
जल तथा मौसम विज्ञान विभागले नुवाकोट जिल्लास्थित त्रिशुली नदीको जलस्तर सतर्कता तह नजिक पुगेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
विभागका अनुसार असार २४ गते विहान ६:१० बजे बेत्रावती जलमापन केन्द्रमा मापन गरिएको जलसतह सतर्कता तह आसपासमा पुगेको र अझै बढ्दो क्रममा रहेको देखिएको हो।
यस्तो अवस्थामा नदीको तल्लो तटीय क्षेत्रहरूमा बाढीको सम्भावना रहने भएकाले स्थानियवासीलाई आवश्यक सतर्कता अपनाउन भनिएको छ।
“त्रिशुली नदी आसपासका बासिन्दाले सतर्कता अपनाउन जरुरी छ,” विभागको सूचनामा उल्लेख गरिएको छ। विभागले सम्भावित जोखिम न्यूनिकरणका लागि समयमै सावधानी अपनाउन आग्रह गरेको छ।