![१२ वर्षदेखि राज्य सञ्चालकलाई गिज्याइरहेका राजधानीका दुई पुल [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/kathmandu_tinkune_teku_pool_bridge_9_1_K196Xi3yBf.jpg)
एकै समयमा निर्माण शुरू भएका काठमाडौंको तीनकुने र टेकु-कालीमाटी पक्की पुल अहिलेसम्म अलपत्र छन् । सँगै काम थालिएका बिजुलीबजार र डल्लुको पुल सञ्चालनमा आएको लामो समय भइसके पनि तीनकुने र टेकु पुलको अवस्था भने अझै जस्ताको तस्तै छ ।
२०७१ सालमा पप्पु कन्स्ट्रक्सन प्रालिले काठमाडौंका चार पक्की पुलको ठेक्का पाएको थियो । एउटा प्याकेजमा टेकु र डल्लु पुल अनि अर्को प्याकेजमा तीनकुने र बिजुलीबजार पुल ठेक्का लगाइएको थियो ।
पप्पु कन्स्ट्रक्सनले चारवटै पुलको निर्माण २०७४ सालमा सक्नेगरी सम्झौता भएको थियो । म्याद थप्दाथप्दै २०७६ सालमा बिजुलीबजारको पुल सञ्चालनमा आयो । डल्लु पुल २०७८ मा तयार भएर प्राविधिक जाँचपछि कम्पनीले सरकारलाई हस्तान्तरण गर्यो र सञ्चालनमा आयो ।
तर, टेकु पुलमा भने निर्माण कम्पनीको बदमासी फेला पर्यो । त्यसपछि प्राविधिक समस्या आएको भन्दै सरकारले तयार भएको पुल बन्द गरेको थियो ।

अलपत्र पुल सञ्चालन गर्ने कि भत्काउने भन्ने विषय अझै अन्योलमा छ । गत जेठ २० गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पुलको लोड टेस्ट गरेर सञ्चालन गर्नेतर्फ सरकार लागिरहेको बताएका थिए ।
प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री दाहालले सञ्चालन गर्न योग्य भएको खण्डमा लोड टेस्ट गरेर सञ्चालनमा ल्याउने तयारीमा आफूहरू लागिपरेको बताएका थिए ।

तीनकुनेको पुल त झन् बन्दै बनेन । २०७१ सालमै ठेक्का लगाइएको यो पुल निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको प्रमाणित भइसकेको छ । तोकिएभन्दा फरक डिजाइन र कमसल तरिकाले निर्माण थालेपछि सडक विभागले बीचमै काम रोकिदिएको थियो ।

२०७७ सालमा काम रोकिएकोमा अहिलेसम्म शुरू भएको छैन । गुणस्तरहीन काम भएपछि ढलान गर्ने अवस्थामा पुगेको पुल सरकारले भत्काएको थियो । अहिले पुलको वारिपारि दुईवटा पिलर र बेसमेन्ट मात्र देखिन्छ।
पुल बनाउन खनिएको खाल्डोमा मोटरसाइकल खस्दा २०८० असोज १४ गते एक जनाको मृत्यु भएको थियो ।





