०५ साउन २०८३, मंगलबार

भीभ रिचर्ड, क्लाइभ लोयड र ब्रायन लाराको शरणमा ‘लय गुमाएको क्यारेबियन क्रिकेट’

असार ३२, २०८२
काठमाडौं
भीभ रिचर्ड, क्लाइभ लोयड र ब्रायन लाराको शरणमा ‘लय गुमाएको क्यारेबियन क्रिकेट’

कुनै समय अन्तर्राष्ट्रिय क्रिकेटमा एकछत्र राज गरेको क्यारेबियन क्रिकेट पछिल्लो समय आफ्नै विरासत जोगाउन पनि असमर्थझैँ देखिन्छ । क्यारेबियन क्रिकेट टोलीले पछिल्लो समय एकपछि अर्को निराशाजनक प्रदर्शन गर्दै आएको छ ।

वेस्ट इन्डिज क्रिकेट टोलीको स्तर मापन गर्न पछिल्लो प्रतियोगिताको उदाहरण नै पर्याप्त छ । हालै सम्पन्न अस्ट्रेलियाविरुद्धको टेस्ट शृंखलामा वेस्ट इन्डिजको प्रदर्शन बिर्सनलायक रह्यो । त्यो पनि घरेलु मैदानमा आफ्ना प्रिय समर्थकमाझ । 

अस्ट्रेलियाविरुद्धको तीन टेस्टको शृंखलामा क्यारेबियन टोली नराम्ररी ‘ह्वाइट वास’ हुन पुग्यो । तीन टेस्टको शृंखलामा वेस्ट इन्डिजले एउटा पालीमा मात्र दुई सय ५० भन्दा बढी रन बनाउन सक्यो । बाँकी पाँच पालीमा त क्यारेबियन टोली दुई सय रनसम्म पनि पुग्न सकेन ।

शृंखलाको पहिलो टेस्टमा वेस्ट इन्डिज एक सय ५९ रनको फराकिलो अन्तरले पराजित भयो । त्यो टेस्टको पहिलो पालीमा केवल एक सय ९० रनमा समेटिएको वेस्ट इन्डिज दोस्रो पालीमा पनि एक सय ४१ रनभन्दा अगाडि बढ्न सकेन ।

यसैगरी, शृंखलाको दोस्रो टेस्टमा पनि वेस्ट इन्डिज एक सय ३३ रनले पराजित भयो । पहिलो पालीमा दुई सय ५३ रन बनाएको क्यारेबियन टोली दोस्रो पालीमा त एक सय ४३ रनमै अलआउट भएको थियो ।

तेस्रो टेस्टको अवस्था त झनै निराशाजनक थियो । तेस्रो टेस्टमा वेस्ट इन्डिजको टोली एक सय ७६ रनले पराजित भएको थियो । क्यारेबियन टोली तेस्रो टेस्टको पहिलो पालीमा एक सय ४३ रनमै समेटिएको थियो ।

दोस्रो पालीमा बनाएको रनलाई क्यारेबियन क्रिकेटले पनि भविष्यमा समेत सायदै सम्झन चाहला । दोस्रो पालीमा वेस्ट इन्डिजका सम्पूर्ण ब्याट्सम्यान पेभेलियन फर्कँदा टोलीको कूल स्कोर केवल २७ रन थियो ।

टेस्ट क्रिकेटमा दशकौं लामो इतिहास बोकेको क्यारेबियन टोलीका केवल एक ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिए । जस्टिन ग्रेभ्स (११ रन) बाहेक वेस्ट इन्डिजका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

वेस्ट इन्डिजका सात ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् । अतिरिक्त रूपमा पाएको रनलाई घटाउने हो भने वेस्ट इन्डिजका सम्पूर्ण ब्याट्सम्यानले दोस्रो पालीमा केवल २१ रन बनाउन सकेका थिए ।

क्यारेबियन क्रिकेटको इतिहासमा लागेको यो कहिल्यै नमेटिने दाग पनि थियो । टेस्ट क्रिकेटको इतिहासमा कुनै पनि राष्ट्रले बनाएको यो दोस्रो सबैभन्दा कम स्कोर हो । धन्न, केवल एक रनका कारण वेस्ट इन्डिजको क्रिकेट त्योभन्दा पनि खराब इतिहास कोर्नबाट जोडियो ।

विश्व टेस्ट क्रिकेटको इतिहासमा सबैभन्दा कम योगफल बनाउने टोली न्युजिल्यान्ड हो । सन् १९५५ मा खेलिएको इङ्ल्यान्डविरुद्धको खेलमा न्युजिल्यान्डको टोली केवल २६ रन बनाउँदै अलआउट भएको थियो ।

पछिल्लो २५ वर्षयताको तथ्यांकले टेस्ट क्रिकेटमा वेस्ट इन्डिजको प्रदर्शन क्रमश: खस्कँदै गएको देखाउँछ । सन् २००० यता वेस्ट इन्डिजले विभिन्न राष्ट्रविरुद्ध ८७ टेस्ट शृंखला खेलेको छ । त्यसमध्ये २३ शृंखलाको नतिजालाई मात्र वेस्ट इन्डिजले आफ्नो पक्षमा पार्न सकेको छ । 

त्यसमध्ये पनि वेस्ट इन्डिजले १५ वटा शृंखला त बंगलादेश, जिम्बाबे, अफगानिस्तानजस्ता आफूभन्दा कमजोर टोलीविरुद्ध जितेको हो । यस अवधिमा वेस्ट इन्डिजले अफगानिस्तानलाई एक र बंगलादेशलाई आठ टेस्ट शृंखलामा हराएको छ ।

यसैगरी, वेस्ट इन्डिजले इङ्ल्यान्डलाई तीन, भारतलाई दुई, न्युजिल्यान्डलाई एक, पाकिस्तानलाई एक, श्रीलंकालाई एक र जिम्बाबेलाई ६ टेस्टमा हराएको छ । बाँकी शृंखलामा त वेस्ट इन्डिजको टोली या बराबरीमा रोकिएको छ, या त पराजित भएको ।

यो अवधिमा क्यारेबियन टोलीले अस्ट्रेलियासँग ११ टेस्ट खेलेको छ । त्यसमध्ये १० टेस्टमा पराजित भएको छ भने एक टेस्ट बराबरीमा सकिएको छ । वेस्ट इन्डिजको टोलीले यो अवधिमा दक्षिण अफ्रिकाविरुद्ध पनि टेस्ट शृंखला जित्न सकेको छ । दक्षिण अफ्रिकासँग खेलेको नौवटै शृंखलामा क्यारेबियन टोली पराजित भएको छ ।

यसैगरी, वेस्ट इन्डिजले बंगलादेशसँग दुई शृंखलामा हार भोगेको छ भने एउटा शृंखला बराबरीमा सकिएको छ । इङ्ल्यान्डसँग नौवटा शृंखलामा हार भोगेको छ भने एउटा शृंखला बराबरीमा सकिएको छ ।

भारतसँग नौवटा शृंखलामा पराजित भएको छ । न्युजिल्यान्डसँग ६ शृंखलामा पराजित भएको छ भने एक शृंखला बराबरीमा सकिएको छ । पाकिस्तानसँग चारवटा शृंखलामा पराजय भोगेको छ भने चारवटा शृंखला बराबरीमा सकिएको छ ।

श्रीलंकासँग चारवटा शृंखलामा पराजित भएको छ भने चारवटा शृंखला बराबरीमा सकिएको छ । पक्कै पनि यो तथ्यांकले क्यारेबियन क्रिकेटको राम्रो छवी चित्रण गर्दैन ।

यसका अतिरिक्त, वेस्ट इन्डिजको टोलीले टेस्ट क्रिकेटमा बनाएको पाँच सबैभन्दा कम स्कोरमध्ये तीनवटा त २१औं शताब्दी शुरू भएयता नै बनाएको हो । पछिल्लो समय वेस्ट इन्डिज क्रिकेटको प्रदर्शन निकै अस्थिर पनि देखिन्छ ।

भनिन्छ, हरेक रातले नयाँ बिहानीको संकेत दिन्छ । अस्ट्रेलियाविरुद्धको पछिल्लो टेस्ट शृंखलामा आफ्नो टोलीले बिर्सनलायक प्रदर्शन गरेपछि यसले क्यारेबियन क्रिकेटका पूर्वहस्तीहरूलाई एक थलोमा उभ्याउने वातावरण तयार पारेको छ ।

आफ्नो टोली तेस्रो टेस्टमा केवल २७ रनमा अलआउट भएको २४ घण्टा पनि बित्न नपाउँदै वेस्ट इन्डिज क्रिकेट बोर्डका पदाधिकारी पनि जुर्मुराएका छन् । सायद, उनीहरूलाई लागेको होला, ‘अब अति भयो ।’

आफ्ना ब्याट्सम्यानको बिर्सनलायक प्रदर्शनपछि बोर्डका अध्यक्ष डा. किशोर शैलोले क्यारेबियन क्रिकेटका केही पूर्वहस्तीलाई छलफलका लागि बोलाएका छन् । आफूहरूले तयार पारेको बलियो जगमा उभिएको क्यारेबियन क्रिकेटको दुर्गति देखेर सर भीभ रिचर्डस, क्लाइभ लोयड, ब्रायन लाराजस्ता महान क्रिकेटर त झन् विचलित नहुने कुरै भएन ।

‘अब उहाँहरू नै जुर्मुराउनु पर्छ । क्यारेबियन क्रिकेटको विरासत जोगाउने अभिभारा उहाँहरूकै काँधमा आइपरेको छ । आफ्नो समयका महान ब्याट्सम्यान सर भीभ रिचर्डस, क्लाइभ लोयड र ब्रायन लारा नै हाम्रो आशाको केन्द्र हुनुहुन्छ,’ बोर्डका अध्यक्ष शैलो भन्छन् ।

यो संकटपूर्ण घडीमा बोर्डले सम्झिएका अन्य पूर्व खेलाडी शिवनारिन चन्द्रपौल, डेसमन्ड हायनेश र इयान ब्राडश पनि हुन् । चन्द्रपौल र हायनेश आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान हुन् भने ब्राडश चर्चित तीब्र गतिका बलर ।

‘हामी बढी औपचारिक हुनु आवश्यक छैन । उहाँहरूमध्ये धेरै त क्यारेबियन क्रिकेटको स्वर्णित पुस्तासँग पनि जोडिनु भएको छ । अब उहाँहरूको अग्रसरताले नै क्यारेबियन क्रिकेटको आगामी बाटो तय गर्नेछ,’ डा. शैलोको कथन छ ।

पूर्वक्रिकेटरसँगको गहन छलफलपछि क्यारेबियन क्रिकेटको कार्यक्रम तय गरिने जानकारी उनले दिएका छन् । बलिङभन्दा पनि आफ्नो ब्याटिङ नै क्रमश: कमजोर बन्दै गएको बोर्ड अध्यक्षको बुझाइ छ ।

समग्रमा, यतिबेला वेस्ट इन्डिजको क्रिकेट फेरि पनि आफ्ना अग्रजकै शरणमा पर्नुपर्ने अवस्थामा पुगेको छ । वर्तमान बोर्डका पदाधिकारीसँगको छलफलमा पूर्वखेलाडीहरूले दिने रचनात्मक सुझावले आगामी दिनमा क्यारेबियन क्रिकेटलाई कुन बाटोमा डोर्‍याउँछ त्यो भने समयले नै देखाउने छ ।

salt training

कमेन्ट गर्नुहोस्