
नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न २५ अर्ब रुपैयाँ बजारबाट खिच्ने भएको छ । केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै ४२ दिन अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल आह्वान गरेको हो ।
बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम थुप्रिएर ब्याजदरमा चाप परिरहेको अवस्थामा राष्ट्र बैंकले तरलता प्रशोचनका लागि यो उपकरण प्रयोग गर्न लागेको हो ।
राष्ट्र बैंकको सूचनाअनुसार, इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले बुधवार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोलमा सहभागी हुन सक्ने सूचनामा जनाइएको छ । बोलकबोलको निष्काशन पनि बुधवार नै हुनेछ । साँवा तथा ब्याज भुक्तानी भने २०८२ भदौ २५ गते गरिने तालिका छ ।
को-को हुन पाउँछन् सहभागी ?
बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । बोलकबोलमा सहभागी हुन चाहने संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतममा कूल आह्वान रकमसम्म ५ करोडले भाग गर्दा निःशेष जाने गरी कबोल गर्नुपर्नेछ ।
ब्याजदर भने बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ, जहाँ बहुब्याजदरमा पनि आवेदन दिन सकिने व्यवस्था छ । राष्ट्र बैंकले सबैभन्दा कम ब्याजदर कबोल गर्नेलाई प्राथमिकतामा राखेर क्रमशः बाँडफाँट गर्नेछ ।
यदि समान ब्याजदरमा माग गरिएको रकम बाँकी निष्काशन रकमभन्दा बढी भएमा समानुपातिक आधारमा बाँडफाँड गरिनेछ ।