२२ असार २०८३, सोमबार

६ किलोमिटर सडकको प्रगति ६ वर्षमा २७ प्रतिशत : दोस्रोपटक म्याद सकियो, काम सकिएन

साउन १३, २०८२
विराटनगर
६ किलोमिटर सडकको प्रगति ६ वर्षमा २७ प्रतिशत : दोस्रोपटक म्याद सकियो, काम सकिएन

पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत पर्ने कटहरी गाउँपालिकाको सिंघिया खोलादेखि नयाँ बजारसम्मको सडक खण्डको निर्माण कार्य अत्यन्तै सुस्त छ । सिंघिया खोलादेखि कटहरी ४ स्थित जुडीखोलासम्मको ६ किलोमिटर सडक खण्डको ठेक्का लागेको ६ वर्षमा जम्मा २७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । निर्माण व्यवसायीको हेलचेक्य्राइँका कारण सडक अलपत्र पर्दा आमनागरिकले कष्ट भोग्नुपरेको हो ।

सडक निर्माण गर्न स्थानीयले बारम्बार दबाबसमेत दिँदै आएका छन् तर, काम भने अझै पनि हुन सकेको छैन ।

स्थानीयले सडकमा प्रदर्शन गर्नेदेखि रिले अनसन बस्नेसम्मका दबाबमूलक कार्यक्रमहरू सञ्चालन गरिसकेका छन् । तर, ठेकेदारका प्रतिनिधिलाई बोलाएर जिल्ला प्रशासन कार्यालय मोरङमा पटक–पटक छलफल भए पनि सडक निर्माणले अपेक्षित गति भने लिन सकेको छैन ।

२०७६ कार्तिक २४ गते तीन वर्षमा सम्पन्न गर्नेगरी श्रेष्ठ कन्स्ट्रक्सनले ७६ करोड रुपैयाँमा ठेक्का लिएको थियो । तोकिएको सम्झौतामा निर्माण पूरा हुन नसकेपछि  २०७९ कार्तिक २३ मा पहिलो र दोश्रोपटक म्याद थप गरेर २०८२ जेठ मसान्तसम्मको समयसीमा दिइएको थियो । तर, दोश्रोपटक थप भएको म्यादमा पनि निर्माण कार्य पूरा भएको छैन ।

हुलाकी सडक मोरङको रतुवा खोलादेखि विराटनगर महानगरपालिकाको केशलिया खोलासम्मको ४४ किलोमिटर खण्डको हो । २०७६ सालमा तीन वर्षभित्र चार लेन सडक निर्माण गर्ने ठेक्का तीन अर्ब ६० करोड रुपैयाँ लागतमा प्रदान गरिएको थियो । उक्त ठेक्का गजुरमुखी र श्रेष्ठ कन्स्ट्रक्सन प्रालिले लिएको थियो ।

सुवास श्रेष्ठ संचालक रहेको श्रेष्ठ कन्स्ट्रक्सनको नयाँ बजारदेखि सिंघिया खोलासम्मको ६ किलोमिटर पिच गर्ने काम बाँकी रहेको छ । त्यसभन्दा पूर्वको काम लगभग अगाडि बढेको छ ।

कटहरी खण्डमा भने श्रेष्ठ कन्स्ट्रक्सनले निर्माण पूरा गर्न नसकेपछि ६ महिनाअगाडि कांग्रेसका स्थानीय नेता अभिषेक गिरीलाई पेटी ठेक्कामा दिइएको सडक आयोजनाले जानकारी दिएको छ ।

हुलाकी सडक आयोजनाका प्रमुख युवराज पोखरेलले ठेकेदार श्रेष्ठ अहिले पनि सम्पर्कविहीन रहेको जानकारी दिए । ‘यो सडकको निर्माण प्रक्रियाको म्याद सकिएको छ । दोश्रोपटक म्याद थप गरिएको पनि जेठ मसान्तमा सकिएको छ,’ उनले भने, ‘भौतिक प्रगति ६ वर्षमा २७ प्रतिशत मात्र भएको छ ।’

null

ठेकेदार कम्पनी सर्म्पकमा आएर काम नगरे विकल्प खोजिने उनले बताए ।

बर्खामा हिलो र हिउँदमा धुलोले राजमार्ग आसपासमा बस्नसमेत समस्या हुने गरेको कटहरीका स्थानीय गोकुल भट्टराईले बताए ।‘प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा छलफल गरेको २२औँ पटकभन्दा बढी भइसक्यो । छलफलमा छिट्टै पिच भइहाल्छ भनेर ठेकेदार र उनका प्रतिनिधिहरूले भन्छन् । तर सडक बन्दैन,’ उनले भने, ‘अब प्रक्रिया तोडेर ठेकेदारलाई कारबाही गरेर नयाँ प्रक्रियाबाट काम शुरू गरे मात्र निर्माणले गति लिनेछ । नत्र यहाँका जनताले यस्तै सास्ती पाउनेछन् ।’

कटहरी वडा नम्बर २ का पूर्ववडाध्यक्ष किशोर पाण्डेले निर्माण व्यवसायीको बेवास्ताले सडक अलपत्र पर्दा सर्वसाधारणले कष्ट भोग्नुपरेको बताए । ‘अहिले सडक छेउका बासिन्दाहरूको घरमा बस्ने अवस्था छैन । धूलोले हैरानी भएको छ । अब वर्षा शुरू भएको छ । यही बाटो भएर विराटनगर उद्योगमा काम गर्ने हजारौं श्रमिक साइकलमा हिँड्ने गरेका छन् । उनीहरूले अनगिन्ती कष्ट पाएका छन्,’ उनले  भने, ‘सडक पिच नभएको कारणले ठाउँ ठाउँमा खाडल बनेको छ । धेरैपटक सवारी दुर्घटनामा भएका छन् । सडकका कारण यहाँका नागरिकले दु:ख पाएको धेरै भयो । अब हामी सहन नसक्ने अवस्थामा पुगेका छौं ।’

ठेकेदारलाई कारवाही गर्न सांसदको  माग

हुलाकी सडकको ठेक्का लागेर ६ वर्ष बितिसक्दा सडक पिच नभएपछि यस क्षेत्रका जनप्रतिनिधिहरूले ठेक्का प्रक्रिया तोडेर ठेकेदार कम्पनीलाई कारबाही गर्न र नयाँ प्रक्रियाबाट काम शुरू गर्नुपर्ने माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय मोरङमा सोमबार भएको सर्वदलीय छलफलमा मोरङ क्षेत्र नम्बर ४ का प्रतिनिधिसभाका सांसद अमनलाल मोदीले ठेकेदार कम्पनीलाई पटक–पटक भन्दा पनि काम नगरेको भन्दै ठेक्का प्रक्रिया तोडेर कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाउन र नयाँ प्रक्रियाबाट काम शुरू गर्न सुझाव दिए ।

धूलाम्मे सडकको कारण सडक किनारका जनताको दैनिकी कष्टकर भएको बताउँदै उनले काम शुरू गर्न आग्रह गर्दा नटेरेपछि जनताको सामुन्ने आउनुपरेको बताए । सडकको काम छाडिएका कारण पानी परेपछि बाटोमा हिँड्न सक्ने अवस्था नरहेको उनले जनाए । दैनिक कामका लागि आउने श्रमिकहरू सडकमा लडेर घाइते हुने, दुर्घटना हुनेजस्ता समस्या आएको उनले बताए ।

छलफलमा प्रतिनिधि सभाका सांसद तथा कांग्रेस सांसद डिकबहादुर लिम्बूले पनि ठेकेदार कम्पनीलाई बोलाएर काम गर्न सक्ने वा नसक्ने भनि सोध्न र नसक्ने भए नयाँ प्रक्रियामा जान सुझाव दिए ।

नेकपा एमाले मोरङका उपाध्यक्ष सागर थापाले पाँच वर्षमा जम्मा २७ प्रतिशत प्रगति गरेको, दुई–दुईपटक समय थप गर्दा पनि सडक निर्माणमा उल्लेख्य प्रगति नभएको र अहिले पनि जेठ ३० गतेबाट ठेक्का सम्झौता सकिएकाले अब ठेकेदार कम्पनीलाई किन कारवाही नगर्ने भन्ने पत्र पठाएर अन्तिम चेतावनी दिनुपर्ने र उसले काम अगाडि नबढाएमा ठेक्का रद्द गरी नयाँ ठेक्काको प्रक्रियामा अगाडि बढ्नुपर्ने बताए ।

पेटी ठेकेदार कम्पनीका प्रतिनिधि किशोर अटलले बिजुलीको खम्बा हटाउने विषयमा प्राधिकरणसँग तालमेल नमिल्दा निर्माण कार्यमा बाधा पुगेको दाबी गरे । उनले बिजुलीको खम्बा नहटाई निर्माण प्रक्रिया अगाडि बढाउन नसकिने जिकिर गरे ।

salt training

कमेन्ट गर्नुहोस्