड्किएका’ विराटनगरका मेयर- २५ पटक बंकरमा बसिसकेँ

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला यतिबेला द्वद्वग्रस्त इजरायलमा छन् ।  इजरायल-इरानबीच युद्ध चलिरहँदा उनी एक हप्तादेखि इजरायलमा ‘अड्किएका’ छन् ।

सहकारी अभ्यासको अध्ययनका लागि इजरायल पुगेका मेयर कोइरालाले अहिले सुरक्षाका लागि बंकरमा बस्दै आएको बताउँछन् । 

युद्ध चर्किएपछि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएकाले कोइराला स्वदेश फर्किन पाएका छैनन् ।  उनले आफू इजरायलको राजधानीबाट करिब ३० किलोमिटर दूरीमा रहेको सेफाइम शहरमा सुरक्षित रहेको जानकारी दिएका छन् । 

अन्य समयमा बाहिर बसे पनि खतराको संकेत स्वरूप साइरन बजेपछि बंकरमा बस्ने गरेको उनले बताए । ‘खतराको संकेत स्वरूप साइरन बजेपछि बंकरमा बस्नुपर्ने नियम छ’, उनले भने, ‘यहाँ मोबाइलमा साइरन जोडिँदोरहेछ । साइरन बजेको डेढ मिनेटभित्रमा बंकरमा पसिसक्नुपर्छ । त्यहीँ खाने-बस्ने व्यवस्था हुँदोरहेछ । गत शुक्रबारदेखि अहिलेसम्म २५ पटक म बंकरमा छिरेको छु  । बम आउन लाग्यो भनेर भनेपछि, मिसाइल आउन लाग्यो भनेपछि डेढ मिनेटभित्र बंकरभित्र छिर्नुपर्छ ।’ 

बंकरमा खानेकुरा, सुत्ने, एसी–लगायत सबै व्यवस्था भएको मेयर कोइरालाले बताए ।  एक पटकमा २५ देखि ५० जनासम्म बस्न सकिने व्यवस्था रहेको उनले बताए ।  १०–१५ मिनेट बसेपछि सुरक्षित भएको जानकारी आएमा बाहिर निस्कन पाइने उनले बताए । आइतबार  साँझ मात्रै दुई/तीन पटक बंकरमा बस्नुपरेको उनले सुनाए ।

मेयर कोइरालासँगै टोलीमा फिलिपिन्सका दुई सांसदसहित कूल १७ जना जनप्रतिनिधि छन् ।  मेयर कोइरालाले बंकरको अनुभव सुनाउँदै भने, ‘एकैचोटी १००–१५० वटा पठाउँछ । सबै इन्टरसेप्ट गर्छ अथवा निस्तेज पार्छ । एउटा–दुईटा त झुक्किएर झर्छन् । 

इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले मेयर कोइरालालाई भेटेका छन् ।  राजदूतले जोर्डनको लागि भिसा मिलाउने कोसिस गरिरहेको र आफ्नो गाडीमा एयरपोर्टसम्म लिएर लैजाने भनेर  प्रस्ताव गरेको मेयर कोइरालाले बताए । मेयर कोइरालाले त्यहाँका नेपालीसँग भने भेट नभएको बताए । 

उनीहरूको सुरक्षाका लागि १०० जना सुरक्षाकर्मी खटाइएको छ । उनले भने,‘हामीलाई त्यस्तो त्रास हुने अथवा डर हुनेखालको वातावरण यहाँ छैन ।’ 

मेयर कोइरालाको जुन २० तारिखमा नेपाल फर्कने कार्यक्रम रहेको थियो । तर, इजरायलमा आपतकाल लागू गरेर विमानस्थल बन्द गरिएकाले फर्कने मिति अनिश्चित भएको उनले बताए ।

परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि कुराकानी भएको मेयर कोइरालाले बताएका छन् । एयरपोर्ट खुलेपछि मात्र स्वदेश फर्कने उनले बताए । 

संघ तथा प्रदेश सरकारले बजेट ल्याइसकेका छन् । अब स्थानीय सरकारले बजेट ल्याउन बाँकी छ । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहले असार १० गते बजेट ल्याउनुपर्छ । 

बजेट बनाउने बेला मेयर कोइराला भने इजरायलमा ‘अड्किएका’ छन् । मेयर कोइरालाले काम भने नरोकिएको बताए । 

‘सिलिङहरू सबै मिलाएर आएको थिएँ, बजेटको सबै मिलाएर आएको थिएँ । वडालाई दिने सिलिङहरू सबै दिइसकेको छ । खाली इन्डोर्स गर्न मात्र बाँकी छ ।’ 

उनले परिषद्लाई शुरू गराएर स्थगित गर्न र आफू आएपछि टुङ्ग्याइदिने निर्देशन दिएको मेयर कोइरालाले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्