२२ जेठ २०८३, शुक्रबार
खेल संस्कृति र अनुभव आर्जनको गतिलो मञ्च डाना कप

फरक अनुभव बटुल्ने कौतुहल र बलियो आत्मविश्वाससहित डेनमार्क प्रस्थान गर्दै युवा फुटबलर [भिडियो स्टोरी]

साउन ३, २०८२
काठमाडौं

खेलकुद संस्कृति हो । इतिहास साक्षी छ, जहाँ खेलकुद संस्कृतिको रूपमा अगाडि बढेको छ; ती देशले विश्व खेलकुदमा निकै ठूलो फड्को मारेका छन् । नेपालको सन्दर्भ भने केही फरक छ ।

केही समय अघिसम्म अभिभावक आफ्ना सन्ततिलाई खेलकुदमा सक्रिय बनाउन चाहँदैनथिए । खेलकुदमा लागे सन्तानको भविष्य बिग्रन्छन् भने मान्यता गहिरो थियो । तर, अहिले समय केही फेरिएको छ ।

त्यसको प्रत्यक्ष उदाहरण हुन्, डाना कप युथ फुटबल प्रतियोगिताको तयारीमा व्यस्त स–साना बालबालिकाको हौसला बढाउन एकाबिहानै रातो बंगला स्कूलको खेल मैदानमा भेला भएका अभिभावकहरू ।

खासमा, डाना कप फुटबल प्रतियोगिताको आगामी संस्करण डेनमार्कको हजोरिङमा आयोजना हुँदैछ । विश्वभरका किशोर खेलाडीलाई लक्षित गरी आयोजना हुने यो प्रतियोगितामा यसपटक ४५ राष्ट्रका एक हजार एक सय युवा टोलीले भाग लिँदैछन् । 

यो प्रतियोगितामा नेपालबाट पनि तीनवटा युवा टोलीले सहभागिता जनाउँदै छन् । यसपटक डाना कपमा यू–१२ ब्वाइज, यू–१४ ब्वाइज र यू–१४ गर्ल्सको टोलीले नेपालको प्रतिनिधित्व गर्नेछन् । गर्ल्सको टोलीले भने पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

नेपालको ब्वाइज टोलीले यसअघि पनि डाना कपमा भाग लिइसकेको छ । नेपालको ब्वाइज टोलीले त यसअघि सेमिफाइनलसम्मको यात्रासमेत तय गरिसकेको छ । प्रतियोगिता जुलाई २१ देखि २६ तारिखसम्म आयोजना हुनेछ ।

null

‘हामी एक महिनादेखि प्रतियोगिताको तयारी गर्दैछौं । गुरुले तयारी पनि राम्रो गराउनु भएको छ । टोलीमा तालमेल पनि राम्रो छ । ट्रफी बोकेरै फर्कने प्रयास गर्नेछौं,’ उमेरले सानै भए पनि यू–१२ पुरुष टोलीका सदस्य रोयस प्रधान परिपक्व जवाफ दिन्छन् ।

प्रतियोगितामा सहभागी हुने यू–१२ ब्वाइज र यू–१४ गर्ल्स टोलीका सबै खेलाडी रातो बंगला स्कूलका हुन् । यू–१४ ब्वाइज टोलीका खेलाडी भने संस्कृति इन्टरनेशनल स्कूलका हुन् । उनीहरूले विगत एक महिनादेखि प्रतियोगिताको तयारी गरिरहेका छन् ।

यू–१४ गर्ल्स टोलीकी खेलाडी इभाना सुवेदी पनि प्रतियोगिताको तयारी स्तरीय रहेको बताउँछिन् । ‘नेपालको गर्ल्स टोलीले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । त्यसैले पनि हामी बढी नै उत्साही छौं । हाम्रो तयारी पनि गतिलो छ,’ उनी भन्छिन् ।

युवा खेलाडीहरूलाई काठमाडौंस्थित अउरियम स्पोर्टस एकेडेमीका प्रमुख प्रशिक्षक दिवस अगस्तीले प्रशिक्षण दिइरहेका छन् । एकेडेमीकै पहलमा नेपाली युवा खेलाडीहरूले प्रतियोगितामा सहभागिता जनाउन लागेका हुन् ।

‘युवा खेलाडीहरू प्रतियोगिताका लागि उत्साही छन् । अभिभावकले पनि आफ्ना बालबालिकाको उत्साह बढाइरहनु भएको छ । तयारी पनि निकै राम्रो छ । विगतको भन्दा पनि अझ राम्रो प्रदर्शन गर्ने विश्वास छ,’ प्रशिक्षक दिवस भन्छन् ।

null

प्रतियोगितामा प्रत्येक टोलीले कम्तीमा चार–चार खेल खेल्ने जानकारी पनि दिवसले दिए । ‘हाम्रो प्रत्येक टोलीले समूहगत चरणमा तीन र नकआउट चरणमा एक गरी कम्तिमा चारवटा खेल खेल्नेछन् । सोही अनुरूप हामीले तयारी गराएका छौं,’ उनले भने ।

नेपाली खेलाडीले नर्वे, जर्मनी, केन्या र माल्टाको टोलीसँग खेल्ने जानकारी पनि उनले दिए । ‘यो प्रतिस्पर्धाभन्दा पनि अनुभव आदान–प्रदानको गतिलो मञ्च हो । जर्मनी, नर्वेजस्ता देशमा खेलकुदको अनुकरणीय संस्कृति छ । त्यसैले हाम्रा युवा खेलाडीले पनि यो मञ्चबाट धेरै कुरा सिक्ने अवसर पाउने छन्,’ उनको कथन छ ।

डाना कप विश्वकै सबैभन्दा बढी युवा खेलाडीको सहभागिता रहने फुटबल प्रतियोगिता हो । यो प्रतियोगिता पहिलो पटक सन् १९८२ मा आयोजना भएको थियो । यसपटक प्रतियोगितामा विभिन्न राष्ट्रका २० हजारभन्दा बढी युवा खेलाडी, प्रशिक्षक र निर्णायकको जमघट हुने बताइएको छ ।

null

प्रतियोगितामा विभिन्न राष्ट्रका विद्यालय र क्लबका खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगिताका क्रममा कूल दुई हजार खेल हुनेछन् । डाना कपका खेल करिब ६० वटा मैदानमा खेलाइने छ । फरक अनुभव बटुल्ने कौतुहल, बलियो आत्मविश्वास र जीतको लालसासहित प्रतियोगितामा सहभागी हुन नेपाली युवा टोली आइतबार डेनमार्कतर्फ प्रस्थान गर्दैछ ।

नेपालको यू–१४ गर्ल्स टोलीमा अरियोना प्रधानाङ्ग, माइरा बस्नेत, सानभी शर्मा, अदिती रावल, सानभी रावल, लिना घिमिरे, इभाना सुवेदी, प्रशंसा कंसाकार, सरभानी थापा र सानवी भण्डारी रहेका छन् ।

यसैगरी, नेपालको यू–१४ ब्वाइज टोलीमा कृतिन शर्मा, प्रनित श्रेष्ठ, दीपेन श्रेष्ठ, सौर्यकृष्ण मल्ल, सायान गौचन, प्रशन्न मल्ल र अनुस्कृत न्यौपाने रहेका छन् । यू–१२ ब्वाइज टोलीमा रोयस प्रधान, मनन बस्नेत, अभिक ढकाल, सिद्धान्त राई, कृषान्तशेखर अमात्य र केजशलाल श्रेष्ठ रहेका छन् ।

नेपाली टोलीको व्यवस्थापकमा तनवी रेग्मी, प्रमुख प्रशिक्षक दिवस अगस्ती तथा सहायक प्रशिक्षकमा कोसिस घले र विक्रम पौडेल रहेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्