
कर्णाली विकास बैंकमा भएको ४ अर्ब ९० करोड रुपैयाँको अनियमितता प्रकरणमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेत पक्राउ परेका छन् ।
शुक्रवार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले सुनसरी स्थायी घर भएका ६१ वर्षीय बस्नेतलाई काठमाडौंको टोखाबाट नियन्त्रणमा लिएको एसपी होबिन्द्र बोगटीले लोकान्तरलाई बताए ।
बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक गम्भीर आर्थिक संकटमा फसेको समयमा अनुगमन अधिकृतको रूपमा खटिएका बस्नेतमाथि बैंकको अवस्था ठीक रहेको भ्रामक प्रतिवेदन तयार पारेको आरोप लागेको छ ।
सीआईबीले यसअघि नै अनुगमनमा संलग्न कर्मचारीहरूको विवरण माग्दै नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।
यो घोटाला बैंकको कोर बैंकिङ प्रणाली (सीबीएस) मा प्रविष्ट रकम र विभिन्न बैंक खातामा रहेको वास्तविक मौज्दातबीच ठूलो अन्तर देखिएपछि बाहिर आएको हो ।
आन्तरिक छानबिन समितिको प्रतिवेदनले नक्कली ब्यालेन्स सर्टिफिकेट बनाएर वर्षौंदेखि अनियमितता लुकाइएको खुलासा गरेपछि सीआईबीले अनुसन्धान थालेको थियो ।
प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको खोजीमा पनि प्रहरी सक्रिय छ । हालै भारतबाट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायलाई पक्राउ गरिएको छ भने पूर्वअध्यक्ष एवम् नेकपा एमालेका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रलाई नेपालगन्जबाट नियन्त्रणमा लिइएको छ ।
त्यस्तै, बैंकका पूर्वसीईओ दिनेशकुमार रावत, वित्त विभाग प्रमुख वेदप्रकाश ठकुरी र नीरजविक्रम शाहको संलग्नताबारे पनि गहन अनुसन्धान भइरहेको स्रोतले बताएको छ ।