२७ जेठ २०८३, बुधबार
तस्करीको जालो

लागुऔषध तस्करीको नयाँ रुट : अजरबैजान र बैंककबाट भरिया खटाउने गिरोह एउटै !

असार ३०, २०८२
काठमाडौं
लागुऔषध तस्करीको नयाँ रुट : अजरबैजान र बैंककबाट भरिया खटाउने गिरोह एउटै !

लागुऔषध नियन्त्रण ब्यूरो (एनसीबी) ले पाँच दिनको अन्तरालमा अन्तर्राष्ट्रिय अवैध बजारमा महंगो मूल्य पर्ने दुई ‘क्याटोगरी’ का लागुऔषध बरामद गर्‍यो ।

असार २१ गते राति ११ बजे थाई एयरवेजको उडानबाट बैंकक हुँदै काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिएका भारतीय नागरिक राकेश वाहव ६ किलो ५०० ग्राम सेतो हेरोइनसहित पक्राउ परेका थिए ।

असार २५ गते अपरान्ह चार बजे कतार एयरवेजको उडानबाट काठमाडौं उत्रिएका अर्का भारतीय नागरिक अब्दुल समाज जमाल मन्सुरी तीन किलो ४०० ग्राम कोकिनसहित पक्राउ परे ।

बैंककबाट सेतो हेरोइन आउनु नौलो कुरा थिएन । तर, यसअघि कारोबारीले भारत बाहेकका अन्य देशका नागरिकलाई भरिया बनाएर सेतो हेरोइनको तस्करी गराउँथे । तर, योपटक भारतीय नागरिक वाहवलाई भरिया बनाएर पठाएका थिए ।

वाहवको ‘ट्राभल हिस्ट्री’ हेर्दा उनी भारतबाट लाओसका लागि ३० जुन, २०२५ मा उडेका थिए । उनी लाओसबाट १ जुलाई, २०२५ मा बैंकक हुँदै काठमाडौं उत्रिएको देखिन्छ । प्रहरीसँगको बयानमा वाहवले बताएअनुसार एक दिन मात्रै बैंकक बसेका उनलाई होटलमा एउटी महिलाले सेतो हेरोइन दिएकी थिइन् ।

कारोबारीसँग ह्वाट्सएपमा कुरा हुँदा काठमाडौं पुगेपछि होटलको फोटो खिचेर पठाउनु भनेका थिए । वाहव पहिलोपटक बैंकक गएको देखिन्छ ।

वाहव काठमाडौं त उत्रिए, तर होटलमा जान पाएनन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खटिएको एनसीबीको टोलीले ‘क्रिमिनल प्रोफाइलिङ’ गर्दै गर्दा वाहवले शंकास्पद व्यवहार देखाएपछि उनको लगेज जाँच गरेको थियो ।

लगेजमा लुकाएर ल्याएको सेतो हेरोइन फेला परेपछि उनलाई एनसीबीले कोटेश्वरस्थित आफ्नो कार्यालयमा लगेर केरकार गर्‍यो । केरकार गरिरहेकै बेला बैंककबाट कारोबारीले वाहवलाई फोन समेत गरेका थिए ।

उनले आफू काठमाडौं उत्रिएको र होटलमा बसिरहेको बताए । त्यसपछि कारोबारीले होटलको फोटो खिचेर पठाउन भने । प्रहरीको सुझावअनुसार वाहवले दिल्ली पुगेर मात्रै फोटो पठाउने जवाफ दिए ।

वाहवमाथि केरकार चल्दै गर्दा मन्सुरी समातिएका थिए । उनले कोकिन बोकेर ल्याएका थिए । मन्सुरीको ट्राभल हिस्ट्री हेर्दा उनी ३० जुन, २०२५ मा भारतबाट अजरबैजान पुगेको देखिन्छ । त्यहाँ एक दिन मात्रै बिताएर १ जुलाई, २०२५ मा काठमाडौं उत्रिएका थिए । एनसीबीले वाहवलाई जसरी नै क्रिमिनल प्रोफाइलिङ गर्ने क्रममा मन्सुरीले देखाएको असहज व्यवहारपछि लगेज जाँच गरेको थियो । लगेजभित्र फल्स बटम बनाएर ल्याएको तीन किलो ४०० सय ग्राम कोकिन बरामद गरेर प्रहरीले आफ्नो कार्यालय लग्यो ।

प्रहरीले बयान लिँदा ‘एस’ ४४७०३३ नम्बरको राहदानीबाहक मन्सुरीले आफूलाई उक्त कोकिन अजरबैजानमा बस्दा होटलमा एउटी महिलाले ल्याएर छाडिदिएको बताएका छन् । मन्सुरी पनि पहिलोपटक अजरबैजान गएको देखिन्छ ।

सामान्यत: कारोबारीले नेपाललाई ट्रान्जिट बनाएर भरियामार्फत ब्राजिल, इथियोपिया हुँदै कोकिन काठमाडौं ल्याउने गर्थे । एनसीबीले यसअघि दर्जनौंपटक कोकिन बरामद गरिसकेको छ । तर, यो पटक भने अजरबैजानबाट ल्याएको देखियो । र, त्यो पनि भारतीय नागरिकलाई भरिया बनाएर । कारोबारीले कोकिनका लागि नयाँ ‘रुट’ चलनमा ल्याएको आशंका प्रहरीको छ ।

प्रहरीसँगको बयानमा वाहव र मन्सुरीले उक्त लागुऔषध गन्तव्यमा पुर्‍याएबापत कारोबारीले राम्रै रकम दिने आश्वासन दिएको उल्लेख गरेका छन् । तर, कति रकम दिन्छन् भन्ने बताएनन् । दुवै विवाहित हुन् ।

‘मलाई पैसाको खाँचो थियो, अजरबैजान घुमेर आइज, टु–वे टिकट र होटलको खर्च ब्यहोर्छौं भनेपछि म गएँ,’ मन्सुरीको बयान उद्धृत गर्दै एनसीबी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णप्रसाद कोइरालाले लोकान्तरसँग भने, ‘म पक्राउ परेपछि मेरो परिवार बिचल्लीमा पर्ने भए ।’

वाहवको पनि उस्तै चिन्ता थियो । वाहवले भने बैंककमा ‘पार्सल’ दिँदा उक्त वस्तु सुन भएको बताएका थिए । आफूले पैसाकै लागि उक्त चुनौती मोलेको उनले प्रहरीसँगको बयानमा उल्लेख गरेका छन् । एसएसपी कोइरालाका अनुसार मन्सुरी र वाहवलाई भरिया बनाउने काममा एउटै गिरोहको संलग्नता देखिएको छ ।

‘भरिया छान्नेदेखि लिएर होटलमा बस्दा महिलाबाटै पार्सल बुझाउने र काठमाडौं र दिल्लीबाट होटल र गाडीको फोटो समेत पठाउनु भन्नुले मन्सुरी र वाहवलाई भरिया बनाउने एउटै गिरोह भएको हाम्रो अनुसन्धानबाट खुलेको छ,’ कोइरालाले भने, ‘मुख्य कारोबारीका बारेमा भने दुवै बेखबर छन् । उनीहरूलाई सामान गन्तव्यमा पुर्‍याएबापत राम्रै पैसा दिने आश्वासन दिएका थिए, जुन कुरा दुवै जनाले स्वीकारेका छन् ।’

salt training

कमेन्ट गर्नुहोस्