
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको ११ औं महाधिवेशन छिटो गर्ने मानसिकतामा देखिएका छन् । चौतर्फी दबाब र चुनौतीलाई चिर्न ओलीले यस्तो रणनीति बनाएको नेताहरू बताउँछन् ।
एमालेको विधानमा ‘राष्ट्रिय महाधिवेशन पार्टीको सर्वोच्च संस्था हुनेछ र यसको आयोजना केन्द्रीय कमिटीले सामान्यतया हरेक ५ वर्षमा गर्नेछ,’ भन्ने उल्लेख छ । विशेष परिस्थिति आउँदा ६ महिना घर्काउने सुविधा पार्टी नेतृत्वलाई हुनेछ । २०८३ मंसिर १३ गते एमालेको वर्तमान कार्यसमितिको समय सकिने छ । तर, एमालेमा देखिँदै आएको शक्ति संघर्षका कारण छिट्टै महाधिवेशन गर्ने मानसिकतामा नेतृत्व देखिएको हो ।
केही अगाडिसम्म विधान महाधिवेशनका लागि समेत नहतारिने पक्षमा एमाले नेतृत्व थियो । तर, बुधबार बसेको सचिवालय बैठकले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन गर्ने निर्णय गरेको हो । यसका लागि अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रस्ताव तयार गर्ने निर्णय बैठकले गरेको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विधान महाधिवेशन समयमै गरेर पार्टी महाधिवेशनमा होमिने बताए ।
‘केही आन्तरिक तयारीमा लाग्नुपर्ने भएपछि महाधिवेशन पनि सार्ने कि भन्ने बहस पनि भएको थियो । तर, अलि राम्रो तयारी गर्दा एक/डेढ महिनामा विधान महाधिवेशन गर्न सकिने हाम्रो निष्कर्ष छ । अहिले पार्टी विधान महाधिवेशनकै तयारीमा अगाडि बढ्ने निर्णय बुधबारको सचिवालय बैठकले गरेको छ,’ गौतमले लोकान्तरसँग भने, ‘भदौमा विधान महाधिवेशन भएपछि ५ वर्षभित्रै २०८३ मंसिरमा एमालेले ११ औं राष्ट्रिय महाधिवेशन गर्नेछ । तर, हामी अर्ली महाधिवेशन भनेरै लाग्दैनौं ।’
नियमित महाधिवेशनमा कुनै हालतमा ढिलाइ नहुने गौतमको दाबी छ ।
‘विधान महाधिवेशन समयमा गर्नु भनेको नियमित महाधिवेशनकै तयारी हो । यसैले विधान महाधिवेशन समयमै गर्ने गरी समिति बनाउने काम तथा पार्टीको केन्द्रीय कमिटी र स्थायी कमिटी बैठक पनि डाकी सकिएको छ,’ गौतमले भने, ‘एमालेका कार्यसमितिको म्याद पाँच वर्ष हो । चार वर्ष मंसिरमा पूरा हुन्छ । चार पूरा गरेपछि पाँच वर्षभित्र एमालेको महाधिवेशन हुन्छ । कुनै पनि हालतमा चुनावपछि जाँदैन ।’
किन छिटो महाधिवेशन गर्न चाहन्छन् ओली ?
आन्तरिक समीकरण, उमेर हद र कार्यकालको अनावश्यक विवादले अध्यक्ष ओली केही दबाबमा छन् । यसैले छिट्टै विधान महाधिवेशन गर्ने र महाधिवेशन गर्न पनि ढिलाइ नगर्ने मानसिकतामा ओली रहेको उनीनिकट स्रोत बताउँछ । एमालेका एक पदाधिकारी पार्टी नेतृत्वले आफ्ना लागि सबै हिसाबले महाधिवेशन गर्ने अनुकूल समय हेरेको बताउँछन् ।
‘पार्टीमा यसअघि चुनावपछाडि नै महाधिवेशन गर्नुपर्छ कि भन्ने मत पनि थियो । तर, २०८४ को चुनाव र पार्टीभित्रैको आन्तरिक समीकरणको दबाबबीच नेतृत्वले २०८३ मै पनि महाधिवेशन गर्न चाहे हुने स्थिति छ,’ ती पदाधिकारी भन्छन्, ‘पूर्व राष्ट्रपति भण्डारीको पनि मुभमेन्ट देखिन्छ । नेतृत्वले महाधिवेशनमा यी सबै विषयलाई आधार मानेर उपयुक्त समय हेर्छजस्तो देखेका छौं ।’
तर, अध्यक्ष ओलीले कोर टीमबाहेकसँग महाधिवेशनको विषयमा पर्याप्त छलफल गर्ने गरेका छैनन् ।
‘हामी पनि जिम्मेवार पदाधिकारी हौं । तर, महाधिवेशनबारे खुलेर छलफल भएको छैन,’ एमालेका एक पदाधिकारी भन्छन्, ‘यसअघि ढिला महाधिवेशन गर्दा पनि ठीकै हुने बुझाइ नेतृत्वको पाएका थियौं । तर, पछिल्लो केही कदमले अध्यक्ष नै छिटो महाधिवेशन गर्दा उपयुक्त हुन्छ भन्नेमा पुग्नुभएको छ जस्तो लाग्छ ।’

ओली तेस्रोपटक अध्यक्ष हुने चाहनामा छन् । आफ्नो चाहनामा कसैले पनि अवरोध नगरोस् भन्नेमा ओली देखिन्छन् । तर, पूर्व राष्ट्रपति विद्या भण्डारीमा पनि एमालेको अध्यक्ष हुने तीव्र आकांक्षामा छिन् ।
ओलीसहितका धेरै नेतालाई झस्काउने गरी विद्याले देश दौडाहा, भेटघाट, गुटबन्दी सबै गर्दै आएकी छन् । यसैले पनि ओली विधानको दुई कार्यकाल नमान्ने र ७० वर्षे उमेरहद नलगाउने तयारीमा छन् । अरूले धेरै नखेलुन् भनेरै ओलीलाई विधान महाधिवेशनबाट आफ्नो अनुकूलताको निर्णय गराउने र पार्टीका गतिविधिलाई नियमित गर्ने रणनीति अख्तियार गरेका छन् ।
विधान महाधिवेशनबाट नयाँ नेतृत्वका लागि रणनीतिक आधार बनाउने गरी ओली अगाडि बढेका छन् । विधान महाधिवेशनबाट संरचना परिवर्तन, विधान संशोधन, राजनीतिक र सांगठनिक प्रस्तावमा आफ्नो अनुकूलताको तयारी गर्नेमा ओली छन् । आफ्नो लागि सहज व्यवस्था गरेर ओलीले छिट्टै महाधिवेशन गर्न सक्दा अरूलाई खेल्ने ठाउँ कम हुने ठानेका छन् ।
‘भण्डारीले पनि महत्त्वाकांक्षा राखेपछि अध्यक्ष ओलीले दबाब महसुस गर्नुभएको देखिन्छ । इच्छा नहुँदानहुँदै भण्डारीलाई भेट्न जानुपर्ने र भेट्न बोलाउनुपर्ने स्थितिमा उहाँ हुनुहुन्छ,’ एमालेका एक नेता भन्छन्, ‘यसैले ढिलो गर्दा अरू दाबेदारलाई खेल्न सहज हुने, गुटबन्दी झन् झाँगिने पनि हुन सक्छ । यसैले छिटो महाधिवेशन गर्ने उहाँको चाहना हुन सक्छ ।’

सचिवालयको बैठकमा बुधबार अध्यक्ष ओलीले केन्द्रीय समितिले हटाइसकेको ७० वर्षे उमेरहदको विषयमा लफडा निकाल्न खोजिएको भन्दै आपत्ति नै जनाएका छन् ।
‘७० वर्षे कार्यकालसम्बन्धी झिक्न आवश्यक नभएको विवादमा साथीहरू लाग्नुभएको छ । यो आवश्यक छैन । केन्द्रीय समितिले हटाइसकेको छ । अब यसलाई विधान महाधिवेशनले अनुमोदन गर्ने मात्रै हो,’ ओलीको भनाइ उद्धृत गर्दै एमालेका एक पदाधिकारीले भने, ‘दुई कार्यकालको विषयमा पनि लफडा झिक्नुपर्ने स्थिति छैन । नेकपासँगै यो अन्त्य भइसक्यो ।’
एमाले प्रचार विभाग प्रमुख गौतम पनि अरू दौडाहा, गुटबन्दीभन्दा महाधिवेशनको मैदानमा दाबेदार होमिनुपर्ने बताउँछन् ।
‘कसलाई के इच्छा छ भनेर बाहिरबाट भनेर हुँदैन । पार्टीका औपचारिक फोरममा प्रवेश गरेर दाबेदारी बढाउने हो,’ गौतमले भने, ‘महाधिवेशनको मैदानमा भाग लिने हो । आमनेसामने हुने हो । अनावश्यक रूपमा उमेरहदको ७० वर्षको प्राविधिक र कार्यकालको कुरा गरेर हुँदैन ।’
७० वर्षको उमेरहदलाई पार्टीको सिद्धान्तजस्तो बनाउन खोजिनु अनुचित भएको उपमहासचिव प्रदीप ज्ञवाली बताउँछन् । ‘यो विषयमा धेरै अनुमान गर्ने र यसलाई सिद्धान्तको विषय बनाउनु उचित होइन, किनकि यो प्राविधिक र व्यवहारिक विषय मात्रै हो,’ ज्ञवालीले भने, ‘कस्तो नेतृत्व चाहिन्छ भन्ने कुरालाई तय महाधिवेशनले गर्छ । विधान संशोधनका क्रममा स्वीकार्ने स्थिति आवश्यकता, परामर्श र प्रतिनिधिले निर्णयले टुंगोमा पुग्ने हो । यसैले अहिले नै धेरै अनुमान गर्नु जरुरी देखिँदैन ।’
ज्ञवालीले पनि ७० वर्षे उमेरहद राख्ने पक्षमा नभएको प्रस्टै संकेत दिए । ‘हिजो एउटा आवश्यकताले राख्यौं । तर, अभ्यासमा कहीँ बाधक हुने रहेछ भनेर रियालाइजेसन सचिवालयले नै गरेको हो । त्यसपछि केन्द्रीय कमिटीले स्थगनको निर्णयलाई केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेको हो,’ ज्ञवालीले भने, ‘मार्क्सवादले उमेर हद राख र नराख भनेको छैन । राख्नुपर्छ भन्ने क्रान्तिकारी हुने र अरू नहुने भन्ने पनि होइन । आवश्यकता भए राखिन्छ, नत्र फालिन्छ ।’

७० वर्ष उमेरहद कायम भए ७३ वर्ष भइसकेका ओली पार्टी नेतृत्वमा आउन पाउँदैनन् । अर्कोतिर नेतृत्वमा आँखा लगाइरहेकी भण्डारीका लागि बाटो खुल्न सक्नेछ । उमेरहद कायम गराउने पक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेता लागेका छन् । तर, ओलीले विधान संशोधनको प्रस्ताव तयार गर्ने जिम्मा उपाध्यक्ष विष्णु पौडेललाई दिएका छन् ।
केही दिनअघि ओलीले ‘कसैले हतार गरेर हुँदैन । २०/२५ वर्षपछि मात्रै बुढो हुन्छु । ओलीविनाको एमाले कसैले कल्पना नगरे हुन्छ,’ भनेका थिए ।
नाम नलिए पनि ओलीको भनाई भण्डारीप्रति नै लक्षित थियो । नेकपा एमालेले २०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनमा दशौं महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएका थिए ।
अध्यक्षमा भीम रावल प्रतिस्पर्धामा उत्रिए पनि ओलीले सहजै जीत हात पारेका थिए ।
पढ्नुहोस्, यो पनि :