
धनुषाको जनकपुरधाम उपमहानगरपालिका–४ मा सूर्यनन्द चौधरीको घरमा डेरागरी बसेका आमाछोरीमाथि धारिलो प्रहार भएको छ ।
सोमबार राति साढे ११ बजेतिर कोठमा बसिरहेका आशा यादव र उनकी १५ वर्षीया छोरी अञ्जली कुमारी यादवमाथि खुकुरी प्रहार भएको हो ।
उनीहरूकै डेरामा बसिरहेकी ढल्केवरकी १४ वर्षीया राधा यादवमाथि समेत खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका–९, इच्छापुर बस्ने ३५ वर्षीय रामबाबु साह खुकुरी प्रहार गरेर फरार भएका छन् । पारिवारिक रिसिबीमा साहले आशाको कोठामा छिरेर अन्धाधुन्ध खुकुरी प्रहार गरेको मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक (डीआइजी) उमा चतुर्वेदीले जानकारी दिए । आशाको टाउको र शरीरका विभिन्न भागमा काटेको छ ।
उनकी छोरी अन्जली कुमारीको भने खुकुरीले घाँटीमै काट्दा मृत्यु भएको चतुर्वेदीले जानकारी दिए । उनका अनुसार घाइतेद्वय आशा र राधालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको छ ।
क्षिरेश्वरनाथ नगरपालिका–४ बटेश्वरकी आशाले आफ्नी छोरी अन्जलीलाई पढाउनकै लागि जनकपुरमा डेरामा राखेकी थिइन् ।
‘खुकुरी प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको र उनी फरार भए पनि लुक्नसक्ने स्थान पत्ता लगाएर खोजी कार्य भइरहेको छ,’ डीआइजी चतुर्वेदीले लोकान्तरसँग भने, ‘खुकुरी प्रहार गर्ने व्यक्ति यसअघि पनि विभिन्न अपराधमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’