२९ असार २०८३, सोमबार
सौर्य विमान दुर्घटना

सौर्य जहाज दुर्घटना : पर्याप्त गतिविना नै 'टेक-अफ', छानबिन समितिले देखायो गल्तीको फेहरिस्त

साउन २, २०८२
काठमाडौं
सौर्य जहाज दुर्घटना : पर्याप्त गतिविना नै 'टेक-अफ', छानबिन समितिले देखायो गल्तीको फेहरिस्त

२०८१ साउन ९ गते मर्मतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन-एएमई कलसाइनको विमान दुर्घटनाको अन्तिम प्रतिवेदन सार्वजनिक भएको छ ।

सार्वजनिक प्रतिवेदनमा विमान उडानको बेलामा अत्यधिक चाँडो अगाडिको भाग उठ्न खोज्दा (डीप स्टल) नियन्त्रण गुमेर दुर्घटना भएको निष्कर्ष निकालिएको छ ।

प्रतिवेदनमा विमान उड्ने बेलामा 'रोटेसन स्पीड' पर्याप्त नपुगेकै अवस्थामा अगाडिको भाग अत्यधिक चाँडो उठेका कारण दुर्घटना भएको उल्लेख छ ।

छानबिन समितिले उडानका बेला पिच दर ८ दशमलव ६ डिग्री प्रतिसेकेन्ड पुगेको पत्ता लगाएको छ ।

उक्त दर जहाजको सुरक्षा सीमा भन्दा निकै बढी हो ।​

सौर्य एयरलाइन्सले प्रयोग गरेको टेक अफ स्पिड कार्ड नै गलत रहेको प्रतिवेदनमा उल्लेख छ । १८ हजार ५०० केजी तौलका लागि बनाइएको स्पिड कार्डमा नै भी१ र भीआर जस्ता महत्त्वपूर्ण गति सूचकहरू गलत थिए । चालक दलले १८ हजार १३७ केजी भारको उडानका लागि १७ हजार ५०० केजीको स्पिड रेफरेन्स प्रयोग गरेका थिए, जुन गलत थियो ।

१८ हजार १३७ केजी भारमा भी१ बराबर ११७ नट्स र भीआर बराबर १२२ नट्स हुनुपर्नेमा पाइलटले तीभन्दा कम गतिमै विमान टेक अफ गरेका थिए ।

सौर्य एयरलाइन्सका अन्य उडानहरूमा टेक अफको समयमा अत्यधिक पिच दर आएको देखिएको थियो । तर कम्पनीले त्यसमा चासो नदेखाएको प्रतिवेदनमा उल्लेख छ । कम्पनीसँग फ्लाइट डाटा मोनिटरिङ (एफडीएम) वा फ्लाइट डाटा एनालाइसिस (एफडीए) जस्ता सुरक्षा विश्लेषण प्रणाली नै नभएको भन्दै छानबिन प्रतिवेदनले कम्पनीलाई दोषी देखाएको छ ।

त्यस्तै, प्रतिवेदनअनुसार उक्त जहाजले रित्तो विमान उडानको रूपमा स्वीकृत पाएको थियो । त्यसमा पाइलट र मर्मत कर्मचारी मात्र हुनुपर्नेमा अन्यलाई पनि चढाइएको भन्दै छानबिन समितिले लापरबाही भएको निष्कर्ष निकालेको छ ।

साथै, भार र वितरणको तथ्याङ्क अनुमानमा मात्र आधारित रहेको प्रतिवेदनमा जनाइएको छ । विमानको वास्तविक तौल १८ हजार ३०० ± २०० केजी रहेको बताइएको छ । तर कागजमा भने विमानको तौल जम्मा १८ हजार १३७ केजी लेखिएको थियो ।

दुर्घटनाभन्दा पहिले उक्त विमान ३४ दिनसम्म प्रयोगमा थिएन । त्यसपश्चात मर्मत गरी पुनः सेवा दिन तयार पारिएको थियो । यद्यपि, नियन्त्रण प्रणाली, संरचना वा इन्जिनसम्बन्धी समस्या नभएको पुष्टि गरिए पनि उपलब्ध प्रमाणले विस्तृत पूर्व-उडान निरीक्षणमा प्रश्न उठाएको छ ।

उक्त विमानको फ्लाइट डाटा रेकर्डरले कन्ट्रोल स्टिक र रडर पेडलजस्ता महत्त्वपूर्ण डाटा सन् २०२१ यता रेकर्ड नगरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

यसबारे सौर्य एयरलाइन्स र नेपाल नागरिक उड्डयन प्राधिकरण दुवैलाई जानकारी नरहेको प्रतिवेदनमा उल्लेख छ ।

छानबिनले सौर्य एयरलाइन्सको सुरक्षा व्यवस्था प्रणाली कमजोर भएको, नियमन र रिपोर्टिङमा लापरबाही भएको खुलेको छ । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उद्धार व्यवस्थापन प्रणाली, पूर्वतयारी र आपतकालीन संयन्त्र पनि पर्याप्त नभएको छानबिन समितिको निष्कर्ष छ ।

दुर्घटनापछि रतिशचन्द्रलाल सुमनको नेतृत्वमा छानबिन आयोग बनेको थियो । उक्त आयोगले त्यतिबेलै प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरे पनि अन्तिम प्रतिवेदन शुक्रबार (आज) बुझाएको हो ।

यस्तो छ प्रतिवेदन

salt training

कमेन्ट गर्नुहोस्