
काठमाडौंको बौद्ध बस्दै आएकी १८ वर्षीया नम्रता (नाम परिवर्तन)लाई गोकर्णेश्वर आरुबारीकी किर्तिका (नाम परिवर्तन)ले एउटा प्रस्ताव राखिन् ।
‘तिमीलाई १५/२० हजार हुन्छ, आखिर खेर जाने डिम्ब हो, बिक्री गर्छौं ?’ भन्दै किर्तिकाले राखेको प्रस्ताव सुनेर नम्रता अचम्मित भइन् र प्रश्न गरिन्,‘दिदी यस्तो चिज पनि बिक्री गर्न मिल्छ र ?’
किर्तिकाले ‘तिमी बिक्री गर्ने हो भने म लैजान्छु’ भन्दै पैसाको लोभ देखाइन् । आर्थिक अवस्था कमजोर भएकी नम्रता सजिलै मानिन् । अनि किर्तिकाले नम्रतालाई बबरमहलस्थित होप फर्टिलिटी एण्ड डाइग्नोष्टिक क्लिनिकमा लगिन् ।
त्यहाँ नम्रताको नाम र ठेगाना परिवर्तन गरेर दर्ता गरियो । उनलाई नाइटोमा पटकपटक गरेर १० वटा सुई दिइयो । जुन सुईले उनको पाठेघरमा डिम्बको विकास हुन्थ्यो । दुई दिन आराम गर्न लगाएर १४ दिनको दिन नम्रतालाई एनेस्थेसिया दिइयो । अचेत अवस्थामै नम्रताको अप्रेसन गरियो र डिम्ब निकालियो ।
अप्रेसन गरेकै दिन नम्रतालाई घर पठायो । घरमा उनी परिवारका सदस्यसँग राम्रोसँग बोलिनन् । खाना पनि मन लगाएर नखाएपछि बाबुले नम्रतालाई साधे,‘तिमिलाई सञ्चो भएन कि क्या हो ? किन मन लगाएर खाँदिनौं ?, कसैसँग पनि राम्रोसँग बोल्दिनौं, एकोहारो टोलाएर बसेकी छौ ।’
अनि नम्रताले सविस्तार भनिन् । उक्त कुरा थाहा पाएपछि नम्राताका बाबु गत असार २९ गते प्रहरीमा पुगे । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोमा उजुरी लिएर पुगेपछि ब्यूरोको टोलीले किर्तिकालाई पक्राउ गर्यो ।
किर्तिकाको बयान सुनेपछि प्रहरी झस्कियो । किर्तिकाले पनि दुई पटक डिम्ब बेचेको कुरा प्रहरीमा खुलाइन् । बयान अनुसार एक महिलासँगको चिनजानपछि होप फर्टिलिटीमा सकिल भण्डारीमार्फत् किर्तिकाले दुई पटक डिम्ब बिक्री गरेकी थिइन् ।
उनले पहिलो पटक डिम्ब बिक्री गरेबापत ३५ हजार पाएकी थिइन् । तर, होप फर्टिलिटीले किर्तिकाको नाम समेत परिवर्तन गरेर टिना थापा राखेको थियो ।
ब्यूरोले किर्तिकालाई पक्राउ गरेर प्रहरीकै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा बुझायो । सीआईबीले अनुसन्धान गर्दा अर्की एक किशोरीका अभिभावक पनि उजुरी लिएर पुगे । बौद्धकै शान्ति (नाम परिवर्तन)लाई किर्तिकामार्फत् नै होप फर्टिलिटीमा पुर्याएर डिम्ब निकालिएको थियो । शान्तिलाई ४० हजार दिएका थिए ।
रोचक कुरा त किर्तिकालाई होप फर्टिलिटीमा पुर्याउने मध्येकै एक युवती पनि ब्यूरोको सम्पर्कमा आइन् । उनले किर्तिका र आफ्नी फुपुलाई होप फर्टिलिटी र एन्जल फर्टिलिटी क्लिनिकमा पुर्याएर कमिसनबापत ४० हजार पाएको कुरा सीआईबीमा स्वीकारेकी छन् ।
एन्जेल फर्टिलिटीका म्यानेजर सकिल भण्डारीमार्फत् ती युवतीले रकम र चेक बुझ्दै आएकी थिइन् । सीआईबीमा पनि उनले त्यही कुरा खुलाएकी छन् ।
नुवाकोट तादी गाउँपालिका-४ तामे घर भएका सकिलले बीबीएस अध्ययन गरेका छन् । २८ वर्षीय सकिल विगत चार वर्षदेखि एन्जल फर्टिलिटीमा मेनेजरको रूपमा काम गर्दै आएका थिए । उनले सीआईबीमा बयान दिए अनुसार तीन जनालाई एन्जलमै र अरुलाई होप फर्टिलिटीमा लगेर डिम्ब झिकेका थिए । सकिलले किर्तिकामार्फत् किशोरीहरूलाई सम्पर्कमा ल्याउने र डिम्ब झिक्न एन्जल र होपमा लैजाने गरेका थिए ।
सकिलकै बयानबाट होप फर्टिलिटीमा काम गरिरहेका डा. असिम अधिकारीको भूमिका खुल्छ । प्रहरीले असिमलाई पनि पक्राउ गरेर सोधपुछ गरेको छ । असिमले प्रहरी बयानमा आफू २०८१ देखि होप फर्टिलिटीमा आईभीएफ विशेषज्ञको रूपमा काम गर्दै आएको बताएका छन् । उनले किर्तिकामार्फत् आएका १८ देखि २० वर्षका किशोरीहरूको डिम्ब झिक्दै आएको बताएका छन् ।
होप र एन्जल फर्टिलिटीको धन्दा पर्दाफास भएपछि प्रहरीले यसका अरु विशेषज्ञलाई नियन्त्रणमा लिएको थियो । जसमध्ये डा.स्वस्ती शर्मा पनि एक हुन् । उनी होप फर्टिलिटीकी आईभीएफ विशेषज्ञ हुन् । अर्की डा. मलिना चौधरी पनि अहिले प्रहरी अनुसन्धानमै छन् । उनी होपमै एनेस्थेसियोलोजिष्टको रूपमा काम गर्दै आएकी थिइन् । होप फर्टिलिटीकी म्यानेजर अलिसा वलीलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।
सीआईबीका एसएसपी होबिन्द्र बोगटीले यी प्रकरणमा जोडिएकाहरूलाई हिरासत बाहिरै राखेर अनुसन्धान भइरहेको जानकारी दिए । उनले लोकान्तरसँग भने, ‘यो गम्भीर प्रकृतिको अपराध हो । तर, कारबाही गर्न अहिलेसम्म यो विषयलाई लिएर कुनै कानून नै बनेको अवस्था रहेनछ । यसमा स्वास्थ्य मन्त्रालय समेत गम्भीर हुनुपर्ने देखिन्छ ।’
भारतमा भने यसको कानून बनाएर डिम्ब बिक्री गर्न मिल्ने व्यवस्था छ । तर, यसका लागि महिलाको विवाह गरेको र एउटा बच्चा अनिवार्य जन्मिएको हुनुपर्छ ।
सरकारी वकिल कार्यालयमा यसरी धम्क्याए
होप र एन्जलको कर्तुतलाई कुन कुन अनुसार कारबाही गर्ने भनेर प्रहरीले कानूनका धारा पल्टाउन थाल्यो । डिम्ब बिक्री गर्न पाउने/नपाउने सम्बन्धी कुनै कानून समेत बनेको भेटिएन ।
अनि, प्रहरी र सरकारी वकिल कार्यालयले महिला तथा बालबालिकाविरुद्धको अपराध शीर्षकको मुद्दामा म्याद थप गर्ने निष्कर्ष निकाले । माइतीघरस्थित सरकारी वकिल कार्यालयमा पुर्याइएका डा. असिम अधिकारी, डा. स्वस्ती शर्मा, डा. मलिना चौधरी र डा. अलिसा ओलीले धम्कीपूर्ण शैलीमा भनेका थिए,‘अहिले हामीले जति किशोरीलाई सुई दिएका छौं, उनीहरूको गर्भमा डिम्ब विकसित भइरहेको छ, समयमा अप्रेसन भएन भने डिम्ब विष्फोट भएर उनीहरूको ज्यान पनि जानसक्छ ।’
उनीहरूको यो भनाइ सुनेपछि सीआईबीका प्रहरी र सरकारी वकिल कार्यालय वकिलहरू छक्क परे । अनि, अदालतमा पनि त्यही ब्यहोरा अवगत गराएपछि काठमाडौं जिल्ला अदालतले उनीहरूलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न सीआईबीलाई आदेश गर्यो।
सीआईबीका एक उच्च अधिकारीले लोकान्तरसँग भने,‘हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि छलफल हुँदा डाक्टरसा’बहरूले हामीलाई उल्टै धम्क्याए । बेलैमा अप्रेसन नहुने हो भने किशोरीहरूको ज्यान जाने भनेपछि हामी डराएकै हौं ।’