०३ साउन २०८३, आइतबार

वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

असार ८, २०८२
विरगञ्ज
वीरगञ्ज नाकाबाट एक खर्ब ७४ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब ७४ अर्ब नौ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । 

डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी), एभिएसन टर्बाइन फ्युल (एटीएफ) र मट्टितेल आयात भएको हो । 

समग्रमा गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा पाँचथरिका पेट्रोलियम पदार्थ आयात भने एक अर्ब ६ करोडले घटेको छ । सो अवधिमा मूल्यका आधारमा पेट्रोलियम पदार्थको आयात घटे पनि सोबाट प्राप्त हुने राजस्व भने ११ दशमलव ६६ प्रतिशत अर्थात् सात अर्ब ६४ करोडले बढेको छ ।   

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार कार्यालयले चालु आवको ११ महिनामा सबैभन्दा धेरै राजस्व पेट्रोलियम पदार्थको आयातबाट भएको छ । यहाँको राजस्व पेट्रोलियम पदार्थको आयात र सवारीसाधनको आयातमा निर्भर रहेको छ । 

चालु आवको ११ महिनामा पाँचथरिका पेट्रोलियम पदार्थको आयातबाट कार्यालयले ७३ अर्ब १८ करोड संकलन गरेको छ । जबकि गत आवको सोही अवधिमा पाँचैथरिका पेट्रोलियम पदार्थको आयातबाट ६५ अर्ब ५४ करोड संकलन भएको छ । 

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवको जेठ मसान्तसम्म ८९ अर्ब ७६ करोड मूल्य पर्ने १० लाख ३० हजार २५३ किलोलिटर डिजेल आयात भएको छ । गत आवको सोही अवधिमा भने ९३ अर्ब ६३ करोड मूल्य पर्ने नौ लाख २१ हजार २७५ किलोलिटर डिजेलको आयात भएको छ । 

डिजेल आयातबापत कार्यालयले ४१ अर्ब तीन करोड राजस्व संलन गरेको छ भने गत आवको सोही अवधिमा भने  ३६ अर्ब चार करोड संकलन गरेको थियो ।  

त्यसैगरी, चालु आवको ११ महिनामा ३५ अर्ब ३४ करोडको चार लाख १३ हजार ५०४ किलोलिटर पेट्रोल आयात भएको छ । जबकि गत आवको ११ महिनामा ३६ अर्ब चार करोडको तीन लाख ६१ हजार ७२७ किलोलिटर पेट्रोलको आयात भएको छ । पेट्रोल आयातबाट कार्यालयले २३ अर्ब ३८ करोड राजस्व संकलन गर्‍यो भने गत आवको सोही अवधिमा २० अर्ब ७३ करोड संकलन गरेको छ । 

यो नाका हुँदै चालु आवको ११ महिनामा ३३ अर्ब ३५ करोडको २९ करोड १४ लाख २० हजार २०९ किलोग्राम एलपीजी ग्यास आयात भएको छ । जबकि गत आवको सोही अवधिमा २७ अर्ब ७१ करोडको २५ करोड ७९ लाख ३८ हजार ९७६ किलोग्राम एलपीजी ग्यास आयात भएको छ । 

ग्यास आयातबापत ६ अर्ब २४ करोड राजस्व संकलन गर्‍यो भने गत आवको सोही अवधिमा ग्यास आयातबाट पाँच अर्ब १६ करोड संकलन गरेको छ । 

वीरगञ्ज नाका हुँदै चालु आवको ११ महिनामा १५ अर्ब तीन करोड मूल्यको एक लाख ६७ हजार ३९८ किलोलिटर एटीएफ आयात भएको छ । जबकि गत आवको ११ महिनामा भने १७ अर्ब ११ करोड मूल्यको एक लाख ६१ हजार ८९२ किलोलिटर एटिएफ आयात भएको छ । एटीएफ आयातबापत दुई अर्ब ३५ करोड संकलन गर्न सफल भएको छ । गत आवको सोही अवधिमा दुई अर्ब ४७ करोड राजस्व संकलन गरेको थियो । 

यो नाका हुँदै चालु आवको ११ महिनामा ५९ करोड मूल्य पर्ने ६ हजार ७३० किलोलिटर मट्टितेल आयात भएको छ । गत आवको सोही अवधिमा भने ६३ करोड मूल्यको छ हजार १२० किलोलिटर मट्टितेल आयात भएको छ । 

मट्टितेल आयातबाट १६ करोड राजस्व संकलन गर्‍यो भने गत आवको सोही अवधिमा १६ करोड नै राजस्व संकलन गरेको थियो ।     
 

salt training

कमेन्ट गर्नुहोस्