
जापानको सत्तारूढ गठबन्धनले संसद्को माथिल्लो सदनमा पनि बहुमत गुमाएको छ । लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) नेतृत्वमा रहेको गठबन्धनले २४८ सदस्यीय माथिल्लो सदनमा केवल ४७ सिट मात्र पायो, जुन बहुमतको लागि आवश्यक ५० सिटभन्दा कम हो।
जापानको संसदीय प्रणालीमा तल्लो सदनलाई बढी शक्तिशाली मानिन्छ। सत्तारूढ गठबन्धनले गत वर्ष अक्टोबरमा तल्लो सदनमा बहुमत गुमाइसकेको थियो ।
जापानी संसदको माथिल्लो सदनमा कुल २४८ सिट छन् । इशिबाको गठबन्धनसँग पहिले नै ७५ सिट थिए । बहुमत कायम राख्न उनलाई यस चुनावमा कम्तिमा ५० नयाँ सिट चाहिन्थ्यो, तर उनले ४७ सिट मात्र पाउन सके । यीमध्ये एलडीपीले मात्र ३९ सिट पाएको छ ।
अक्टोबरमा तल्लो सदनको चुनाव हारेपछि यो गठबन्धन अब दुवै सदनमा अल्पमतमा परेको छ ।
यद्यपि, प्रधानमन्त्री इशिबाले आफू पदमा रहने स्पष्ट पारेका छन् । उनले अमेरिकासँगको प्रस्तावित व्यापार सम्झौतालाई यसको कारणको रूपमा उल्लेख गरे । उनले प्रधानमन्त्री पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन् ।
जापानमा अक्टोबर २०२४ मा भएको चुनावमा, एलडीपी-कोमेइतो गठबन्धनले ४६५ मध्ये २१५ सिट मात्र पाएको थियो ।