
इरानी आक्रमणपछि बन्द हवाई क्षेत्र कतारले पुन: खोलेको छ । हवाई क्षेत्र खुलेसँगै कतार एयरवेजले उडानहरू पुनः शुरू गर्ने घोषणा गरेको दोहा न्यूजले जनाएको छ ।
कतार एयरवेजले हमाद अन्तर्राष्ट्रिय विमानस्थल र अन्य प्रमुख विमानस्थलहरूमा अवरोधहरू कम गरेर र सबैलाई अत्यधिक हेरचाह र सहयोग प्रदान गरेको पनि जनाएको छ । हवाई उडान पुनः शुरू हुँदा आफ्नो उडान तालिकामा उल्लेखनीय ढिलाइ हुने कतार एयरवेजले जनाएको छ ।
कतारले अहिले कुनै गम्भीर खतरा नरहेको भन्दै त्रसित नहुन आफ्ना नागरिकलाई भनेको छ । कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले अमेरिकी अल उदेइद हवाई अड्डामा इरानको क्षेप्यास्त्र आक्रमणपछि देशको अवस्था स्थिर भएको बताएका छन् । 'हामी नागरिक र बासिन्दाहरूलाई आश्वस्त पार्छौं कि कतारको अवस्था सामान्य छ । हाल जनजीवन सामान्यमा फर्किरहेको छ,' अल-अन्सारीले कतार टेलिभिजनमा भनेका छन् ।
दुई दिनअघि इरानी आणविक स्थलहरूमा अमेरिकी आक्रमणको बदलास्वरूप सोमबार राति इरानले कतारमा रहेका अमेरिकी सेनाको अड्डामा आक्रमण गरेको थियो । कतारमा रहेको सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा अल उदेइदलाई लक्षितगरी इरानले आक्रमण गरेको थियो ।
अमेरिकी सैन्य अड्डामा भएको आक्रमणको विश्वव्यापी निन्दा भएको छ, जसमा कतारले यसलाई आफ्नो सार्वभौमिकताको घृणित उल्लङ्घन भनेर वर्णन गरेको छ।
तर, हाल इरान र इजरायलबीच युद्धविराम सहमति भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गरेका छन् । इरान र इजरायल दुवैले आधिकारिकरूपमा स्वीकार नगरे पनि ट्रम्पको घोषणा अस्वीकार गरेका छैनन् । दुवैले युद्धविराम हुनसक्ने संकेत गरेका छन् । तर, शंका भने कायमै छ ।