
विसं २०१७ सालमा ९ वर्षको उमेरमै इन्द्र गौचन परिवारसँग मुस्ताङबाट पोखरा झरेका थिए । हजुरबुबा र बासँग पोखरा झरेका गौचनको बासस्थान पोखरा महानगरपालिका–१६ दीप बन्यो । तत्कालीन समयमा जंगल र काँडाघारी रहेको स्थानमा गौचन परिवारले खेतीपाती शुरू गरे । त्यसपछि नै उक्त स्थान लिची बगैँचाका रूपमा चिनिएको हो ।
यही लिची बगैँचा अहिले चर्चामा छ । बगैँचाकै कारण एक मन्त्रीको पद गुमेको छ भने अर्का एक मन्त्रीको पद धरापमा छ ।
जग्गा प्रकरणमा घुस डिल गरेको अडियो बाहिरिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । ७८ लाख घुस डिलमा तानिएपछि गुप्ताले राजीनामा दिएको भोलिपल्टै भूमि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले पनि ३२ लाख घुस लिएको अडियो सार्वजनिक भएको छ । एकपछि अर्को अडियो बाहिरिएपछि जग्गा हडप्न खेलको पर्दाफास भएको हो ।
तर, जग्गा हडप्ने खेल भने वर्षदिन अघि नै भएको देखिन्छ । कतिसम्म भने आफूहरूलाई धाकधम्की आएको भन्दै स्थानीयले मालपोत कार्यालयमा निवेदनसमेत बुझाएका थिए । २०८२ वैशाख १६ गते उनै इन्द्र गौचन सहितको टोलीले मालपोतमा पत्र बुझाएको थियो ।
‘केही अपरिचित र शङ्कास्पद मानिसहरू आउने, घुम्ने र थर्काउने गर्दछन् । भित्री रूपमा चलखेल गरेर हामी निवेदकको घर जग्गाहरू केही गरेर हामीलाई घरवारविहीन बनाउने हुनकी भन्ने शंका लागेको छ,’ पत्रमा भनिएको थियो ।
स्थानीय गौचनका अनुसार एक वर्ष अगाडि सामाजिक सञ्जाल फेसबुकमा जग्गा बिक्रीका लागि विज्ञापन नै राखिएको थियो । ‘ एकवर्ष अगाडि एक्कासि यो जग्गा बिक्रीमा छ भन्ने हल्ला फैलियो । सामाजिक सञ्जालमा विज्ञापन नै हालियो । योभन्दा पहिला विवाद भएको थाहा नै थिएन । किन भने २०१७ मा हामी आउँदा यहाँ त जंगल र काँडाघारीमात्र थियो,’ उनले सुनाए ।
विवाद नै नभएको जग्गा ठग्ने काम भएको उनको दाबी छ । ‘समाधान त केही पनि छैन । दादागिरी गरेर ठग्ने काम हो । हामीसँग विवाद नै छैन,’ इन्द्रले भने ।
आफूहरूले त्यहीँका लामाहरूसँग जग्गा किनेको उनी बताउँछन् । आफ्नो परिवारले ६० रोपनी जग्गा किनेको उनको भनाइ छ । ‘हामीले राणाहरूसँग एक टुक्रा पनि जग्गा किनेको छैन । राणाहरूले आफ्नो भागबन्डा गरेर बेचिसकेको हो । यहाँको गाउँले र लामाहरूबाट हामीले किनेको हो । राणाहरूबाट हामीले एक टुक्रा पनि किनेको छैन,’ गौचनले भने ।
विवाद के हो ?
राणाहरूले बिर्तामा पाएको सो जग्गाको किनबेच २०१७ सालदेखि हुन थालेको थियो । सोही क्रममा गौचन परिवारले लामा परिवारसँग जग्गा किनेका हुन् । तर, तत्कालीन समयमा जाल साजी भएको भन्दै जग्गाको हकदाबी गर्दै दुर्गादेवी शाह अदालतको ढोका ढक्ढक्याउन पुगेकी थिइन् । तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालतले दुर्गादेवीको पक्षमा फैसला गरेको थियो । तर, शाहको पक्षमा अदालतले गरेको २०४० सालको अन्तिम फैसला कार्यान्वयन भएन ।
यता, २०१७ देखि सो स्थानमा बसिरहेकाहरूले लालपूर्जा लिए । २०३२ सालमा नापीको शुरूआत भएपछि उनीहरूले जग्गा आफ्नो नाममागरी लालपूर्जा लिएका हुन् ।
अदालतको फैसला आफ्नो पक्षमा आए पनि दुर्गादेवी जग्गामा दाबी गर्न आइनन् । उनको २०५९ सालमा मृत्यु भयो । त्यसयता, सो जग्गामा विवाद आएको थिएन । तर, करिब दुई वर्षअघि २०४० सालको अदालतको फैसला कार्यान्वयन गराउन भन्दै दुर्गादेवीका नातिले निवेदन दिएपछि जग्गा हत्याउने खेल शुरू भएको हो । २०८० माघ २४ गते फैसला कार्यान्वयन गर्ने भन्दै दुर्गादेवीका नाति भनिएका सुरज शाह ठकुरीले करारनामा गरेका थिए ।
‘२०२८, २०३१ र २०४० सालको अदालतको फैसला बमोजिम हक कायम, जग्गा किचलोसमेत मुद्दामा तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालत पोखराबाट फैसला भए बमोजिम दुर्गा देवी शाहले पाउने ठहर भएको नं.न. २५, २६ र २८ को जग्गा हालसम्म पनि हामी कानूनी हकदार प्रथम पक्षको नाममा दा.खा. दर्ता नामसारी गरी जग्गाधनी दर्ता प्रमाण पुर्जा लिन बाँकी रहेको उक्त जग्गा गैरकानुनी रूपमा अन्य व्यक्ति तथा संस्थाहरूले जालसाजीपूर्वक नापी गरेको विषय हालसालमा हामी पथम पक्षलाई थाहा हुन आएको हुँदा अब कानून बमोजिम उक्त जग्गाको दर्ता, दा. खा. नामसारी र अदालतको फैसला कार्यान्वयन गर्ने गरी सम्पूर्ण कामको जिम्मा यो करारनामामा उल्लेखित प्रथम पक्षले दोस्रो पक्षलाई दिन सहमत भएको हो,’ सो करारनामामा उल्लेख छ ।
त्यसअघि पुष २९ गते मालपोत कार्यालय कास्कीबाट नापी कार्यालयलाई फिल्डबुक, प्लटरजिष्टर र नक्शासहित विवरण तयार गरी पठाउन पत्र गएको थियो । त्यसको एक महिनापछि २०८० माघ २४ गते गीतादेवी शाहले मालपोत कार्यालयमा जग्गाको फैसालाबमोजिम पुर्जा पाउन निवेदन दिएकी हुन् ।
‘फैसलामा उल्लेखित ४ कित्ता भित्रको नं. न. २५, २६ र २८ को जग्गा नामसारी दा.खा. गरी ज.ध. प्रमाणपुर्जा पाउन सादर निवेदन गर्दछु । उक्त जग्गा दा.खा. गर्न कोही नक्कली व्यक्तिले समेत निवेदन दिएको सुनिएकोमा सो खारेज गरी मेरो सबुत प्रमाण दुर्गादेवी शाहको फैसलामा उल्लेखित ठेगाना र चक्रबहादुर शाहको मुद्दा साकार गरेको भन्ने फैसलाको व्यहोरा समेतबाट उक्त जग्गा मेरो हजुआमा दुर्गादेवी शाहकै रहेको अकाट्य पुष्टि हुने हुँदा निवेदन संलग्न प्रमाणहरूको आधारमा म समेतको नाममा नामसारी दा. खा. गरी पाउँ,’ निवेदनमा उल्लेख छ ।
हजुरआमाको नाममा रहेको जग्गा आफ्नो नाममा ल्याउने क्रममा सुरज शाह ठकुरीको भेट विचौलिया भनिएका सुजन लामासँग भएको हो । अडियोमा भनिएको टुलुटुलु हेरेर बसिरहेको जग्गा आफ्नो नाममा ल्याउन सुरजले वर्ष दिनदेखि कसरत गरिरहेका छन् ।
सुरज भने घुसका विषयमा आफू अनभिज्ञ रहेको दाबी गर्छन् । ‘अडियोमा बोल्ने को हो मलाई थाहा भएन । सुजन लामा काम त गर्ने भनेर नै हिँडेको मान्छे हो । मालपोत जाने क्रममा भेट भएको हो । यो घुस काण्ड थाहा भएन,’ सुरजले भने ।
आफ्नो हकमा हुनुपर्ने जग्गा नभएको उनको भनाइ छ । अदालतको आदेशलाई कार्यान्वयन गर्ने क्रममा दाजुभाइ नै अहिले विरोधी भएको उनी सुनाउँछन् । यसबाहेक अदालतको फैसला कार्यान्वयनबाहेक अरू विषयमा आफ्नो सरोकार नभएको उनको भनाइ छ । ‘त्यो बिर्ता कायम गर्ने क्रममा गण्डकी अञ्चल अदालतबाट दुर्गादेवी शाहको नाममा कायम हुने भनेर फैसला आएको छ । हाम्रो २५, २६ र २८ हो त्योबाहेक अरूमा सरोकार भएन,’ सुरजले भने ।