
अमेरिकाको टेक्सासमा आएको आकस्मिक बाढीमा परेर कम्तीमा २४ जनाको मृत्यु भएको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार स्यान एन्टोनियो शहरदेखि १०४ किलोमिटर उत्तरपश्चिममा रहेको ख्रीष्टियन ग्रीष्मकालीन शिविर ‘क्याम्प मिस्टिक’मा सहभागी केही बालिका सम्पर्कविहीन भएका छन् ।
उद्धारकर्मीहरूले बालिकाहरूको खोजीमा हेलिकोप्टर, डुंगा र ड्रोनको सहयोगमा रातभरि खोजी कार्य जारी राखेका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार ७५० बालिका सहभागी उक्त शिविरबाट करिब २५ जना बालिकासम्म सम्पर्कमा आउन सकेका छैनन् । शिविर क्षेत्रमा विद्युत्, खानेपानी र सञ्चार सेवा अवरुद्ध भएकाले उद्धार र सम्पर्कमा कठिनाइ भइरहेको छ । शिविर सञ्चालकले स्थानीय प्रशासनलाई सहयोग मागेका छन्।
ग्वाडालूप नदीको जलस्तर एक घण्टामै २६ फिटले बढेपछि आएको आकस्मिक बाढीले घर, गाडी, शिविरका क्याबिन र मोबाइल होमहरू बगाएको छ । बाढी प्रभावित क्षेत्रमा सडक भत्किएका छन्, फोन लाइनहरू काटिएका छन् र आपतकालीन अवस्था घोषणा गरिएको छ ।
घटनास्थलका प्रत्यक्षदर्शीहरूका अनुसार बाढीको समयमा धेरै बालबालिका र नागरिक घर तथा सवारीसाधनभित्र थुनिएका थिए । उद्धार प्रयासका क्रममा हेलिकोप्टरहरूले रुखमा अड्किएका मानिसहरूलाई समेत सुरक्षित स्थानमा पुर्याएको बताइएको छ ।
टेक्सासका उपराज्यपाल ड्यान प्याट्रिकले बाढीलाई ‘विनाशकारी’ भन्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् । उनले अभिभावकहरूलाई अफवाहमा नपर्न आग्रह गर्दै सम्पर्कविहीन बालिकाहरू सबै हराएका होलान् भन्न नसकिने बताए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घटनालाई ‘भयानक’ भन्दै दुःख व्यक्त गरेका छन् । ह्वाइट हाउसले बाढी पीडित क्षेत्रमा तत्काल सहायता पुर्याउने प्रतिबद्धता जनाएको छ ।