
ललितपुर खोकनाका आशाराम डंगोल पेशाले सुनचाँदीको गरगहना बिक्री गर्ने व्यवसायी हुन् । उनको यो पुस्तौनी पेशा हो ।
पसलमा बसिरहेका बेला ‘सुन बिक्री गर्नुछ’ भन्दै एउटा गिरोह उनको पसलमा पुग्यो । डंगोलले आफूले बिल बिजक नभएको सुन नकिन्ने भन्दै फर्काइदिए ।
अर्कोदिन त्यही गिरोहका सदस्यले पुन: डंगोलको पसलमा पुगेर सुन भन्दै नक्कली सुनको ढिक्का देखाए । गिरोहमध्येका ताप्लेजुङ घर भएर सातदोबाटो बस्ने कर्णध्वज लिम्बूले ‘४४ तोला सुन २५ लाखमा बिक्री गर्न लागेको, किन्ने भए खबर गर्नू’ भन्दै डंगोलको पसलमा मोबाइल नम्बर छाडेर गए ।
डंगोलले सस्तोमा सुन पाइने भयो भन्दै लिम्बूलाई सम्पर्क गरे । लिम्बू पसलमा पुगे । नक्कली सुनको ढिक्काको छेउमा सुनको जलप लगाइएको थियो ।
लिम्बूले चलाखीपूर्ण तबरले त्यही जलप कागजमा झारेर ‘नक्कली भनेर तर्सिएको हो कि क्या हो ? सुन हो कि होइन जाँच गर्नू’ भन्दै डंगोललाई विश्वासमा लिन नाटक गरे । डंगोलले ढिक्काबाट खसालिएको धूलो जाँच गरे । सुन रहेको थाहा पाएपछि उनले किन्ने मुड बनाए ।
हातमा लामाले बोक्ने माला जप्दै लिम्बूले भनेका थिए, ‘म लामा पढेको मान्छे हुँ । पहिला रसुवा बसेका बेला यो सुन हात लागेको थियो । बेच्न खोजेको, बिल छैन । त्यही भएर २५ लाखमै बेच्न लागेको हो ।’
डंगोलले पैसाको जोहो गरेर सम्पर्क गर्ने बताए । पैसाको व्यवस्था भएपछि डंगोलले लिम्बूलाई ‘सुन लिएर पसलमा आउनू’ भने । बाठो लिम्बूले ‘बिल नभएको सुन पसलमा कारोबार गर्नुहुँदैन, प्रहरीले थाहा पायो भने पसलको सुन पनि लैजान्छ, सीतापाइला आउनू’ भने । डंगोल पैसा बोकेर सीतापाइला पुगे । सीतापाइलाको एक क्याफेमा लिम्बूसहित उनको गिरोहमा रहेका ताप्लेजुङकै वीरेन लिम्बू र रामेछापका विजन तामाङ डंगोललाई कुरेर बसेका थिए ।
डंगोललाई देख्नेबित्तिकै लिम्बूले सुन भन्दै नक्कली सुनको ढिक्का दिए । त्यसपछि २५ लाख रुपैयाँ लिएर ठोके । डंगोल पनि खुसी हुँदै डंगोल पसलमा आएर सुन पगाल्न थाले । तर, लिम्बूको गिरोहबाट खरिद गरेको सुन भनिएको डल्लो पित्तल, तामा र अन्य धातु मिसाएर बनाइएको थियो ।
त्यसपछि डंगोलले लिम्बूलाई फोन गर्न थाले । लिम्बू सम्पर्कविहीन भइसकेका थिए । अनि थाप्लोमा हात राख्दै डंगोल उजुरी लिएर प्रहरीको पुगे ।
पाँच महिनाअघि डंगोल यसरी ठगिएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले यही असार ३० गते मात्रै लिम्बूको गिरोहलाई पक्राउ गरेको छ ।
डंगोललाई जस्तै लिम्बूको गिरोहले काठमाडौंमा पठाओ चलाउँदै आएका रामचन्द्र गहतराजसँग सात लाख रुपैयाँ ठगेको अनुसन्धानबाट खुलेको छ ।

गहतराजलाई साढे तीन तोलाको सुनको सिक्री बिक्री गर्ने भन्दै लिम्बूको गिरोहले सीतापाइलामाथि सेतो गुम्बानजिकैको जंगलमा पुर्याएर ४ लाख रुपैयाँमा नक्कली सुनको डल्लो दिएर फरार भएका थिए ।
गहतराजले अनुसन्धान कार्यालयमा दिएको उजुरीअनुसार उनले पठाओ चलाउँदै गर्दा लिम्बू पनि एक दिन उनको बाइकमा चढेका थिए ।
लिम्बूले ‘पठाओ चलाएर परिवार धान्नुहुने रहेछ, कति पैसा कमाउनु भयो, कति जम्मा गर्नुभयो ?’ भनेर सोधेका रहेछन् । गहतराजले आफूसँग सात लाख रुपैयाँ रहेको बताएछन् । अनि लिम्बूले आफूसँग बिल नभएको साढे तीन तोला सुनको सिक्री रहेको र चाल लाख रुपैयाँ पाए बेचिदिने भन्दै गहतराजको मन बुझे । गहतराजले सक्कली सुन भए आफूले किन्ने बताए । लिम्बूले सातदोबाटो बोलाए । गहतराज पुगे । सुनको सिक्री भन्दै देखाए । पैसाको कारोबार भने सीतापाइलामाथि सेतो गुम्बानजिकै गर्नुपर्ने भनेर गहतराजलाई उतै बोलाए ।
गहतराज खुसी हुँदै चार लाख रुपैयाँ लिएर सेतो गुम्बानजिकै जंगलमा पुगे । त्यहाँ विजन र वीरेन उनलाई कुरेर बसेका थिए । गहतराज आएको थाहा पाएपछि उनै लिम्बू नक्कली सुनको डल्लो लिएर पुगे ।
‘खै पैसा ?’ भन्दै लिम्बूले रुमालभित्र डल्लो पारेको नक्कली सुनको डल्लो गहतराजको हातमा थमाइदिएर चार लाख रुपैयाँ लिए । गहतराजले ‘सुनको सिक्री भनेर किन यो ढिक्का दिएको ?’ भन्दै प्रश्न गरे ।
‘सिक्री पछि बिलसहित ल्याइदिन्छु, अहिले यो ढिक्कै राख’ भन्दै लिम्बू मोटरसाइकल चढेर हुइँकिए । गहतराजले सुन पसलमा देखाउँदा उक्त ढिक्का पित्तल, तामा र अन्य धातु मिसाएर बनाएको देखिएपछि उनी छाँगाबाट खसेजस्तो भए, अनि प्रहरीमा उजुरी लिएर पुगे ।
लिम्बू यसअघि पनि यसैगरी नक्कली सुनलाई सक्कली भन्दै ठगी गरेको आरोपमा पक्राउ परेर ५ महिना जेल परी छुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । लिम्बूले बयानमा आफू नेपाल र सिंगापुर आउजाउ गरिरहने व्यक्ति भएको बताएका छन् ।
नेपालमा १८ महिना देखि बसिरहेको र यो अवधिमा आफ्नो समूहले चार जनालाई यसैगरी ठगी गरेको लिम्बूले बयानमा स्वीकारेका छन् । प्रहरीले लिम्बूलाई ‘आइडेन्टीफाइ’ गरेपछि सुन किन्ने बहाना बनाएर पक्राउ गरेको हो ।
उनले आफूसँग ४२ तोला सुन रहेको र १२ लाखमा बिक्री गर्ने बताएपछि प्रहरीले नक्कली ग्राहक बनेर लिम्बूलाई पक्राउ गरेको हो । लिम्बूले बयान दिएअनुसार उनले नेपालगञ्जमा समेत जोशी थरका एक सुन पसलेलाई २० तोला सुन भन्दै नक्कली सुनको ढिक्का देखाएर १२ लाख रुपैयाँ ठगी गरेका थिए ।
अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतका अनुसार लिम्बूको समूहले प्राय सुन पसलेलाई नै ‘टार्गेट’ गरेर ठगी गर्दै आएको थियो ।
‘अहिले हामीलाई दुई जनाको जाहेरी आएको छ, जाहेरी थपिन्छ होला,’ बस्नेतले लोकान्तरसँग भने, ‘छिट्टै धनी हुने लोभमा सुन भनेर नक्कली सुन किन्नेहरू ठगिएका हुन् ।’
लिम्बूको गिरोहले अरू थुप्रैलाई ठगी गरेको आशंका बस्नेतको छ । एसएसपी बस्नेतले भनेजस्तै यसअघि भक्तपुरको ठिमीमा एक महिलालाई सात लाख, विराटनगरमा विभिन्न व्यक्तिहरूलाई ६ लाख, बुटवलमा चार लाख, चितवनमा पाँच लाख ठगीका घटना भएका छन् ।
‘थुप्रै व्यक्तिहरू ठगिएका छन्, तर लाजले उजुरी गर्न आउँदैनन्,’ बस्नेतले भने, ‘धेरै रकम गुमेपछि मात्रै पीडितहरू प्रहरीमा आउने गरेका छन् ।’