
नेपालको समग्र वित्तीय अवस्था सुदृढ देखिएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित वार्षिक विन्दुगत मुद्रास्फीति २.७२ प्रतिशतमा सीमित रहँदा देशको शोधनान्तर स्थिति समेत ४९१ अर्ब ४४ करोडले बचतमा देखिएको हो ।
यस अवधिमा आयात १३.१ प्रतिशतले बढ्दा निर्यातमा पनि ७७.८ प्रतिशतले वृद्धि भएको छ । विप्रेषण आप्रवाह पनि उत्साहजनक देखिएको राष्ट्र बैंकले जनाएको छ ।
नेपाली रुपैयाँमा १५.५ प्रतिशत र अमेरिकी डलरमा १२.७ प्रतिशतले विप्रेषण बढेको हो। २०८२ सालको जेठ महिनामा मात्रै १७६ अर्ब ३२ करोड विप्रेषण भित्रिएको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।
देशको कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ६५ करोड पुगेको छ, जसले अर्थतन्त्रको स्थायित्वमा विश्वास बढाएको छ ।
यस्तै, नेपाल सरकारको कुल खर्च १२ खर्ब ८२ अर्ब ९४ करोड पुगेको छ भने राजस्व परिचालन १० खर्ब १६ अर्ब ९ करोडमा सीमित छ ।
त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले निक्षेप सङ्कलनमा ८.० प्रतिशत वृद्धि गरेका छन् । निजी क्षेत्रलाई प्रवाहित कर्जा पनि सोही अनुपातमा बढेको छ । वार्षिक विन्दुगत रूपमा हेर्दा निक्षेप वृद्धिदर १२.० प्रतिशत र निजी क्षेत्रमा कर्जा प्रवाह वृद्धिदर ८.७ प्रतिशत रहेको छ ।
समग्रमा, राष्ट्र बैंकको पछिल्लो विवरणले अर्थतन्त्र स्थिर अवस्थामा रहेको संकेत दिएको छ, जहाँ मुद्रास्फीति नियन्त्रणमा राखिँदै राजस्व, विप्रेषण र विदेशी मुद्रा सञ्चिति जस्ता सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख देखिएका छन् ।